अख्तियारकै भवन म्याद बाहिर, तीन पटक म्याद थप, अझै अधुरो

दैनिक नेपालगन्ज/विनय दीक्षित

देशमा भ्रष्टाचार विरुद्ध अनुसन्धान र कारवाहीका लागि स्वतन्त्र निकायको रुपमा स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्ज स्थित निर्माणाधीन भवन सम्झौता मिति भन्दा बाहिर निर्माण भइरहेको पाइएको छ ।
शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय नेपालगन्जको संयोजनमा कारकाँदोमा निर्माण भइरहेको अख्तियारको भवन २०७१ साल चैत्र २० गते निर्माण कम्पनी डिएस÷पृथ्वी जेभी संग सम्झौता भएको थियो ।
ठेक्का नं.१÷०७१÷०७२ बाट भवन २०७३ चैत्र १९ अर्थात् २ वर्ष भित्र निर्माण पूरा गर्नु पर्नेमा आन्तरिक मिलोमतोमा म्याद थप गर्दै ७ महिना अर्थात् २०७४ असोज १९ गते भित्र निर्माण पूरा गर्ने तय भएको थियो । त्यसपछि आन्तरिक रुपमै चैत्र मसान्त भित्र सम्म निर्माण पूरा गर्ने गरि म्याद थपियो, तर सार्वजनिक सूचनामा उल्लेख गरिएन ।

 

२०७४ असोज भित्र तोकिएको म्याद अहिले ५ महिना नाघेको छ । अन्य निकायमा भ्रष्टाचार सम्बन्धी कारवाही गर्दै आएको निकायको आफ्नै भवन अवैधानिक तरिकाले निर्माण भइरहेको पाइएको हो । सार्वजनिक भवन निर्माण गर्दा सो को निर्माण सम्पन्न अवधि सहितको विवरण प्रष्ट रुपमा नागरिकले हेर्ने हिसाबले राख्नु पर्ने व्यवस्था विपरित मिति उल्लेख रहेको पाइएको हो ।

 

५ करोड ५० लाख २२ हजार ७ सय ४२ रुपैयाँमा भएको सम्झौतामा २ वर्ष भित्र भवन संचालनको हिसाबले पूरा गरेर दिनु पर्ने शर्त थियो । ठेकेदारले विभिन्न प्राविधिक कारण देखाउँदै तीन पटक सम्म सम्झौता गर्दै आएको खुलेको हो ।
सम्झौतामा उल्लेख भएअनुसार दुई वर्षको लागि ठेक्का दिइको हो । सरकारी निकायमा भएको ढिलासुस्ती, अनियमितता र भ्रष्टाचार विरुद्ध सक्रिय रुपमा अनुगमन गर्ने निकाय आफ्नै काममा पछि किन ? अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुुर कार्यालयका प्रमुख एसपी ईश्वर कार्कीलाई गरिएको प्रश्नमा उनले भने, ‘म आएको ६ महिना भित्र काम द्रुत गतिमा भइरहेको छ, पछिल्लो समय म नहुनु भन्दा अघि कसरी ढिलो हुन गयो त्यस बारे मलाई त्यति जानकारी छैन ।’

 

२०७४ असोज पछि तेस्रो पटक म्याद थप भइसकेको प्रमुख कार्कीले बताए । ‘दोस्रो पटकको म्याद थप असोज सम्म थियो’, उनले भने, ‘चैत्र मसान्त भित्र काम पूरा गर्नु पर्ने शर्त अनुसार तेस्रो पटक ठेकेदारले म्याद थप गरेको हो ।’
‘म बाँकेमा आउँदा मात्र ६० प्रतिशत काम भएको थियो’, प्रमुख कार्कीले भने, ‘अहिले ९० प्रतिशत काम भइसकेको छ ।’ ‘निर्माण ठेक्का लिएको समयमा नाका बन्दी, आन्दोलन बन्द लगायत कारणबाट ढिलाई भएको ठेकेदारको दावी छ’, उनले भने, ‘प्राविधिक विषयमा केहि तल माथि हुन जानु स्वभाविक हो ।’

 

भवनको डिजाइन, गुणस्तर, सामाग्री लगायतको इन्जिनियरिंग जिम्मेवारी शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय नेपालगन्जको भएपनि, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण कार्यको निगरानी गर्नका लागि करारमा एक जना आफ्नै ओभरसियर खटाएको छ । ‘ओभरसियर खटाउनु अविश्वस्नीयता होइन’, प्रमुख कार्कीले भने, ‘क्रसचेकका लागि ओभरसियर खटाइएको छ ।’ ‘निर्माण कार्यमा केहि भूलचूक नहोस भन्ने अभिप्राय मात्रै हो’, उनले भने, ‘हामी समयमा भवन निर्माण भइ संचालन हुने अवस्था प्रति आशावादी छौं ।’ बलियो भवनमा चाइनिज प्रविधिको ईंटा प्रयोग नगर्ने प्राविधिकहरुको देशब्यापी सुझाव आइरहँदा अख्तियार कार्यालयको भवन चाइनिज प्रविधिकै ईंटाबाट निर्माण गरिएको छ । आम नागरिकले भवन निर्माण गर्दा वा ठूला सरकारी भौतिक संरचना निर्माण हुँदा स्थानीय ईंटा प्रयोग गर्ने चलन छ ।

 

‘फलामे रड, सामाग्री, टेण्डर, क्वालिटी चेकजाँच, गिट्टी, बालुवा, मोरंग, ईंटा, ईन्जिनियरिङ, डिजाईनिङ, क्वालिटी कन्ट्रोलको पक्ष सहरी विकास तथा भवन निर्माणको हो’, अख्तियार प्रमुख कार्कीले भने, ‘त्यसमा हामीले थपघट गर्न मिल्ने विषय होइन ।’ ‘हामी चैत्र मसान्त भित्र भवन संचालनमा आउने तर्फ प्रष्ट छौं’, कार्कीले भने, ‘अब म्याद थप्ने काम हुन सक्दैन ।’ भवनमा प्लास्टर, झ्याल ढोका, कम्पाउण्ड, फर्स, रंग लगायत कायम बाँकी रहँदा उनले ९० प्रतिशत काम पूरा भएको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया