प्रदेश नं. ५ को पहिलो मन्त्रीपरिषद् बैठकले गर्यो आठ निर्णय

बुटवल\विकाश पराजुली

दैनिक नेपालगन्ज

मुख्यमन्त्रीको सपथ र मन्त्री नियुक्तिसँगै बिहिबार बसेको प्रदेश नं. ५ को पहिलो मन्त्रीपरिषद् बैठकले विभिन्न आठ वटा निर्णय गरेको छ । मुख्यमन्त्री र मन्त्रीहरुको सपथ ग्रहण लगत्तै पदभार ग्रहण गरेपछि बसेको बैठकले विभिन्न निमावली स्वीकृत सहितका आठ वटा निर्णय गरेको हो ।
पहिलो बैठकले प्रदेश सरकारको प्रवक्तामा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई तोकेको छ । बैठकले सार्वजनिक लिखित प्रमाणीकरण सम्बन्धी निमावली ०७४, प्रदेश सरकार कार्य विभाजन निमावली ०७४, प्रदेश कानुन मस्यौदा तथा सुझाव आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको आदेश स्वीकृत, प्रतिज्ञा प्रत्र स्वीकृत र धन्यवाद प्रस्ताव स्वीकृत गरेको हो ।

 
पदभार ग्रहण गरे लगत्तै पत्रकार संग कुरा गर्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं. ५ लाई समृद्धि बनाउन जल, जमिन, कृषि, पर्यटन, वन र उद्योगको विकास आवश्यक रहेको बताए । प्रदेशको बृहत्तर विकासका लागि जलविद्युत, यातायात, सिचाई र विकास निर्माणलाई प्राथमिकता दिने बताए । उनले कालिगण्डकी ड्राइभर्सन, वाणगंगा ड्राईभरसनको निर्माण र प्रदेश नं. ५ मा तीन वटा महानगरपालिकाको कल्पना गरी प्रदेशलाई समृद्धि बनाउन सकिने उनले बताए ।

 

पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लुम्बिनी गुरुयोजनाको निर्माण र प्रदेश नं. ५ मा रहेका राष्ट्रिय गौरवका आयोजनालाई तिव्र रुपमा सञ्चालन गरेमा पनि प्रदेशको समृद्धि सम्भव रहेको बताए । बेरोजगार, अशिक्षित लगायतका समस्या रहेपनि त्यसलाई पाँच बर्ष भित्रमा न्यून गर्ने गरी योजनाहरु निर्माण गर्ने उनले बताए । त्यसअघि मुख्यमन्त्री नियुक्त भएका शंकर पोखरेलले पद तथा गोपनियताको सपथ लिएका थिए । बुधबार प्रदेश प्रमुख उमाकान्त झाले पोखरेललाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्ति गरेका थिए । पोखरेललाई प्रदेश प्रमुख उमाकान्त झाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

 

पोखरेललाई मुख्यमन्त्री नियुक्ति गर्न आइतबार माओवादी केन्द्र र एमालेले प्रदेश प्रमुख उमाकान्त झा समक्ष बहुमत सहितको दाबी पत्र बुझाएका थिए । प्रदेशसभामा कुनैपनि राजनीतिक दलले बहुमत प्राप्त नगरेको अवस्थामा ४१ सांसद रहेको नेकपा एमाले र २० सांसद रहेको माओवादी केन्द्रले शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्ति गर्न बहुमत सहितको प्रस्तुत गरेका थिए ।

 

त्यस्तै प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा बिहिबार नै मन्त्रीपरिषद् बिस्तार गरिएको छ । पोखरेलले दुई जना मन्त्रीलाई नियुक्त गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका सचिव सनत कुमार दुवारीले मुख्यमन्त्रीको सिफारिसमा मन्त्रीपरिषद् गठन भएको जानकारी दिएका छन् । चौधरीले भौतिक पूर्वाधार विकास मन्त्रालय र केसीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी समाल्नेछन् ।

मुख्यमन्त्रीले अन्य मन्त्री नियुक्त नगर्दा सम्म आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालय समालेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया