हाम्रो नेपालगन्ज

गगनगन्ज

घरबारीटोल पछि सँगसँगै झै बसेको नेपालगन्जको अर्को टोल हो गगनगन्ज । गगनगन्ज तत्कालीन कठ महलको हाताको पछाडी ठ्याक्कै उत्तरपट्टि बसेको थियो । नेपालगन्जको पहिलो सरकारी भवन कार्यालय थियो कठमहल । नेपालगन्जबाट काठ निकासीको व्यवस्थापन र आफु आएका बेलामा बस्नका लागि एउटा काठैकाठको महल बनाएका थिए नेपालगन्ज (बाँके जिल्ला नै) ठेक्कामा लिएका सल्यान गौंडाका बडाहाकिम कर्णेल लोक बहादुर थापाले ।

 

नेपालगन्ज बजार बसाउन आएका सुब्बा पद्यनाभ जोशी र उनका सहयोगीहरुले घरबारीटोल बसाए जस्तै कठ महलका कर्मचारीहरुले गगनगन्ज टोल बसाएका हुन् । गगनगन्ज नाम हुनुको विषयमा नेपालगन्जका बुढापाकाहरुबाट दुईथरी विचार व्यक्त गरिएको पाइयो । एकथरीको भनाइ थियो, राणाहरुको वैवाहिक सम्बन्ध र उनीहरुको कृपापात्र भएका कारण बैतडी, अछामतिरको ठूला ठालुहरु, सरकारी जागिरमा हुन गर्दथे । तिनीहरु मध्ये गगन सिंह स्वार पनि सल्यान गौंडामा खर्दार थिए र निकै चल्तापूर्जा र कुशल व्यक्ति मानिन्थे । बडाहाकिम लोक बहादुर थापाका विश्वास पात्र पनि थिए । त्यसो हुनाले गगन सिंह स्वारलाई कठमहलको जिम्मेवारी सहित हाकिम बनाएर पठाइयो । कठहल बडाहाकिमको अस्थायी आवास पनि भएकाले उनले कठमहलको पछाडी उत्तरपट्टि घर बनाएर । उनका साथ साथ अन्य परिवार पनि बस्यो र यस्को नाम उनै गगन सिंह स्वाँरको नामबाट गगनगन्ज भयो ।

 

अर्का थरीको भनाइ छ, कठमहलमा काम गर्ने कर्मचारीहरुले यो टोल बसाएका हुन् । तिनीहरुको बीचमा एक जना गगन बहादुर थापा भन्ने कर्मचारी थिए । तिनीहरु अत्यन्त जुवाडे थिए । गगनगन्जमा सल्यान तिरबाट दाङ हुँदै आएका जमिन्दार थिए रन्नु बाबु उनी पनि जुवाडे थिए । जुवाकै शिलशिलामा एक पटक झगडा हुँदा रन्नु बाबुले आफ्नो बन्दुकले उनलाई हत्या गरिदिए । गगन बहादुरको हत्या भएको ठाउँ भएकाले सजिलोका लागि यसको नाम गगनगन्ज भनिएको हो । तर, दुवैथरीको कुरा सुन्दा र मनन् गर्दा पहिलो विचार नै सत्यको नजिक भए भंmै लाग्छ ।
त्यतिबेलाको नेपालमा खर्दार पनि ठूलो ओहदावाला पद मानिन्थ्यो । लोक बहादुर थापाले आफ्नो विश्वास पात्र मानिसलाई नै कठमहलको व्यवस्थापनको जिम्मा दिन सक्छन् । सल्यान गौंडाका बडा हाकिम भएकाले कठमहलमा काम गर्न पनि कर्मचारी सल्यान तिरैबाट आएका हुन सक्छन् ।

 

 

