अतिक्रमण जग्गा खाली गरिएपछि विद्यार्थीले पाए मैदान

‘पहिलो पटक आफ्नै खेल मैदानमा उफ्रन पाउँदा विद्यार्थीहरुको खुशी थामिनसक्नु छ’, आदर्श मावि राँझाका प्राचार्य प्रकाश आचार्यले उत्साहित हुँदै भने, ‘उनीहरुको खुशीमै म आफ्नो सफलता देखेको छु ।’

आदर्श माविले राँझा चोकमा रहेको विद्यालय भवनदेखि केही पश्चिम गायत्री नगरमा नयाँ भवन निर्माण गरी त्यसैसँग जोडिएको एक विगाह जग्गामा खेल मैदान बनाएको हो । त्यो भन्दा खुशीको कुरा के भने २०३६ सालदेखि भोगचलन गर्न नपाएको जग्गामा मैदान बनाउन पाउने अनुकुलता मिल्नासाथ आदर्शले खेलकुद उत्सवको आयोजना नै गर्यो ।
‘यसअघि विद्यार्थीहरुलाई नियमित प्रार्थना गर्ने ठाउँ पनि थिएन’, आचार्यले दैनिक नेपालगन्जसँग भने, ‘यति पाउँदा पनि पहाडै जितेजस्तो भएको छ ।’ आदर्शले माघ २१ गतेबाट सञ्चालनमा ल्याएको भवनसँगै डेढ विगाह जग्गा उपलब्ध भएपछि खेल मैदान बनाइएको हो ।

‘प्राप्त खेलमैदान संस्थागत गर्नकै लागि यो आयोजना गरिएको हो’, नेपालगन्ज–२० का वडाध्यक्ष कृष्ण कार्कीले दैनिक नेपालगन्जसँग भने, ‘यसका लागि धेरै जोखिम उठाउनु पर्यो ।’  २०३६ साल असार १० गते जिल्ला स्तरीय जग्गा दर्ता समितिले आदर्शका नाममा ३ विगाह ७ कठ्ठा १४ धुर जग्गा उपलब्ध गराउने निर्णय गराएको थियो । त्यसअनुसार विद्यालयले समयमै जग्गा भोगचलन नगर्दा बिस्तारै अतिक्रमणमा परेको उक्त जग्गा खाली गर्न स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि प्रयास थालिएको हो । ‘राजनीतिक दलका नेताहरु नै आफ्नो स्वार्थ अनुसार बस्ती बसाएका थिए’, स्थानीय समाजसेवी सोम बहादुर थापाले दैनिक नेपालगन्जसँग भने, ‘अनाधिकृत बस्ती हटाएर विद्यालयका लागि पुरै जग्गा उपभोगको व्यवस्था मिलाउनु पर्छ ।’

 

आदर्श माविको नाममा रहेको उक्त जग्गामा झण्डै ८२ घरधुरीले कब्जा जमाएपछि विद्यालय सीमित संरचनामा खुम्चिएको थियो । ‘विद्यार्थी कम भएका बेला सामान्य संरचनामा रहेको विद्यालय आज यति धेरै विद्यार्थी हुँदा पनि भौतिक पूर्वाधारको विकास गर्न सकिएको थिएन’, वडाध्यक्ष कार्कीले भने, ‘त्यसैले पनि अतिक्रमण हटाउन सर्वदलीय प्रयास भएको हो ।’

 

बस्तीमा अधिकांस भूमिहीन, सुकुम्बासीहरु रहेको भन्दै भूमि अधिकार मञ्चले वैकल्पिक व्यवस्था विना बस्ती नहटाउन दबाब दिंदै आएको छ । विवाद बढ्दै गएपछि नेपालगन्ज उपमहानगरपालिकाले नगर कार्यपालिका सदस्य देउमल सुनारको संयोजकत्वमा छानबिन समिति बनाएको छ । ‘समितिले बस्तीमा आश्रितहरुको वास्तविक अवस्था छानविन गरी आवश्यक निर्णयका लागि उपमहानगरपालिकालाई सुझाव दिनेछ’, वडाध्यक्ष कार्कीले भने ।

 

त्यसअघि नै वडाध्यक्ष कार्कीको नेतृत्वमा सर्वदलीय, सर्वपक्षीय प्रयासबाट खाली रहेको ठाउँलाई खेलमैदानका रुपमा उपयोग गर्न सहमति जुटाइएको हो । ‘मैदान बनाउँदै खेलकुद पनि सुरु गरेका छौं’, मंगलबार वडास्तरीय रनिङ्ग शिल्ड सुरु गरेका आदर्शका प्राचार्य आचार्यले भने, ‘अब यो आयोजनापछि खेल मैदानलाई नियमितता दिइनेछ ।’ आदर्शमा हाल १ हजार ३१ विद्यार्थी अध्ययनरत् रहेको जानकारी दिंदै आचार्यले खेल मैदान पाएपछि विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा प्रोत्साहन मिल्ने बताए ।

दुई घरले सम्पूर्ण रुपमा अतिक्रमण छाड्न तयार भएको र कतिपयले दोहोरो उपयोग गरिरहेको गोठ र शौचालयका टहरा हटाउन सहमत भएपछि डेढ विगाह जग्गा विद्यालयका लागि सम्भव भएको हो । ‘बाँकी उपमहानगरपालिकाको निर्णयमा निर्भर छ’, वडाध्यक्ष कार्कीले भने ।

आदर्शको वर्चश्व

बुधबार सुरु भएको वडास्तरीय रनिङ शिल्डमा आयोजक आदर्श मावि राँझाले अधिकांश उपाधीहरु हात पारेको छ ।
वडा नं. २० का सामुदायिक विद्यालयहरु बीच गरिएका विभिन्न २७ खेलका प्रतिस्पर्धामा अधिकांस आयोजक आदर्श नै विजयी भएको हो ।

 

विभिन्न ६ वटा विद्यालयले सहभागिता जनाएको वडास्तरीय रनिङ शिल्डमा दोस्रो जय जनतामावि थपुवा र तेस्रो नेपाल राष्ट्रिय आधारभूत विद्यालय नटरनपूर्वा भएका छन् । एथलेक्टिसका ४ सय मिटर छात्र दौडमा जय जनता मावि र निमावि तर्फ कपर्दीमा जय जनताले उपाधी जितेपनि बाँकी सबै उपाधी आदर्शका विद्यार्थीले हात पारेका छन् ।

 

तीन दिन चलेको आयोजनाका विभिन्न इभेन्टमा २ सय ७५ खेलाडी विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । ‘उद्घाटनको अघिल्लो दिन प्रावि स्तरका सबै प्रतियोगिता सञ्चालन गरियो’, खेल संयोजक रविन्द्र रेग्मीले भने । बुधबार प्रतियोगिता समापन गरिने पूर्व योजनामा खेल लम्बिदै जाँदा ढिलाई भएकाले होली पर्व पछाडि औपचारिक कार्यक्रम गरी पुरस्कार वितरणको कार्यक्रम राखिने आयोजक आदर्श माविका प्राचार्य प्रकाश आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया