तिनताक दिनभर क्याम्पस जाने र साँझ फूटबल खेल्नेजस्तो दैनिकी थियो । म एसएलसी पास गरेर भर्खर क्याम्पस भर्ना भएको थिएँ । नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पस । हिउँदको महिना । हाम्रो खजुरा बजार क्षेत्रमा फूटबल मैदान थिएन । कि हाम्रो स्कूल ज्ञानोदय उच्च मावि, कि अलि परको क गाउँ स्कूल जानु पर्ने होइन भने धान काटेर बाँझो भएको खेतको ‘उबड खाबड’ मा खेल्नु पर्ने । दूरीका कारणले हाम्रो अधिकाँश रोजाई धान काटेर बाँझो भएको खेतको ‘उबड खाबड’नै हुन्थ्यो । खेल्दासम्म त रमाइलै हो, पछि खुट्टा दुखेर हैरान ।
त्यसै क्रममा एक दिन उपाय निकालियो गिराउन (पुरानो एयरपोर्ट, ग्राउण्ड, जसलाई बोलीभाषामा गिराउन भनिन्थ्यो, हे. तस्वीर) मा अलि माटो मिलाएर, सम्याएर फूटबल मैदान बनाउने । पुरानो विमानस्थल धावनमार्ग रहेको सो स्थल समयक्रमसंगै उबडखाबड, खाल्डाखुल्डी भएको थियो । केटाहरुको एउटा हुल गइयो, हेरियो र निष्कर्ष निकालियो यो ठिक छ । तत्काल त्यहाँ छेउछाउमा भएका एकाध घरबाट मागेर फरुवा, कोदालो, कुटो लगायतका सामग्री ल्याइयो र लागियो माटो खन्ने, बोक्ने र सम्याउने काममा । त्यही नजिकै भर्खरै घरहरु बन्दै थिए । त्यसमध्येको एउटा घर थियो, साथी प्रेम रेग्मीको । खन्ने, सम्याउने धेरै साधन उनैले खोजेका थिए ।
धर्मराज न्यौपाने, ठूलोभाई पोखरेल, गुञ्जन बोगटी, प्रेम रेग्मी, सन्तोष पोखरेल, विकास कँडेल, ध्रुव सापकोटालगायत हामी, सुदीपजंग,बिज्जु खत्रीलगायत भाई उमेरका केहीसहित थुप्रै साथीहरु थियौं । हामीले गरेको काममा केही दाजुहरु पनि जोडिए बाबुराम पौडेल, पुष्पराज कुर्मीलगायत । हामीलाई २,३ दिनजति लाग्यो होला । त्यहाँ ठिकठाकको (खेल्न मिल्ने) फूटबल मैदान बन्यो । हामी त्यसैमा रमाउन थाल्यौं । (त्यसबारे मैले सपनाको उडान, सम्भावनाको उडान शीर्षकको लेखमा केही उल्लेख गरेको थिएँ ।)
त्यसै क्रममा मैले पत्रकारिताको तालिम पनि गरिरहेको थिएँ । हुन त बाँके जिल्लाको पहिलो बाल क्लबका संस्थापक मध्येको एक म (तत्कालीन प्रमुख जिल्ला अधिकारी थानेश्वर कोइरालाको शव्दमा, २०५३÷०५४) बालपत्रकारिताको शुरुवातका क्रममा भित्तेपत्रिका र क्रमशः स्थानीय सीमित सञ्चार माध्यममा सामान्य समाचार, कविता र बालगीत प्रकाशन गराइ नै रहेको थिएँ । दैनिक पत्रिकाहरु बागेश्वरी टाइम्स, नेपालगन्ज एक्सप्रेस तथा नयाँ संरचना साप्ताहिक लगायतमा मेरा धेरै कविता त्यतिखेर छाइपिसकेका थिए । मैले कक्षा ७ देखि नै कविताहरु छपाउँदै आएको थिएँ । विभिन्न बालसमाचार पनि छापिएका थिए । हाम्रा बाल क्लब तथा बाल गतिविधिबारे । केही पत्रकारहरुसंग पनि चिनजान भैसकेको थियो । तै पनि औपचारिक रुपमा पत्रकारितामा आउनुअघि तालिम आवश्यक थियो, जुन मैले गरिरहेको थिएँ ।
