विमानस्थल मर्मत सुस्त


शतप्रतिशत काम सकिसक्नुपर्ने समयमा ३० प्रतिशत मात्र प्रगति देखाएको पप्पु–लुम्बिनी एपेक्स जेभीले म्याद गरेपनि सन्तोषजनक काम गर्न सकेको छैन । नेपालगन्ज विमानस्थल मर्मतका लागि ३ बजेपछि उडान रोकिंदै आएको छ ।


दैनिक नेपालगन्ज/हिमाल गैरे

निर्माण सकिइसक्नु पर्ने समयमा नेपालगन्ज विमानस्थलको मर्मत सम्भार कार्य ३० प्रतिशत मात्र भएपछि ठेकेदार कम्पनीले म्याद थप खेलको चलखेल गरेको खुलासा भएको छ । पप्पु–लुम्बिनी एपेक्स जेभीले सम्झौता अनुसार काम सक्नुपर्ने बेला ३० प्रतिशत मात्र प्रगति गरेपछि निर्माणमा म्याद थपको चलखेल भएको हो ।

 
पश्चिम नेपालकै प्रमुख ‘हवाई हब’ का रुपमा रहेको नेपालगन्ज विमानस्थलको मर्मत सम्भारका लागि निर्माण कम्पनीले ढिलाई गर्दा यात्रुहरुले थप केही महिना सास्ती खेप्नुपर्ने भएको छ । सम्झौता अनुसार काम गर्न नसकेपछि पप्पुले २०७४ चैत्र मसान्तसम्म थप म्यादको प्रपञ्च गरेको सम्बद्ध स्रोतले जनाएको छ ।

 
२१ करोडमा टेण्डर गरिएको उक्त ठेक्का पप्पु, लुम्बिनी एपेक्स जेभीले झण्डै ३३ प्रतिशत (झण्डै ७ करोड रुपैयाँ) कममा गर्ने गरि सम्झौता गरेको थियो । सम्झौता अनुसार, २०६३ साल पुस १७ गते सम्झौता गरि उक्त निर्माण कार्य २०७४ माघ २ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने थियो । ‘तर, फागुनको दोस्रो सातासम्म ३० प्रतिशत मात्र प्रगति देखिएको छ’, स्रोतले भन्यो ।

 
निर्माण कार्यमा यस क्षेत्रमा निकै ‘बदनामी’ कमाएको पप्पु कन्सट्रक्सनले पहुँचको भरमा ठेक्का हात सफल भएको थियो । म्याद थपका चलखेलमा लागेको पप्पुले भने खोलाबाट गिट्टी ल्याउन नपाएको, स्थानीय तथा राष्ट्रिय निर्वाचन लगायतको विभिन्न बहाना देखाएर काम गर्न नसकिएको भन्दै ८८ दिन म्याद थप गर्न सफल भएको हो ।

 
आयोजनाका गुणस्तरियताका लागि सडक विभागको डिजाइन अनुसार कार्य भैरहेको र निर्माण कार्य मापदण्ड अनुरुप जाँच गर्ने काम समेत भैरहेको उक्त आयोजनाका प्रमुख इन्जिनियर योगेन्द्र राज शर्माले जानकारी दिए । ‘यहाँ स्तरिय मान्छे नपाइने रहेछ, कलकत्ता, पटना लगायतका ठाउँबाट कार्य गर्न कामदार एवं प्राविधिकहरु कार्यरत रहे पनि अनुभवी कामदारहरुको अभाव देखियो’, इन्जिनियर शर्माले दैनिक नेपालगन्जसँग भने, ‘रोलर चलाउने मान्छे अर्को ल्याउनलाई सुझाव दिएका छौं । पप्पु कन्सट्रक्सनलाई हामीले अन्य स्थानमा गरिएको जस्तो लापरवाही र गुणस्तरहीन काम गर्नका लागि रोक्ने प्रयासमा छौं ।’

