गगनगन्ज, यहाँका सभ्रान्त व्यक्तिहरुको दुखेको घाउ भैसकेको थियो एक पटक । आफु भित्र राजनीतिक, सामाजिक चेतना भएको गगनगन्ज कुनै पनि रुपवती युवतीको सौन्दर्यका सामु पीप बगेको, सडेको दुर्गन्ध युक्त उसको घाउ जस्तो भएको थियो । जसरी अत्यन्त रुपवती युवतीको आकर्षणले भन्दा उसको घाउको दुर्गन्धले उसको आकर्षणलाई विकर्षणमा परिवर्तन गरदिन्छ त्यस्तै गगनगन्जको घाउले गगनगन्जको इतिहासलाई बिर्साएर गगनगन्जको नाम प्रति विकर्षण तुल्याएको छ । अझै पनि कसैले तपाईको घर नेपालगन्जमा कहाँनेर छ भन्दा गगनगन्ज भन्ने आँट आउँदैन र भन्छु ७ नं. वडामा ।
गगनगन्ज, यस्तो ऐतिहासिक टोल हो जसको इतिहास गौरवमय छ । नेपालगन्जसँगै निर्माण भएको कठमहल लोक भक्तेश्वर महादेव र रानी तलाउ यसै टोलमा छ । नेपालगन्जमा प्रजातन्त्रको मिर्मिरे उदाउन नेपाली काँग्रेसको भूमिगत संगठन, भयंकर आश्रम यसै टोलमा खोलिएको थियो । यही आश्रय नै पछि रुपैडिहामा सरेर दशरथचन्द आश्रम भएको थियो ।
२००४ सालमा बाबुकृष्ण शर्मा नेपालगन्ज आए र उनले गगनगन्ज टोलमा एउटा घर बहालमा लिए र त्यही घरमा भूमिगत ‘भयंकर आश्रम’ खोले । यस आश्रममा नेपाली काँग्रेसका पर्चा, पम्पेलेट, भारतबाट आउने दैनिक र राजनीतिक पत्र, पत्रिका र राजीनिक विचारका साहित्यहरु रहन्थे । नेपालगन्जका युवाहरु लुकिछिपि त्यहाँ आउँथे र बाबुकृष्ण शर्माबाट दीक्षित भएर संगठन बिस्तार गर्दथे । त्यो ‘भयंकर आश्रम’ स्व. वि. विकास (विष्णु दास श्रेष्ठ)ज्यूको घर सामुन्ने थियो । सो भयंकर आश्रमका लागि रुपैडिहाबाट पत्र, पत्रिका र पुस्तक ल्याउने काम सर्वज्ञमानजीले गर्नुहुन्थ्यो ।
सर्वज्ञमानजी त्यस बखत बाँके हुलाक नेपालगन्जमा पोष्ट मार्टर हुनुहुन्थ्यो । उहाँ प्रतिदिन रुपैडिहा पोष्ट अफिसबाट सरकारी जन सामान्यका चिठ्ठी पत्र ल्याउने, जनताको चिठ्ठी सेन्सर गर्ने र शंकास्पद भए बडाहाकिमलाई बुझाउने काम गर्नुहुन्थ्यो । सेन्सर गर्ने नै सहयोगी भएपछि भयंकर आश्रमका चिठ्ठी, पत्रपत्रिकाहरु सजिलै आइपुग्थे । गगनगन्जको यस भयंकर आश्रममा नेपालगन्जका चेतनशील युवाहरु रातपरेपछि जम्मा हुन्थे र सांगठनिक सरसल्लाह गर्ने गर्दथे ।
एक पटक भारतका सहिद सरकार भगत सिंहका काका सरदार अजीत सिंह भारतबाट भूमिगत भई यही गगनगन्जमा आफ्ना मित्र शेर बहादुर चन्दका घरमा शरण लिन आएका थिए । यो कुरा उनकी नातिनी विरेन्द्र सन्धु लिखित ‘सहिद भगत सिंह और उनके मुत्युन्जय पुरखे’ भन्ने पुस्तकमा लेखिएको छ ।
