पूँजी बजारमा आकर्षण बढ्दो

दैनिक नेपालगन्ज/देबेन्द्र राज पौडेल

बाँके, बर्दियाका लगानीकर्ताहरुको पूँजी बजारमा आकर्षण बढेको पाइएको छ । खासगरी सेयर बजारका लागि मध्यस्थकर्ता संस्था, सेयर दलालहरु नेपालगन्ज आएपछि पूँजी बजारको आकर्षण एकाएक बढेको हो ।
‘यसले बाँके, बर्दियामा लगानीको वातावरण बनिरहेको छ भन्ने कुरा देखाएको छ’, नेपाल स्टक एक्सचेन्ज सदस्य नं. ४५ इम्पेयियल सेक्युरिटिज् प्रा.लि.का प्रबन्ध निर्देशक भक्तिराम घिमिरेले भने, ‘पश्चिममा सेयर बजारको आकर्षण बढ्नु खुशीको कुरा हो ।’


नेपालगन्जमा सेयर बजार सचेतना सम्बन्धी सरोकारवालाहरुले लगानीकर्ताहरु माझ प्रशिक्षणात्मक कार्यक्रम गरेका छन् ।


 

बर्दिया निवासी घिमिरेले आफु सम्भावना भएका अन्य जिल्ला नभई नेपालगन्ज नै रोजेर शाखा बिस्तार गरेको र यसले बिस्तारै सकारात्मक परिणाम देखाउन थालेको बताए । नेपालगन्जमै कार्यालय खोलेको अर्को ब्रोकर नं. ४६ को कालिका सेक्युरिटिज् प्रा.लि.का प्रमुख नरेन्द्र सिजापतिले ‘सेकेण्डरी मार्केटका लागि नेपालगन्ज ग्रामीण सहर’ भएको टिप्पणी गरे । ‘तर, सुन्दर भविष्य देखिंदैछ’, ब्रोकर एशोसिएसनका निवर्तमान अध्यक्ष समेत रहेका सिजापतिले नेपालको सेयर बजार प्राइमरी स्टेजमा अन्तर्राष्ट्रिय स्तरको भएको धारणा राख्दै भने, ‘सेकेण्डरी मार्केट भने अपेक्षित रुपमा विकास हुन सकेन ।’

 

नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङले नेपालगन्ज उद्योग वाणिज्य संघको समन्वयमा शनिबार नेपालगन्जमा लगानीकर्ता सचेतना तथा प्रशिक्षण कार्यक्रम गर्यो । प्रशिक्षणमा बाँके, बर्दियाका झण्डै २ सय लगानीकर्ताहरुको सहभागिता थियो । ‘यो सहभागिता र उठेका जिज्ञासाहरुबाट पूँजी बजार प्रतिको आकर्षण एकदमै बढेको छ भन्ने कुरा प्रष्ट देखिएको छ’, नेपाल स्टक एक्सचेन्जका वरिष्ठ अधिकृत मुराहरी पराजुलीले भने । उनले नेपालगन्जमा सेयर बजारको पूर्वाधार फैलदै गएको धारणा राख्दै भने, ‘काठमाडौं बाहिर कुल कारोबारको १५ प्रतिशत सेयर बजार फैलिएको छ ।’ स्टक एक्सचेन्जका दुई वटा ब्रोकर कम्पनी बैशाख यता नेपालगन्जमा आएपछि सेयर बजारको सहजीकरण भएको हो ।

 

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक विमल खनालले कम्पनीको अवस्था विश्लेषण गरेर मात्र लगानी गर्न आग्रह गरे । पूँजी बजारको नियमनकारी निकाय, नेपाल धितोपत्र बोर्डका निर्देशक डा. नवराज अधिकारी, उपनिर्देशक निरञ्जय घिमिरे लगायतले लगानीकर्ताका आधारभूत विषयमा प्रकाश पारेका थिए ।

 

‘लगानीकर्ताहरु बढ्दै गएपछि जोखिम र अवसर बारे जानकारी दिन लगानीकर्ता सचेतना कार्यक्रमको आयोजना आवश्यक ठानिएको हो’, इम्पेरियल सेक्युरिटिजका नेपालगन्ज स्थित कार्यालय प्रमुख उद्दव अधिकारीले भने । कार्यक्रममा पूँजी बजारलाई थप विकास तथा आधुनिकीकरण गर्ने उद्देश्यले स्थापना गरिएको सिडिएस एण्ड क्लियरिङबारे पनि जानकारी गराइएको थियो ।

 

लगानीकर्ताहरुले अनलाइन टे«डिङ देखि आइपिओ जारी गर्ने लगायतका तमाम विषयहरुमा सरोकारवालाहरु सँग जिज्ञासा राखेका थिए । ‘सीमित व्यक्तिका हातमा सेयर बजार रहने अवस्थाको अन्त्य गरिनुपर्छ’, नवराज पराजुलीले नेप्सेलाई शक्तिशाली भूमिकामा रहन जोड दिंदै भने, ‘यसले सेयर बजारको विश्वास बढाउँछ ।’

करिब दुई अर्बको शेयर कारोबार
काठमाडौं/समाचारदाता
धितोपत्र बजारमा यससाता रु एक अर्ब ९६ करोड ३८ लाख ७१ हजार बराबरका ४५ लाख २६ हजार ५५० कित्ता सेयर खरिद बिक्री भएका छन् । नेपाल स्टक एक्सचेन्जकाअनुसार कारोबार रकम गत साताको भन्दा १५ दशमलव शुन्य चार प्रतिशत बढी हो । गत साता १७६ कम्पनीको कारोबार भएको थियो । गत साता रु एक अर्ब ७० करोड ७० लाख ६८ हजार बराबरका ४२ लाख ४८ हजार ७३० कित्ता शेयर खरिद बिक्री भएका थिए ।

 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २८ दशमलव ७४ अंकले घटेर अन्तिम दिन एक हजार ३४५ दशमलव ९९ अंकमा पुगेको छ । स्टककाअनुसार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा पाँच दशमलव २० अंकले घटेर २८५ दशमलव ३८ अंकमा आइपुगेको छ ।

 

यस साता कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको रु २२ करोड ६२ लाख २० हजार बराबरको शेयर खरिद बिक्री भएका थिए । त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको आठ लाख १२ हजार कित्ताको शेयर कारोबार भएको हो ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । स्टककाअनुसार यससाता उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाको ५५ लाख कित्ता साधारण शेयर सूचीकृत भएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया