पटक–पटक पक्रदै, छोड्दै
विनय दीक्षित
कुनै कसूर फेला नपरे प्रहरीले सहजै कुनैपनि ब्यक्ति माथि सार्वजनिक अपराध मुद्दा चलाएर थुनामा राख्ने गर्दछ । तर, एक ब्यक्ति माथि पछिल्लो तीन महिना देखि प्रहरीले फरक फरक जिल्लामा सार्वजनिक अपराध मुद्दा चलाउँदै थुनामा राख्दै आएको खुलेको छ ।
एक प्रहरी अधिकृत संग ब्यक्तिगत रिसिइबी भएपछि उनले आफ्नो अनुकूल सार्वजनिक अपराध मुद्दा चलाउँदै नेपालगन्ज–८ बस्ने रघुराज बेलदार (सिंह)लाई थुनामा राख्दै आएका छन् । बाँकेबाट पक्राउ गरी काठमाडौ लगिएका बेलदारलाई महानगरीय प्रहरी वृत महाराजगन्जले २०७४ साल कार्तिक २१ गते पक्राउ पुर्जी दियो ।
प्रहरी नायब निरीक्षक रेवत कुमार पोखरेलले पहिलो पटक सार्वजनिक अपराध मुद्दामा बेलदारलाई पक्राउ पुर्जी दिए । जिल्ला प्रशासन कार्यालय काठमाडौले मंसिर ८ गते बेलदार माथि १५ हजार रुपैयाँ धरौटी गरेपछि रकम बुझाउन नसकेका बेलदार कारगार चलान भए । तीन दिनपछि मंसिर १८ गते १५ हजार रुपैयाँ धरौटीमा रिहा भएका बेलदारलाई प्रहरीले रिहा भए लगत्तै पक्राउ ग¥यो । मंसिर १८ गते महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी सहायक निरीक्षक वेद बहादुर केसीले बेलदारलाई पुनः पक्राउ पुर्जी दिए ।
दोस्रो पटक पक्राउ भइ पेश भएका बेलदार माथि जिल्ला प्रशासन कार्यालय भक्तपुरले पौष १३ गते एक हजार रुपैयाँ जरिवाना ग¥यो । ‘बेलदारले सो दिन रकम नबुझाएपछि थुनामा बस्नु प¥यो’, अधिवक्ता लोक बहादुर शाहले भने, ‘पौष २१ गते धरौटी रकम बुझाएर पनि रिहा नभएका बेलदारलाई पाटन अदालतले पेश गर्न आदेश दियो ।’ ‘अदालतको आदेश पछि बेलदार बाँके पु¥याइए’, पीडित बेलदारकी पत्नी पूजा सिंहले भनिन्, ‘प्रहरीले ब्यक्तिगत रिसिइबीका आधारमा पटक पटक सार्वजनिक अपराध मुद्दा चलाउँदै आएको छ ।’
बेलदार घर निर्माणको काम गर्ने मिस्त्री हुन् । उनको पत्नी र दुई जना छोराहरु नेपालगन्जमा बस्छन् । २०७४ कार्तिक २० गते विहान करिब ८ बजेको समयमा घरमा बसिरहेकै अवस्थामा सादा पोशाकका एक ब्यक्तिले आफुलाई प्रहरी बताउँदै पक्राउ गरेको बेलदारले अदालतमा बयान गरेका छन् । बाँके कारागारमा थुनामा रहेका बेलदारले फुल्टेक्रामा रहेका एक जना प्रहरी निरीक्षकले घर बनाउनु पर्ने भएको बहानामा पक्राउ गरेको बताएका छन् । ‘घर निर्माण गर्ने बहानामा वडा प्रहरी कार्यालय नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेका थिए’, बेलदारले भने, ‘अपहरण गर्ने हिसाबले प्रहरीले लुकाएर राखेको थियो ।’
‘कार्तिक २० गते नै काठमाडौको बसमा बसालेर नेपालगन्जबाट काठमाडौ लगियो’, बेलदारकी पत्नी पूजा सिंहले भनिन्, ‘त्यसपछि पति संग फोन सम्पर्क पनि हुँदैन्थ्यो ।’ काठमाडौं लगेर महानगरीय प्रहरी वृतमा लगि चलानी नं.३१८९ को पत्रबाट प्रहरीलाई हातपात गाली गलौच गरेको भन्ने आरोप लगाउँदै केही सार्वजनिक अपराधको अभियोगमा थुनुवा पूर्जि दिइएको थियो ।