गगनगन्जको पुरानो परिवारहरुको अध्ययन गर्दा पनि त्यस्तै देखिन्छ । रणोद्विप सिंहको हत्या र गगनगन्जको वंश नाश भएको अवस्था भक्तपुर मनोहरा श्रेष्ठ दरबारको विश्वास पात्र मानिसहरु डरले भागे । त्यही क्रममा ख. अग्निमान श्रेष्ठका बाजे त्यहाँबाट भागेर भर्खर बन्न लागेको नयाँ मुलुकमा शरण लिन पुगे । आफुले जोडेको र भक्तपुरबाट जोगाएर ल्याउन सकेको पैसाले उनले बर्दियामा जमिन्दारी किने र बसोबास गर्न भर्खर बस्न लागेको नेपालगन्जमा बसोबास गर्ने क्रममा गगनगन्जको बासिन्दा भए । उनका छोराहरु कठमहलमा नै जागीर खान थाले । उनको नाती अग्निमान पनि सरकारी जागीरमा खर्दार भएका थिए । उनै अग्निमानका छोराहरु सर्वज्ञमान, धिर्जमान, पूर्णमान, कृष्णमान २००७ सालका स्वतन्त्रता सेनानी भएका थिए ।

 

गगनगन्जमा मानन्धर र परिवारहरु पनि पुरानै परिवार हुन् । २००७ सालका स्वतन्त्रता सेनानी रामकृष्ण मानन्धर, गोपाल मानन्धर आदिका बाजे काठमाडौं साँखुबाट बसाइसरी जाजरकोट राजाका दरबारमा आश्रित भएर आएका थिए । पछि त्यहाँबाट सल्यान र सल्यानबाट कठमहलमा काम गर्ने गरी नेपालगन्ज आएका थिए र गगनगन्जका रैथाने भए ।
पाल्पा रिडीबाट विस्थापित भई पछाईं परिवार त्यहाँबाट प्युठान सल्यान, दाङ हुँदै नेपालगन्ज आइपुगे । त्यहाँबाट चार भाई आएकोमा एकभाई सल्यानमै बसे, एक भाई दाङ दैलेख पुगे र दुईभाई जीत बहादुर र रण बहादुर नेपालगन्ज आइ बसे । जीत बहादुर र रण बहादुरले गगनगन्जमा झण्डै राणाहरु सँग प्रतिस्पर्धा गर्न सक्ने ठूलो घर बनाइ सकेका थिए । जीत बहादुर र रण बहादुर पछाईको बाँके र बर्दियामा प्रशस्त जिमिदारी थियो । रण बहादुरलाई घरमा बोलाउने नाम रन्नु बाबु थियो । उनी रन्नु बाबुको नामले प्रसिद्ध थिए । उनी निकै ठाटबाट र रवाफका साथ बस्थे । उनी सामन्ती संस्कारका थिए त्यसैले उनको धाक रवाफको आतंक थियो । जीत बहादुर सरल स्वभावका थिए ।

 

 

रन्नु बाबु जुवाडे थिए उनी आफ्नै घरमा जुवा खेल्ने खेलाउने गर्दथे । त्यही क्रममा उनको एकजना सरकारी कर्मचारीसँग झगडा भयो र रिसको झोंकमा उनले गोली चलाउँदा ती सरकारी कर्मचारी मारिए । त्यसपछि उनी फरार भए, लामै मुद्दा चल्यो । उनको अंश सर्वस्व पनि भयो र उनीलाई जन्म कैदको सजाय पनि भयो । तर रन्नु बाबु कहिल्यै गिरफ्तार भएनन् । उनी कहिले दाङ, कहिले सल्यान त कहिले नेपालगन्ज आफ्नै घरमा बस्थे र उनको धाक, रवाफ र पैसाले उनलाई जेल बस्न दिएन । उनले पुनः छोराहरुको नाममा जिमिदारी जोडे । रन्नु बाबुको धाक, रवाफ, अंश नाश आदिका कारणले जीव बहादुर सँग पनि कुरा मिलेन । आन्तरिक घर झगडा मंै उनको अवशान भयो । तर, उनी आफ्नै धाक, रवाफका साथ जीवन बिताए । जीत बहादुर र रण बहादुरका सन्तानहरु नै गगनगन्जको पछाईं परिवार हो ।

