कानूनका विश्लेषक मानिएका अधिवक्ता दिपेन्द्र झा प्रहरीको वान्टेड सूचीमा रहेकै बेला प्रदेश नं.२ को मुख्य न्यायाधिवक्ता पदमा नियुक्त भएको खुलेको छ । न्यायाधिवक्ता पद योग्यता विवादमा तानिएपछि अधिवक्ता झा प्रहरीको वान्टेड सूचीमा रहेको तथ्य बाहिर आएको हो । उनी विरुद्ध काठमाण्डौ जिल्ला अदालतमा मुद्धा दायर रहेको खुलेको छ । कोषराज न्यौपानेको जाहेरीले नेपाल सरकार वादी रहेको विद्युतीय कारोबार अपराध मुद्दामा उनी प्रहरी खोजीमा रहेको खुलेको हो ।
२०७४ पौष ३० गते अधिवक्ता झा विरुद्ध सरकारी मुद्दा सम्बन्धी ऐन २०४८ को दफा १८ बमोजिम काठमाडौ जिल्ला अदालतमा अभियोग पत्र दायर भएको थियो । झाले संचालन गरेको एउटा वेभसाइटमा चरित्र हत्या गर्ने खालका टिका टिप्पणी गरेकोले मुद्दा दायर गरेको अधिवक्ता न्यौपानेले बताए । झा र उनका एक फेसबुक मित्रले मेरो विषयमा अनावश्यक र आधारहीन तथ्यहरु प्रस्तुत गरेकोले कानूनी उपचारको बाटो अवलम्बन गरिएको न्यौपानेले बताए । २०७४ सालको सीआर ०८३८।४५ नं.को मुद्दा बारे जिल्ला अदालत काठमाडौले चलानी नं.१३०९२ बाट २०७४ माघ १० गते ३० दिने म्याद जारी गरेको थियो ।
अभियोग पत्र अनुसार महोतरी घर भई ललितपुर जिल्ला वडा नम्बर ५ टिकाथली बस्ने मोहित झाको नाती, उदितनारायण झाको छोरा, तराई ल एसोसिएट तथा तराई जस्टिस सेन्टरका ३८ वर्षिय अभियुक्त दिपेन्द्र झा हाल फरार सूचीमा छन् । अभियोगपत्रमा झाको मोवाइल नम्बरको कल डिटेल युजर डिटेल्स समेत उपलब्ध गराइदिन भनिएको छ । दायर भएको अभियोग पत्रमा सुनुवाई गर्दै काठमाडौ जिल्ला अदालतले २०७४ पौष ३० गते फरार अभियुक्तको नाममा म्याद जारी गर्न आदेश दिएको छ ।
झालाई अदालत समक्ष पेश गर्न प्रहरीलाई अदालतले आदेश दिएको हो । प्रहरी अनुसन्धान पूरा भएपछि दायर भएको अभियोग पत्रमा झालाई थुनछेकका लागि इजलास समक्ष पेश गर्न भनिएको छ । मुद्दा बारे जानकारी लिन अधिवक्ता झालाई गरिएको फोन प्रयासमा उनका लिगल असिस्टेन्ट सुनील कुमार चौहानले जवाफ दिए । मुद्दा दायर भएको विषय सत्य भएको बताउँदै उनले त्यस्तो गम्भिर प्रकृतिको नभएकोले फरार हुनु पर्ने औचित्य गलत रहेको बताए ।
कुनै मीडियाले लेखेको कुरा सेयर गर्दैमा विद्युतीय अपराध हुन जाने होइन, चौहानले भने, मुद्दा दायर भएको सन्दर्भ आवश्यक परेका बेला अदालतमा उपस्थित हुने नै छौं । उनले प्रहरी तहकिकात पूरा भएपनि फरार अभियुक्त भन्न नमिल्ने तर्क गरे । मुख्य न्यायाधिवक्ताको योग्यता बारे चुलिएको विवाद बारे प्रष्ट पार्दै चौहानले भने, केहि ब्यक्तिहरु ब्यक्तिगत समस्याका कारण मुद्दा दायर गरेको बताए । योग्यता नपुगेको ब्यक्ति पदमा आउन सक्दैन, उनले भने, कानून बमोजिम पूरा हुनु पर्ने मापदण्ड पूर भएकै छ ।