क्वारेन्टाइन अघिबाटै प्रतिबन्धित मासु

नक्कली विल बनाएर कुखुरा स्वदेशी भएको दावी

दैनिक नेपालगन्ज/समाचारदाता
बाँकेमा मात्रै नभई पूरै देश भित्र पंक्षी र पंक्षीजन्य सामाग्री ल्याउन नपाउने कानूनी ब्यवस्था छ । भारतमा वर्डफ्लु र स्वाइन फ्लुको संक्रमण देखिएपछि सरकारले कुखुरा सहित पंक्षीजन्य सामाग्री भित्र्याउन प्रतिबन्ध लगाएको छ ।
प्रतिबन्धित कुखुरा र मासु क्वारेन्टाइन कर्मचारीको सेटिङमा भित्रिँदै गरेको तथ्यहरु बीच नेपालगन्जमा एक मासु सप्लायर्सले तस्कर मार्फत मगाएको ६ क्वीन्टल कुहिएको कुखुराको मासु प्रहरीले बरामद गर्यो ।

 

क्वारेन्टाइनमा पेश भएको कुहिएको मासु सोमवार नै नष्ट गरिएको प्राविधिक नायब सुब्बा तिलक प्रसाद आचार्यले बताए । पक्राउ परेका तस्करहरु, भे.१ च.नं.को गाडी चालक नेपालगन्ज १ बस्ने विकास मगर, नेपालगन्ज १६ बस्ने वरकत अली शाह, बर्दिया राजापुर ४ बस्ने (डिके मिट सप्लायर्सका कर्मचारी) आकाश थारुलाई ५० हजार रुपैयाँ जरिवाना गरि सामान्य औपचारिकता पछि छाडियो ।

 

भारतबाट प्रतिबन्धित कुखुरा वा पंक्षीजन्य सामाग्री ल्याउन नपाउने र प्रष्ट व्यवस्था निगरानी लागि सरकारले पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ बमोजिम सिमा नाकामा पशु क्वारेन्टाइन चेक पोष्ट संचालन गरेको छ ।
भारतीय क्षेत्रबाट आयात हुन सक्ने प्रतिबन्धित पशुपंक्षी नियन्त्रण, निगरानी र कारवाहीका लागि राखिएको चेकपोष्ट अघि बाटै हरेक दिन विहान कुखुरा नेपालगन्ज तर्फ पैठारी हुने गरेको चेकपोष्ट कर्मचारीले बताए ।

 

‘हामी संग कर्मचारी कम छन्’, दैनिक नेपालगन्ज संग कुरा गर्दै एक कर्मचारीले भने, ‘जमुनाहा नाका हुँदै भन्सार अघिबाटै कुखुराको मासु र कुखुरा नेपालगन्ज भित्रिने गरेको छ ।’ ‘हाम्रो पक्षबाट पूरै निगरानी सम्भव छैन’, उनले भने, ‘प्रहरीले नचाहे सम्म कुखुरा तस्करी रोक्न सकिन्न ।’ मंगलवार संवाददाता चेकपोष्टमा पुग्दा तीन जना कर्मचारी मात्रै भेटिए । नासु तिलक आचार्य, नासु अम्मर बहादुर शाही र कार्यालय सहयोगी गुलाम रसूल साईं । तीनजनाकै भरमा जिल्लाको पंक्षी र पंक्षीजन्य अखाद्य वस्तुको निगरानी र कारवाही हुँदै आएको हो ।

 

क्वारेन्टाइन कार्यालय प्रमुख डा.शंकर पाण्डे विदेश गएको र निमित्त प्रमुख राम सेवक त्रिपाठी एक साता अघि देखि तालिममा रहेको बताइएको छ । जिल्ला क्वारेन्टाइन कार्यालयमा एक लेखापाल र एक खरदार र एक कार्यालय सहयोगी छन् । भारतीय क्षेत्रबाट नेपालगन्जमा भित्रिएको कुखुरालाई नेपाली कुखुरा फर्मबाट खरीद गरिएको नक्कली विलका आधारमा खुलेआम कुहिएको र प्रतिबन्धित मासुको कारोबार क्वारेन्टाइनकै मिलोमतोमा भएको प्रहरी आरोप छ ।