इनडोर तालिम सकिनासाथ इन्टर्नशीपका लागि सहभागीहरुलाई विभिन्न पत्रिकामा पठाइएको थियो । मलाई भर्खरै खुलेको टुडे नेपालमा पठाइएको थियो, त्यो नेपालगन्जको किर्तिमानी पत्रिका नेपालगन्ज एक्सप्रेसको सहप्रकाशन थियो । वास्तवमा म इन्टर्नशीपका लागि पठाइएकै पत्रिकामा पत्रकारकै रुपमा काम गर्न चाहन्थें । त्यसका लागि मलाई कुनै महत्वपूर्ण समाचार लेखेर म सक्छु भन्नेमा त्यस पत्रिकाकाका व्यवस्थापनलाई विश्वस्त पार्नु थियो । विषय छान्दै जाँदा आफूहरुले गरेकै कामको समाचार बनाउने विचार गरें ।
हामीले बनाएको खेल मैदानमा थुप्रै परिवर्तन भैसकेको थियो । हामीभन्दा माथि उमेरका दाईहरु पनि त्यो मैदानमा साँझ फूटबल खेल्न भेला हुन थालेका थिए । फूटबल मैदानमा विभिन्न उमेरका युवाहरुको घुइँचो नै हुन लागेको थियो भन्दा पनि हुन्छ । कहिलेकाही हामी खेल्न पालो नपाएर दर्शक बन्नु पथ्र्यो । जो ढिलो आयो त्यो दर्शक । ढिला आए पनि केही दाईहरु भाईहरुलाई दर्शक बनाएर आफूहरु खेल्नुहुन्थ्यो । दिनहुँ खेल्न थालेपछि मैदान पनि राम्रो हुँदै गएको थियो ।
त्यतिबेला हाम्रो खजुराका बारेमा बजारतिर तथा वरपरका मानिसहरुलाई त्यति राम्रो प्रभाव थिएन । त्यसमाथि खजुराका युवा त्यसै बदनाम थिए । खजुराका युवाहरु दिउँसै रक्सी खान्छन् । झैझगडा गर्छन । छोरीचेली जिस्क्याउँछन् । साँझ नपर्दै सबै भट्टी छिर्छन् भन्ने मनोविज्ञान धेरैमा थियो । त्यो परिवेशमा मलाई पछिल्लो परिवर्तन निकै महत्वपूर्ण लाग्यो । किन भने साँझ नपर्दै भट्टी छिर्ने भनी स्थानीयले पनि सूचिमा राखेका केही दाईहरु दिनहुँ हामीसंग मैदानमा देखिन थालेका थिए । नढाँटी भन्नुपर्दा सधैं दाईहरुको जमावडा हुने स्थानीय केही मदिरा पसलहरु फूटबल खेल्ने समयसम्म शून्य झैं हुन थालेका थिए । न्यूज भ्यालुका हिसाबले पनि यो महत्वपूर्ण हो भन्ने मैले ठानें । र, लेखें ‘भट्टी छोडी मैदानतिर……।’ पहिलो दिनको समाचार भएकाले पत्रिकाका कार्यकारी सम्पादक तीर्थ हमाल ‘पथिक’ ले समाचारको सत्यताबारे मसंग जाँच्न खोजे । मैले घटनाक्रम बताएपछि उनी कन्भिन्स भए । समाचार भोलिपल्टको पत्रिकामा प्राथमिकतासाथ छापियो ।
पत्रिकामा समाचार छापिनासाथ दाईहरुलाई विभिन्न तिरबाट फोन आएछ । हल्लाहरु बढ्न थालेछ । खजुराका तिमी केटाहरु त सबै दरुवा रहेछौ । अब सुध्रन लागेछौ आदि आदि । हामीसंग फूटबल खेल्न जाने दाईहरुलाई बदनाम गरिएको, अपमानित भएको महसुस भएछ । अब सुध्रन थालेछौ भन्दा पनि सबै दरुवा रहेछौ भन्ने कुराले दाईहरुलाई बढी नै पीडा दिएछ । सबै दाईहरु भेला भएछन् र उपाय निकालेछन्, ‘त्यसलाई ठिक पार्ने ।’