नेपालगन्जको राजनीति धेरै बर्षसम्म जस्को वरिपरि घुमिरहेको थियो त्यस्ता व्यक्तित्व थिए शेर बहादुर चन्दका छोरा ललितचन्द, मेघराज समशेर । राज समशेरकी बहिनी विवाह गरेर राणाहरुको जुवाई भएर पनि नेपाली काँग्रेसका प्रभावशाली नेता थिए ललित चन्द । उनको निवास पनि गगनगन्जमै थियो । नेपालगन्जमा गठित नगरपालिकाका उपमेयर हुँदै धेरै लामो समयसम्म नगर पञ्चायतको उपप्रधान पञ्च र प्रधानपञ्च रहेका पूर्णमान आजादको निवास पनि गगनगन्जमै थियो । नेपालगन्जका वरिष्ठ साहित्यकार द्वय इन्द्रमणि ‘मानव’ र वि.विकास पनि यहींकै बासिन्दा थिए । मेरो पितामह चुडामणि रेग्मी जो जुद्ध मिडिया स्कुलमा शिक्षक हुनुहुन्थ्यो, यहीं बसोबास गर्नुहुन्थ्यो ।
यो गगनगन्ज टोल २०१० सालमा नेपाली काँग्रेसको महासमिति बैठक हुँदा विपी कोइराला, मातृका कोइराला, गणेशमान सिंह, सुर्यप्रसाद उपाध्यायहरु, ललित चन्द्रज्यूको ललिता निवासमा नै बस्नु भएको थियो । २०१६ सालमा उच्च अदालत गठन हुँदा यहीं ललितचन्द जी कै घरमा उच्च अदालत थियो । उच्च अदालतका न्यायाधीशज्यूहरु यहीं गगनगन्जमै बस्नुहुन्थ्यो । एकजना न्यायाधीश हेम बहादुर पाण्डे त मेरै घरमा डेरा लिएर बस्नु भएको थियो । एक जना न्यायाधीश हेरम्ब राज पाण्डे र उहाँका सहयोगी साहित्यकार नित्यराज पाण्डे यदाकदा हाम्रो घरमा आउने गर्नुहुन्थ्यो । उहाँहरु आउनाको मुख्य कारण थियो मेरा हजुरबुबा चुडामणि रेग्मीको संकलनमा जोडिएको निजी पुस्तकालय । यस पुस्तकालयमा संस्कृतका बहुमुल्य कृतिहरु थिए । ती मध्ये २५÷३० वटा पुस्तक पढ्न भनेर न्यायाधीश हेरम्बराज पाण्डेले लग्नु भएको थियो । पछि सुरुवा भएर जाँदा आफै सँग लिएर जानु भयो ।
यसै गगनगन्जमा कवि केशरी धर्मराज थापाको एक गीत गायन र कविता वाचन खुल्ला मञ्च बनाई प्रस्तुत गरिएको थियो । उच्च अदालतका माननीय न्यायधीश लगायत थुप्रै सम्भ्रान्त व्यक्तिहरुका लागि साथै बडाहाकिम समेत उपस्थित थिए । १२ बर्षको उमेरको भएपनि म साहित्य अनुरागी थिएँ र धर्मराज थापाको गीत र कविता सुनेर मन्त्र मुग्ध थिए । यस गगनगन्जमाको आएनन् प्रसिद्ध साहित्यकार दौलत विक्रम विष्ट, हिन्दी साहित्यकार डा. रांगेच राघव, राष्ट्रिय ख्याती प्राप्त नेपाली नेतृत्वहरु सबैले गगनगन्जलाई गौरवान्वित तुल्याएका हुन् । २००७ सालका स्वतन्त्रता सेनानी रामकृष्ण मानन्धर (चिम्मन)लाई यही सरकारी सुरक्षाकर्मीको गोली लागेको थियो, उनी बाँचे । आजभोलि उनी परासीको टुरीबारी तिर कतै बसोबास गर्दछन् । उनी गगनगन्जका मानन्धर परिवारका हुन् ।