 

 

भारतबाट बाँके राप्तीपारि र त्यहाँबाट कम्दी सम्म ल्याइएका कुखुरा नेपाली ब्यवसायीले खरीद गरि मासु कारोबार गर्दै आएका छन् । भारतीय क्षेत्रको विभिन्न ग्रामीण नाका भएर सहर पस्ने मासु विना परीक्षण कारोबार भइरहेको खुलेको हो ।
‘भारतीय क्षेत्रमा कुखुरा सस्तो पर्ने र नेपाली क्षेत्रमा महंगो पर्ने भएकोले ब्यवसायीको आकर्षण उतै हुन्छ’, दैनिक नेपालगन्ज संग नासु अम्मर बहादुर शाहीले भने, ‘तस्करी रोक्नका लागि निगरानी कडा बनाउनुको विकल्प छैन ।’
नेपाल भारत सिमा नजिक ३ किलोमिटरको अन्तरमा दुई दर्जन प्रहरी युनिटहरु स्थापित छन् । जिल्लामा रुपइडिहा नाका बाहेक स्थानमा क्वारेन्टाइन चेकपोष्ट छैन । बरामद भएको कुहिएको मासुका धनीलाई प्रहरी र क्वारेन्टाइन प्रतिवेदनमा उल्लेख गरिएन ।
मीडियालाई मासुधनीको नाम सहित सूचना प्रवाह गरेको प्रहरीले क्वारेन्टाइनमा मासु बुझाउँदा धनीको नाम नराखेर पक्राउ परेका तस्करलाई मात्रै उल्लेख गरेको हो । क्वारेन्टाइनका नासु तिलक आचार्यले प्रहरीले बरामद गरेको मासु र पक्राउ गरेको ब्यक्तिलाई मात्र कारवाहीको दायरामा ल्याउन सकिने बताए ।

 

‘जनशक्ति अभावका कारण प्रभावकारी रुपमा काम गर्न नसकिएको अचार्यले गुनासो गरे । न्यून कर्मचारीले पूरै जिल्ला हेर्नु पर्ने अवस्था छ’, उनले भने, ‘त्यसमा आधा कर्मचारी बिदा र तालिममा भएपछि चुनौती थपिएको हो ।’
क्वारेन्टाइनले पशुपंक्षीबाटै मानिसमा ७० प्रतिशत रोगहरु लाग्ने गरेकोले प्रतिबन्धित कार्य नगर्न सूचना प्रवाह गर्दै आएको छ । पशुबाट, बर्डफ्लु, रेबिज, स्वाइनफ्लु, इबोला, सिस्टीसर्कोसिस, लेप्टोस्पाइरोसिस, टोक्सोप्लाम्मोसिस, ब्रुसेलोसिस लगायत रोगहरु लाग्ने गरेकोले प्रतिबन्धित पशुपंक्षी नभित्र्याउन अनुरोध गर्दै आएको छ ।

 

तस्करलाई सजायमा सहुलियत
क्वारेन्टाइन कर्मचारीको उदारता
दैनिक नेपालगन्ज/समाचारदाता

पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा ९ मा पैठारीकर्ताले पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री पैठारी गर्दा क्वारेन्टाइन चेकपोष्टको बाटो भएर गर्नु पर्ने लेखिएको छ । ऐनको दफा १० मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको रोगहरु भएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री पैठारी गर्न प्रतिबन्ध लगाउन सक्ने अधिकारी क्वारेन्टाइनलाई दिएको छ ।

 