मेरो व्यापक खोजी भएछ । संयोगले दाईहरु मलाई नामले यही केटा हो भनी चिन्दैनथे । किन भने स्कूले जीवनमा मेरो पढाई र बसाई कहिले नेपालगञ्ज,कारकाँदो स्कूल । कहिले ज्ञानोदय स्कूल त कहिले क गाउँ स्कूल भयो । अलि ठूलो भएपछि एसएलसीको तयारी ट्युसन र कोचिङ्गले घरबाहिर खासै निस्कन पाइएन । त्यसैले मलाई ठ्याक्कै फेला पार्ने र ठिक पार्ने सम्भावना अलि कम नै भयो । मलाई ठिक पार्ने कुरा मेरो कानसम्म आइपुग्यो । जसले पनि तलाई त फलाना, फलाना दाईले पिट्ने भनेको छ भनिदिने । जहाँ गए पनि त्यही कुरा । फूटबल मैदानमा शंका लागेको व्यक्तिलाई तँ सन्तोष हो भनेर सोध्ने गरेको कुरा साथीहरुले सुनाउन थाले । त्यसपछि म केही दिन फूटबल खेल्न गइन ।
त्यही पनि दाईहरुको रिस थामिएन । सोधीखोजी गर्दै दाईहरु भोलिपल्ट बेलुकीपख हाम्रो टोलमा आइपुगेछन् । नाम जुधेकै भरमा मेरो फुपुका छोरा सन्तोष पोखरेललाई ठिक पार्ने सोंचमा थिए कि खै । पुरु अंकल (पुरुषोत्तम अधिकारी) ले जोगाइदिनु भएछ । सन्तोष रेग्मी भन्ने फलाना हो तर उ बजारमै बस्छ भनेर पुरु अंकलले सम्झाइ दिएपछि दाईहरु फर्कनुभएछ । केही समयपछि पुरु अंकलले मलाई यो कुरा भन्नुभएको थियो । यो समाचारको भ्यालु छ । यसले सकारात्मक सन्देश दिन्छ भन्ने मैले सोचेको थिएँ । तर यतिको हंगामा हुन्छ भनेर मैले सोचेको थिइन ।
त्यो दिनको घटनाले मलाई इन्टर्नशीपपछि होइन इन्टर्नशीपको बीचमै त्यो पत्रिकाको पत्रकार बनाइदियो । त्यो समाचारले, सायद मेरो विषय छनोटले, हल्ला खल्लाले, पत्रिकाका कार्यकारी सम्पादक तीर्थ हमाल र प्रकाशक÷प्रधान सम्पादक विष्णुप्रसाद श्रेष्ठ प्रभावित भएछन् । कार्यकारी सम्पादक हमाल निकै असल मानिस हुन । उनकै आग्रहमा प्रधान सम्पादक÷प्रकाशक श्रेष्ठले मलाई मासिक तलब र लिखित कामको जिम्मेवारीसहितको नियुक्तिपत्र दिए । मैले संवाददाताका रुपमा नियमित रुपमा लेख्न थालें । दुईवटै प्रकाशन टुडे नेपाल र नेपालगन्ज एक्सप्रेसका लागि समाचार लेख्नेदेखि पत्रिकालाई अन्तिम रुप दिनेसम्मका विभिन्न भूमिकामा सक्रिय हुन थालें । पत्रकारलाई नियुक्तिपत्र दिन कन्जुस्याई गर्ने अहिलेको बेलामा त्यतिखेरै नियुक्तिपत्र पाएको कुरा महत्वपूर्ण हुन सक्छ । नियुक्तिपत्र पाए पनि मैले तोकिएको तलव भने कहिल्यै पाइन ।
त्यसपछि, निकैपछिमात्र मलाई ती दाईहरुले चिन्नुभो । त्यतिखेरसम्म समाचारको नियत, समाचार लेखाइको मेरो नियत दाईहरुले बुझिसक्नु भएको थियो । त्यसबेला सबै दाईहरुले मलाई निकै माया गर्नु भयो । त्यसपछि हामीले व्यक्तिगत, संस्थागत र सामाजिक निकै काममा सहकार्य गरेका छौं । साझेदारी गरेका छौं ।
आजपर्यन्त दाईहरुको माया अनवरत छ । मलाई लाग्छ, अझै बढ्दै गएको छ ।
क्रमशः (लेखक खजुरा क्षेत्रका हुन्)