गगनगन्ज अहिले निकै ठूलो बस्ती भैसकेको छ । पहिला यो सानो टोल थियो । साहवादेखि दक्षिण हाल पूर्णमान आजादज्यूको घर भए सम्म, पिपल चौतारा देखि पश्चिम करामत अलिको पुरानो घरसम्म । रामजानकी मन्दिर देखि गणेश श्रेष्ठको पुरानो घरसम्म र रानी तलाउ र मन्दिरसम्म मैले केटाकेटीमा देखेको गगनगन्ज । ने.ग.न.पा. वडा नं. ७ हुँदा सम्म निकै फराकिलो छ । २०१६ सालमा डिआइजी अफिस गगनगन्जमै थियो । उनकै प्रयासमा कठमहलको उत्तर र दक्षिण तर्फको पर्खाल भत्काई बाटो रानी तलाउको चौडा सडकमा जोडिएको थियो । पुरानो जिल्ला प्रहरी कार्यालय हालको वडा प्रहरी कार्यालय तत्कालीन डिएसपी कार्यालयबाट मंगलप्रसाद माध्यमिक विद्यालयको गेटसम्म नयाँ बाटो निकालियो र डिएसपीरोड नामकरण गरियो । कठमहलको पूर्वतर्फ महेन्द्र माध्यामिक विद्यालयको भवन बन्यो गगनगन्ज अहिलेको स्वरुप तयार भयो ।
गगनगन्जमा एउटा पुरानो पिपलको रुख छ । भनिन्छ, यो पिपलको रुख गगनगन्जबासी जत्तिकै पुरानो हो झण्डै १ सय ३० बर्ष पुरानो । यसै पिपल चौताराको उत्तर तर्फ वनकट्टी जिमिन्दार नारायण ठठेरल, शिव मन्दिरको निर्माण गरेका थिए । उनकै धार्मिक प्रवृत्तिका कारण मन्दिर नजिकै ठुलो कुवा खनाइएको थियो । साहवा नजिकको कुवा, भट्ट परिवारको सामुको कुवा, पीपल चौताराको कुवा, पूर्व लाइनमा भगवान तलाउ नेर गरेर जम्मा ४ वटा कुवाले गगनगन्जको खानेपानीको समस्या समाधान गर्दथ्यो ।
गगनगन्जका यी विशिष्टताहरुका अतिरिक्त केही दुर्गुणहरु थिए । गगनगन्जमा घरघरमा विशेष गरी नेवार परिवारमा रक्सी बनाउने प्रचलन थियो । यहाँको रक्सी घरबारीटोल तिर पनि सप्लाई हुन्थ्यो रे । मेरो पिताजीको छगडदवा कम्दी नेर मोहनपुर भन्ने ठाउँमा झण्डै १२ विगाह जंगल थियो । त्यस जंगल भित्र महुवाका रुखहरु पनि थिए । त्यस जंगलको आयस्था नै महुवाफुलका दाना हुन्थे । गाडाभरी महुवा किनेर हाम्रो घरमा आउँथ्यो र हामी रक्सी बनाउनेहरुलाई त्यो महुवा बेच्ने गर्दथ्यौं । गगनगन्जमा जुवा पनि निकै हुन्थ्यो तिनताका विशेष गरेर केही सभ्रान्त परिवारमा वारमासे जुवा हुन्थ्यो । रन्नु बाबुको जुवा काण्ड त प्रसिद्ध नै थियो ।
