नेपालगन्जमा ‘मेडिकल हब’को सम्भावना

अर्थोकनमा नयाँ बहस चल्दै
दैनिक नेपालगन्ज/समाचारदाता

 

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले नेपालगन्जलाई ‘मेडिकल हब’का रुपमा विकास गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताएका छन् । देश, विदेशबाट आएका विभिन्न विशेषज्ञ डाक्टरहरुको राष्ट्रिय सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै नगर प्रमुख डा. राणाले भने, ‘तपाईहरु नेपालगन्जलाई मेडिकल हबका रुपमा विकास गर्ने कुरामा स्थानीय सरकारको हरसम्भव सहयोग प्राप्त गर्नुहुनेछ ।’ डा. राणाले नेपालगन्जमा चिकित्सा क्षेत्रले गरेको प्रगति र लगानीको खुलेर प्रशंसा पनि गरे ।

 

नेपाल अर्थोपेडिक एशोसिएसन वेष्टर्न च्याप्टरले पहिलो पटक नेपालगन्जमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा नेपाल लगायत विभिन्न सात मुलुकका हाडजोर्नी विशेषज्ञहरु सहभागी छन् । उनीहरु बीच हाडजोर्नी क्षेत्रका पछिल्ला वैज्ञानिक उपलब्धीहरु, प्रयोग र समस्याहरु बारे निरन्तर बहस भैरहेका छन् ।

 

 

वेष्टर्न च्याप्टरका अध्यक्ष प्रोफेसर डा. विनोद कुमार थापाको नेतृत्वमा भएको ‘अर्थोकन २०१७’ उद्घाटनमा नेपाल अर्थोपेडिक एशोसिएसनका केन्द्रीय अध्यक्ष डा. बुलन्द थापाले अर्थोपेडिक क्षेत्रमा नेपालले गरेको प्रगतिबारे बोलेका थिए ।

 

राष्ट्रिय सम्मेलन उद्घाटन अघि दिनभर विभिन्न विज्ञ चिकित्सकहरुले विषयगत छलफल चलाएका थिए । ‘दुई फरक हलमा विज्ञहरुका साइन्टिफिक पेपर प्रिजेन्टेशन गरिएका छन्’, डा. प्रकाश थापाले दैनिक नेपालगन्जसँग भने, ‘त्यस बाहेक अतिथि वक्ताहरुको विषयगत प्रवचन पनि चलेका छन् ।’ डा. थापाका अनुसार, आज शुक्रबार पनि ‘प्यानल डिस्कसन’ गरिनेछन् ।

 

 

पहिलो पटक नेपालगन्जमा आयोजना गरिएको हाडजोर्नी विशेषज्ञहरुको राष्ट्रिय सम्मेलन, अर्थोकनमा नेपाल, भारत, जापान, जर्मनी लगायत ७ देशबाट चिकित्सकहरु सहभागी छन् । ‘नेपालमा आयोजना हुने अथोपेडिक डाक्टरहरुका लागि विशेष कार्यक्रम हो’, डा. प्रकाश थापाले नेपालगन्जका लागि ठूलो अवसर भएको जानकारी दिंदै भने ।

प्रतिक्रिया

प्रतिक्रिया