कर्मचारी अभावमा काम गरिरहेको दावी गर्ने क्वारेन्टाइनले कानून अनुसार पनि कारवाही गर्न नसकेको पाइएको हो । दफा २० को दण्ड सजायको उपदफा (१) मा दफा ९ को उल्लघंन गरी पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री पैठारी गर्ने व्यक्तिलाई पच्चीस हजार रुपैयाँसम्म जरिवाना हुने भनिएको छ । ‘पक्राउ परेका तीन जना तस्करलाई ५० हजार जरिवाना मात्रै किन ?’ भन्ने प्रश्नमा नासु तिलक आचार्यले भने, ‘तस्करहरु गरीब ब्यक्ति भएकोले खासै सजाय गरिएन ।’ जनही २५ हजार जरिवाना गर्दा ७५ हजार हुनु पर्नेमा बरामद भएको गाडी सहितको जरिवाना मात्र ५० हजार असूर गरेर नेपालगन्ज क्वारेन्टाइनले तस्करलाई सहुलियत सहित रिहा गरेको पाइयो ।

 

‘मासु धनीबारे कुनै अनुसन्धान अघि बढेन’, आचार्यले भने, ‘मासुधनीको नाम प्रहरीले उल्लेख नगरेका कारण सो तर्फ कारवाही गर्न नसकिएको हो ।’ त्यसरी पैठारी गरिएका पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीमा संक्रामक रोग भएको पाइएमा दोब्बर जरिवाना हुने ब्यवस्था कानूनमा छ । दुर्गन्धित मासुमा पूरै जरिवाना नगरेको क्वारेन्टाइनले मासु कुुहिएको र दुर्गन्ध आइरहेको जनाएको छ । दुर्गन्ध आइरहेको कुहिएको मासु बरामद हुँदा पनि स्वच्छ तर प्रतिबन्धित मासु बरामद भएको सरह प्रतिवेदनमा उल्लेख गरि क्वारेन्टाइनले झारो टार्ने हिसाबले फितलो कारवाही गरि विषय टुंग्याएको पाइयो ।

 

दफा २१ मा मुद्दा चलाउने सम्बन्धी ब्यवस्था छ । तर, तस्करबाट सामान्य जरिवाना असूल गरेर रिहा गरिएको प्रसंगमा क्वारेन्टाइन कर्मचारीले गरीब ब्यक्ति भएकोले मुद्दा नचलाइएको बताए । मानव स्वास्थ्यमा भएको खेलवाड बारे कर्मचारीले प्रतिक्रिया दिन चाहेनन् ।

 

कसूरको तहकिकात क्वारेन्टाइन चेकपोष्टको कम्तीमा राजपत्र अनंकित प्रथम श्रेणीको प्राविधिक सहायकले गर्ने भनिएको छ । त्यस्तो तहकिकातको काम पूरा भएपछि मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्ने ब्यवस्था कानूनले तोकेको छ ।
मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्दा मुद्दाको तहकिकात गर्ने कर्मचारीले सरकारी वकिलसित राय सल्लाह लिन सक्ने र मुद्दा हेर्ने अधिकार सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई हुने व्यवस्था छ ।

 

दफा २८ मा कार्यालय प्रमुखलाई कुनै पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीमा संक्रामक रोक लागेको छ भन्ने शंका लागेमा त्यस्तो पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री रहेको जुनसुकै स्थानमा प्रवेश गरी जाँचबुझ गर्न सक्ने कानूनले अधिकार दिएपनि क्वारेन्टाइन कर्मचारी कार्यालय बाहिर नै निस्कँदैनन् ।

 

‘हामी फिल्डको काम गर्नै सक्दैनौं’, नासु अम्मर बहादुर शाहीले दैनिक नेपालगन्ज संग भने, ‘चेकजाँच र अनुगमन हाम्रो क्षमताबाट हुने काम होइन ।’ विहान ४ बजे देखि ८ बजेको बीचमा भारतीय क्षेत्रबाट भन्सार नाका हुँदै कुखुरा र कुखुराको मासु भित्रिने गरेको कर्मचारीको दावी थियो । हामी संग जनशक्ति नभएका कारण आफु अनुकूल कारवाही अघि बढाउन नसकिएको कर्मचारीले प्रष्ट पारे ।

प्रतिक्रिया

प्रतिक्रिया