 
‘काम अझै नसकिएकाले सन्तोषजनक भन्नुपर्दछ । प्लेन पार्किङ एरियाको निर्माण कार्य त ठिकै छ तर लेवलिङ कार्य भने सोंचे जस्तो भएको छैन’, तारा एयरका पाइलट सञ्जीव श्रेष्ठले भने । उक्त ठेक्का अन्र्तगत जहाज पार्किङ, धावन मार्गमा जहाज जाने बाटो र धावन मार्ग बनाउने काम गरिसक्नुपर्ने भए पनि हाल धावन मार्गको पुरै काम बाँकी रहेको बताइन्छ ।

 
नागरिक उडड्यन प्राधिकरण, नेपालगन्ज विमानस्थलका प्रमुख प्रताप बाबु तिवारीले यात्रु सुविधालाई मध्यनजर गरेर स्वरुपमा बिस्तार गर्न लागिएको जानकारी दिए । प्रमुख तिवारीका अनुसार निर्माण कार्य ‘रन वे’को काम सुरु नै नभएका कारण थप केही महिना दिउँसो ३ बजे पछि उडान रोकिने बताए । ‘धावन मार्ग भत्किनु भन्दा अगाडि प्रत्येक १० वर्षमा गरिने योजना अनुरुप यो १ महिना देखि निर्माण कार्य फागुन १९ गते सम्मलाई सुचना जारी गरि ३ बजे पछि उडान रोकिएको भए पनि निर्माण कार्य नसकिएकाले थप १ महिना उडान कार्य प्रभावित हुने भएको छ’, प्रमुख तिवारीले दैनिक नेपालगन्जसँग भने ‘गुणस्तरियताका निम्ति प्राविधिक टोलीले नियमित जाँच गर्ने गरेको छ ।’

 
प्रमुख तिवारीले निर्माणको गति सन्तोषजनक नभएको टिप्पणी गर्दै केन्द्रबाटै काम भैरहेकाले त्यसबारे आफुले धेरै बोल्न नमिल्ने बताए । ‘गत आर्थिक बर्षमै ५० प्रतिशत काम सम्पन्न गरिसक्नुपर्ने थियो’, तिवारीले आगामी शनिबारसम्म काम सकिइसक्ने योजना अनुसार उडान रोक्दै आएपनि काम पूरा नभएकाले थप समय लाग्ने बताए ।

 
भैरहेको गुणस्तरमा पनि प्रश्न उठाइसकिएको छ । ‘पिचलाई नजिकबाट नियाल्नु भयो भने घाँस उम्रिएका देखिन्छन्’, एक सुरक्षा अधिकारीले काम सम्पन्न नहुँदै गुणस्तरको चेकजाँचमा अख्तियारले निगरानी गर्नुपर्ने ध्यानाकर्षण गराउँदै दैनिक नेपालगन्जसँग भने । म्याद थप र गुणस्तरबारे ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनका प्रमुख हरिनारायण रौनियारले आफुले त्यसबारे नहेरेकाले प्रतिक्रिया दिन नसक्ने बताए । ‘नेपालगन्जमा छोरा सुमितले हेर्छन्’, सांसद समेत रौनियारले दैनिक नेपालगन्ज सँगको सम्पर्कमा भने, ‘उनीसँगै यसबारे जानकारी लिनुहोला ।’ सुमितले भने गरिएको टेलिफोन उठाएनन् ।

 
गत वर्षको तुलनामा ५८.६ प्रतिशत हवाई यात्रु वृद्धि भएको नेपालगन्ज विमानस्थलमा निर्माण कार्यको ढिला सुस्तीले नकारात्मक असर पुगेको यहाँका होटल तथा पर्यटन व्यवसायीहरुले गुनासो गर्ने गरेका छन् । सन् २०१७ को अन्त सम्म ३ लाख ७० हजार ३ सय ९८ हवाई यात्रु यात्रा गरेको नेपालगन्ज विमानस्थलमा जहाजको उडान पनि २२ प्रतिशतले वृद्धि भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया