अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय कोहलपुरका प्रमुख एसपी इश्वर कार्कीले कार्यालयहरुमा घूस अब ‘ऐच्छिक भइसकेको’ बताएका छन् । पछिल्लो समयमा रंगेहात पक्राउ पर्ने सिलसिलमा आंशिक घटौती आएको सन्दर्भमा प्रष्ट पार्दै प्रमुख कार्कीले भने, ‘पहिला कर्मचारीहरु दबाव दिएर रकम तोकेर घूस असूल गर्थे र हामी कहाँ सूचना दिनेको संख्या धेरै थियो । अहिले इच्छा अनुसार दिनुस् भन्ने चलन सुरु भएको पाइयो,’ उनले दैनिक नेपालगन्ज सँग भने, ‘कर्मचारीले दबाव नदिएका कारण अप्रेशनको संख्यामा केहि कमि आएको हो ।’
‘महिनामा कम्तिमा एक जनालाई रंगेहात पक्राउ गर्ने तथ्याङ्क घटेको छैन,’ अख्तियारको विवरण बारे बताउँदै कार्कीले भने, ‘कम्तिमा महिनामा एक कर्मचारीलाई रंगेहात पक्राउ गर्ने प्रयास जारी नै रहन्छ ।’ ‘फिल्डमा दिनहुँ कर्मचारी प्रयासरत हुन्छन्,’ उनले भने, ‘अप्रेशन सफल गर्नका लागि धेरै प्रयासहरु गर्नु पर्छ ।’
‘सेवाग्राहीलाई कर्मचारीले घूसका लागि दबाव दिने गरेका बेला गुनासो बढि आउनु स्वाभाविक थियो,’ कार्कीले भने, ‘हाम्रो र सेवाग्राहीको संयुक्त प्रयासपछि कर्मचारीको बानी ब्यवहारमा मनोवैज्ञानिक असर परेको छ ।’ ‘यसरी क्रमिक रुपमा सुधार हुँदै जानु हाम्रो लागि सकारात्मक संकेत हो,’ कार्कीले भने, ‘३० जनाको टोली घूस सहितको क्रियाकलाप विरुद्ध दिनहुँ प्रयासरत हुन्छ । यद्यपि उजुरीको अवस्था नघटेको पाइएको छ ।’
बाँकेमा अख्तियारले कारवाही गरी नापी कार्यालय, जिल्ला वन, प्रशासन, विद्युत, उपमहानगरपालिका, प्रहरी कार्यालय, भन्सार लगायतबाट कर्मचारीलाई घूस सहित रंगेहात पक्राउ गर्न थालेपछि विस्तारै घूसका लागि दबाव दिने सिलसिला घट्दै गएको हो । घूसका लागि बाध्य हुन पर्ने स्थिति घटेकोले स्टिंग अप्रेशनको सूचना केहि हद सम्म घटेको अवस्था छ । बाँके, बर्दिया, दांग, प्युठान, रोल्पामा काम गर्दै आएको अख्तियार कोहलपुर कार्यालयले दिनहुँ सरकारी सेवाप्रदायक कार्यालयलाई निगरानी गर्दै आएको जनाएको छ ।
‘पछिल्लो समयमा प्रभावकारी काम देखा नपर्नुको पछि चुनावी कारण पनि हो,’ प्रमुख कार्कीले भने, ‘घूस खाने सबै कर्मचारीहरु चुनावमा खटिएका कारण केहि समय प्रभावित भएको थियो ।’ अहिले विस्तारै अख्तियारको ध्यानाकर्षण स्थानीय तह तिर आकर्षित भइरहेको बताउँदै कार्कीले भने, ‘कर्मचारी गाउँमा पुगेकोले सो स्थानबाट हुन सक्ने भ्रष्टाचारजन्य कार्यमा हाम्रो निगरानी बढ्दैछ ।’