 

 

गगनगन्जका रैथाने पुरानो परिवारमा, काठमाडौंबाट जमिनदारी जोड्न आइपुगेका मखन टोलका पति परिवार पनि हो । सु. हर्षमान पनि बर्दियामा जमिनदारी जोड्ने र गगनगन्जमा घर बनाइ बस्दथे । उनकै छोरा नेपालगन्जका प्रसिद्ध साहित्यकार इन्द्रमणि मानव हुन् । हरिमान पति, सुन्दरमान पति ज्ञानमान पति उनका भाईहरु हुन् । घरबारीटोलमा घडेरी जोड्न नसकेर गगनगन्जमा घर, घडेरी जोड्ने पुरानो परिवारमा पं. उमाकान्त (मुखिया बाजे) र उनका ससुरा, काली प्रसाद, शीतल प्रसादका पिताजी पनि गगनगन्जमै बसोबास गर्न आइपुगेका थिए ।

 

 

बाँके, बर्दियाको जमिन जंगल, जंग बहादुरका भाई छोराहरुका नाम भागवण्डा गरिएको थियो । जुद्ध समशेरका पालामा, मुगलान र नेपालका कुना कन्दरामा लुकिबसेका जंगबहादुरका छोराहरुका सन्तानलाई नेपालको आफ्नो जमिन आवाद गरी खान पाउने गरी फुकुवा भएपछि, पद्यजंगका छोरा पिताम्बर जंग इलहावादबाट नेपालगन्ज आई रामबागका आफ्नो दरबार बनाएर बसे भने जीत जंगका सन्तानले पुरैनीका दरबार बनाएर बसे । पिताम्बर जंग राणाका साथ गुरु पुरोहितका रुपमा इलाहावादबाट नारायण प्रसाद भट्टराईका पिताजी र बनारसबाट ज्यो. पं. खगेश्वर भट्ट गगनगन्जमा र पुरैनीका जंगु राजा, भोला राजाका आश्रित भएर आएका थिए । उनी पनि गगनगन्जमै आएर बसोबास गरे ।

 

 

नेपालगन्जको जमिनन्दारी प्रथाको एउटा प्रमुख अंग थियो पटवारी प्रथा जग्गाको नापजाँचको विवरण राख्ने र सरकारी राजश्वको वसुली गर्ने काम पटवारीको हुन्थ्यो । पटवारी सामन्ती व्यवस्थाको प्रमुख अंग भएकाले पटवारीको पनि समाजमा सम्माननीय स्थान हुन्थ्यो । काठमाडौं लुभुबाट पंडित जगन्नाथ पौडेल र बाट साहित्यकार वि. विकासका पिताजी गौरीलाल र उनका साला देवी प्रसाद श्रेष्ठहरु पनि पटवारीका काम गर्ने गगनगन्जका सम्मानित परिवार मानिन्थ्यो ।

 

 

ब्राह्मण परिवारमा पं. यदुनाथ रिसाल र चुडामणि रेग्मी अलि पछि मात्र आएका हुन् । गगनगन्जमा नेपालगन्जको बजार बसेपछि व्यापारिक उद्देश्यले बसोबास गर्न आएका १ सय ३० बर्ष पहिले आएका लालता प्रसाद वैश्यको बाबु इन्डियाबाट आएर यहाँ बसे, उनको पसल गगनगन्जमा थियो र उनले घोडामा सामान लादेर गाउँ, गाउँमा बेच्ने गर्दथे । उनीसँगै लाला उद्दिलाल पनि आएका थिए । सल्यानबाट फत्तेमानका पिताजी जागिरका शिलशिलामा आएका थिए भने हक्काको परिवार गगनगन्जको विकासको पहिलो चरणमा गगनगन्जमा बस्न आइपुगेका थिए । करामत अलि र उनका ठूलो दाजु, मौलवी साहव, बालेराम मुन्ना सेठका पिताजी जय जय वैश्य र छोटकउ, बडकउ भन्ने दुईभाईका पिताजी पनि गगनगन्जका पुराना बासिन्दा हुन् ।