साहित्य र संस्कृति चेत पनि त्यत्तिकै थियो । २००७ सालको जनक्रान्ति पछि गगनगन्जका युवाहरुले मनोहर पुस्तकालय र जनता विद्यालय स्थापना गरेका थिए । नेपालगन्जका प्रतिष्ठित ज्ञवाली परिवारका विश्वनाथ प्रसाद ज्ञवालीले त त्यस स्कुलको भवन बनाउनलाई जमीन समेत दिएका थिए । जनता विद्यालय केही समय राम्रै चलेको थियो, राधाकृष्ण शर्मा, ज्ञानराज शर्मा, वि.विकास, मोहन पछाईहरु त्यसको सञ्चालक समितिमा थिए । सो विद्यालयपछि नारायण शिक्षा प्रसार योजनामा समावेश भयो र पछि २००४ साल तिर हो जस्तो लाग्छ, नेराप्रावि रानी तलाउको नाममा आफ्नै भवन बनाएर त्यता सर्यो ।
मनोहर पुस्तकालय २००८ सालमा गगनगन्जमा स्थापित भएको हो । २००८ सालदेखि २०१० सालसम्म गगनगन्जमा साहवा नजिकको एउटा घरमा थियो । त्यसपछि केही दिन त्यो बन्द भयो । पछि २०१६ सालमा पुनः बागेश्वरी मन्दिरको धर्मशालाको एउटा कोठामा सञ्चालित थियो । त्यसबेला त्यसको लाइब्रेरियन तीर्थमान श्रेष्ठ ‘पटवारी’ हुनुहुन्थ्यो । मैले त्यहाँबाट एउटा १२५ पृष्ठको उपन्यास लिएर पढेको थिएँ । त्यो उपन्यास हिन्दीको थियो । त्यसको पहिलो पृष्ठमै लेखेको थियो । बागेश्वरीले फुल्टेक्रा राप्ती रोड होते हुने एक घुडसवार सिधनियाकी ओर जा रहा था । त्यस उपन्यासमा सिधनियाँको एउटा गुफामा पसेर एउटा अजनबी बनारस पुगेको वर्णन गरिएको थियो । त्यस उपन्यासका लेखक को थिए र उनको नेपालगन्ज सँग के सम्बन्ध थियो त्यस विषयमा केही ज्ञात हुन सकेको छैन ।
बागेश्वरी धर्मशाला, एकलैनी निवासी रामप्रसाद श्रेष्ठले बनाएको बागेश्वरी मूलद्वार बाहिर, भित्रपट्टी झिंगटीको छाना र बाहिर पट्टि टिनको छाना भएको बनाइएको थियो । त्यसैको एउटा कोठामा मनोहर पुस्तकालय थियो । २०१७ सालपछि सो पुस्तकालयका पुस्तकहरु प्रेम पुस्तकालय (हाल महेन्द्र पुस्तकालय)लाई हस्तान्तरण गरी मनोहर पुस्तकालय सदाका लागि बन्द गरियो ।
गगनगन्जमा एउटा सांस्कृतिक टोली पनि थियो । जो नाटक इत्यादि प्रदर्शन गर्ने गर्दथ्यो । मेरो पिताजी गोपाल शर्मा रेग्मी पनि नाटकहरुमा भाग लिनु हुन्थ्यो । थुप्रै विशेषता बोकेको यस गगनगन्ज सन्त नेता कृष्ण प्रसाद भट्टराईजी पनि पाँच दिन जति बस्नुभयो । २०३६ सालको जनमत संग्रहका बहुदल पक्षको प्रचार प्रसारका लागि किसुनजी नेपालगन्ज आउनु भएको थियो । मेरो घर पनि गगनगन्ज भएको र किसुनजी बसेको घरमा ज्ञानराज शर्माको आमा मात्र बस्ने भएकाले विहान, बेलुका किसुनजीको आवश्यकता पूर्ति गर्ने जिम्मा मलाई दिइएको थियो । यो जिम्मेवारी निर्वाह गर्दा एक पटक मैले निकै सकस बेहोर्नु पर्यो । (क्रमशः अर्को साता)