‘भक्तपुर प्रशासनले तोकेको एक हजार रुपैयाँ धरौटी आदेशमा पनि प्रहरीले रिहा गर्न मानेन्’, पूजा सिंहले भनिन्, ‘रकम बुझाएपछि पनि प्रहरीले पतिलाई रिहा गरेन ।’ धरौटी दाखिला गरी सक्दा समेत थुनामुक्त नगरेपछि २०७४ पौष २५ मा बन्दी प्रत्यक्षीकरणको रिट उच्च अदालत पाटनमा दर्ता गराएको बेलदारले बताए । अदालतले २४ घण्टा भित्र बन्दी भए बन्दी सहित उपस्थित हुनु भनी पौष २६ गते आदेश दिएपछि आफुलाई रातारात २५ गते नै राती काठमाडौबाट नेपालगन्ज पुर्याइयो ।
‘इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा ल्याएर पुनः २६ गते प्रहरीलाई हातपात र गाली गलौच गरेको आरोप लगाई चलानी नं.७४६१ बाट केही सार्वजनिक अपराधको अभियोगमा तेस्रो पटक पक्राउ पुर्जी थमाइयो’, बेलदारले भने, ‘प्रहरीले सार्वजनिक अपराध मुद्दाको बहानामा ब्यक्तिगत रिसिइबी साँधीरहेको थियो ।’जिल्ला प्रशासन कार्यालय बाँकेले ३ हजार धरौटी माग गरेपछि आर्थिक अभावका कारण धरौटी दाखिला गर्न नसकेका कारण म निवेदकलाई कारागार कार्यालय बाँकेमा पठाइयो बेलदारले आफुमाथि भएको घटना बारे सुनाउँदै भने, ‘प्रहरीले अत्याचारको सिमा नै नाघ्यो ।’
धरौटी जमा गरेपछि पुनः पक्राउ गर्ने डरका कारण कारागारमा नै बस्न उपयुक्त देखेर अदालत गुहारेकी पीडित पत्नी पूजा सिंहले भनिन्, ‘उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा निषेधाज्ञाको रिट दायर गरेको हुँ ।’ धरौटी जम्मा गर्ने वित्तिकै प्रहरीले अर्को चौथो सार्वजनिक मुद्दाको सृजना गर्ने, अर्को जिल्लामा पठाउने, लामो समय सम्म गैरकानूनी थुनामा राख्न सक्ने निश्चित भएको र धरौटी जम्मा नगर्ने हो भनी लामो समय सम्म गैरकानूनी रुपमा कारावासमा नै बस्नु पर्ने बाध्यता बीच न्यायका लागि अदालत पुगेको सिंहले बताइन् ।
रिटमा प्रहरीको गैरकानूनी एवं क्षेत्राधिकार विहिन कामकारवाही रोकी नागरिक अधिकारको रक्षा गर्न तत्काल अन्य प्रभावकारी र वैकल्पिक उपचारको बाटो समेत नभएकोले नेपालको संविधान, नागरिक अधिकार ऐन २०१२, न्याय प्रशासन ऐन २०७३, उच्च अदालत नियमावली २०७३, लगायतको ब्यवस्था अनुसार रिट अघि बढाइएको अधिवक्ता लोक बहादुर शाहले बताए ।
आदेशपछि रिहा
तीन महिना देखि नक्कली सार्वजनिक अपराध मुद्दामा थुना र धरौटी खेप्दै प्रहरीको यातना सहँदै आएका रघुराज बेलदार(सिंह) विहिवार साँझ रिहा भएका छन् । प्रहरीले तीन पटक तीन महिना सम्म सार्वजनिक अपराध मुद्दामा यातना दिँदै थुनामा राखेको बेलदार उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासको आदेशमा थुनामा मुक्त भएका हुन् ।
सार्वजनिक अपराधमा धरौटी राखे लगत्तै प्रहरीले पुनः सार्वजनिक अपराध मुद्दा लगाउने र फसाउने गरेको बेल्दारलाई कानून ब्यवसायी, मानवअधिकारकर्मी र पत्रकारहरुको रोहबरमा जिल्ला प्रशासन कार्यालय बाँकेमा रिहा गरिएको अधिवक्ता लोक बहादुर शाहले बताए । उच्च अदालतमा दायर भएको निषेधाज्ञाको रिटमा सुनुवाई गर्दै न्यायाधीश गोपाल भट्टराईको एकल इजलासले बेलदारलाई रिहा गर्न आदेश दिएको हो । अदालतले विपक्षी कार्यालय र प्रमुखहरुलाई १५ दिन भित्र लिखित जवाफ पेश गर्न समेत आदेश दिएको अधिवक्ता शाहले बताए ।
रिटमा इलाका प्रहरी कार्यालय कोहलपुर, र कार्यालय प्रमुख, वडा प्रहरी कार्यालय नेपालगन्ज र प्रमुख, जिल्ला प्रहरी कार्यालय बाँके, र प्रमुख, जिल्ला प्रशासन कार्यालय, बाँके र प्रमुख जिल्ला अधिकारी समेतलाई विपक्षी बनाइएको थियो ।