 

 

वैतडीका शेर बहादुर चन्दले बर्दियाका जिमिदार सुर्जप्रसाद थारुको घर जग्गा किनेर नेपालगन्जका रैथाने परिवार भएका थिए । सहिद भगत सिंहका काका अजीत सिंह, पंजाबको स्वतन्त्रता सेनानी हुन् । १८५७ को गदर पछि प्रजाबमा राजनीतिक स्वतन्त्रताका लागि लड्ने करतार सिंह सरदारका मित्र अजित सिंह राजनीतिक शरण लिन बैतडी पसेका र उनले शेर बहादुर चन्दको परिवारमा शरण पाएको कुरा भगत सिंह और मृत्युन्जय पुरखे भन्ने किताबमा लेखिएको छ । यिनी शेर बहादुर, सहिद दशरच चन्दका सहोदर भार हुन् । उनका छोरा ललित चन्द, नेपालगन्जका राजनीतिका नामूद खेलाडी हुन् । आफ्नो जीवनकालसम्म उनले नेपालगन्जको राजनीतिमा आफ्नो प्रभाव जमाई रहे ।

 

 

गगनगन्जको अर्को महत्वपूर्ण परिवार थियो, काठमाडौंबाट आएको श्यामा देवी र उनको देवर मधुसुदन बाबु । पण्डित परिवारको भएपनि जिमिदारहरुलाई दिइने सम्मान स्वरुप उनलाई बाबु भनिन्थ्यो । म केटाकेटी केटी भएको बखत जिमिदारी शानका साथ घोडा चढेर यता उति गएको मधुसुदन अर्याललाई म अझै सम्झन्छु । नेपालगन्जमा ब्राह्मण परिवार अत्यन्तै थोरै थिए । गगनगन्जमा त झन् जम्मा ६ परिवार मात्र ब्राह्मण परिवार भएकाले यी परिवारहरुका माझमा सारै घनिष्ठता थियो । मुखिया बाजे, यदुनाथ उपाध्याय, पुरैनी बाजे, जगन्नाथ पटवारीहरुको विशेष आग्रहमा नै मेरो हजुर बुबा चुडामणि रेग्मी, संस्कृतिका विद्वान भएकाले सबै ब्राह्मण पुत्रहरुलाई शिक्षा दिक्षा दिने अनुकुलताका लागि उहाँलाई नेपालगन्ज बस्न राजी गराइएको हो ।

 

 

गगनगन्ज राजनीतिक, सामाजिक र साँस्कृतिक क्षेत्रको नेतृत्वदायी भूमिका खेल्ने मानिसहरुको बस्ती हो । नेपालगन्ज बस्दा तयार भएको रानी तलाउ र कठमहलको ऐतिहासिकता २००७ सालको जनक्रान्तिको वीजभूमि रहेको गगनगन्ज टोल दुईवादी परिवारबाट विकसित हुँदै एउटा कुना भगवान तलाउको क्षेत्र रुप बजारमा परिणत भएपछि गगनगन्ज भन्नासाथ बदनामी बस्ती भनेर बुझिने गरिन्थ्यो । गगनगन्जबासी युवाहरुको संघर्षले अहिले त्यो रुप बजार अहिले बन्द भएको छ र त्यहाँका वदिनी युवतीहरु जागीर र अन्य सामाजिक पेशा अपनाएर सम्मान पूर्ण जीवनयापन गर्दैछन् । ती तमाम कुराहरुको वर्णन यो सानो स्तम्भमा अटाउन गाह्रो छ । अतः यसै स्तम्भको आगामी आलेखमा पूर्ण गर्ने वचनवद्धताका साथ यो आलेख यही टुङ्ग्याउँछु ।

प्रतिक्रिया

प्रतिक्रिया