झलक गैरे/नेपालगन्ज
नेपालगन्जको खानेपानी सुधारका लागि बृहत योजना कार्यान्वयनमा आएको छ । नेपाल सरकारको ऋण अनुदानमा नेपाल खानेपानी संस्थानले बृहत खानेपानी योजना कार्यान्वयनमा ल्याएको हो । सरकारले योजना कार्यान्वयनको प्रारम्भमै २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । ‘यो अनगोइङ्ग प्रोजेक्ट हो’, संस्थानका नेपालगन्ज स्थित कार्यालय प्रमुख आशिष कार्कीले भने, ‘काम अनुसार बजेट उपलब्ध हुँदै आउँछ ।’
राप्ती नदी किनारमा इन्टेक बनाएर १६ किलोमिटर मेन पाइप लाइनबाट नेपालगन्ज बजारसम्म ल्याइ पुर्याउने योजना छ । ‘त्यसका लागि आवश्यक सबै मुख्य पाइप शुक्रबार नेपालगन्ज झारिसकियो’, संस्थानका नेपालगन्ज प्रमुख कार्कीले दैनिक नेपालगन्जसँग भने । उनका अनुसार, यही गतिमा कामले निरन्तरता पाए २०७६ को आर्थिक बर्ष अन्त्यसम्म नेपालगन्जमा राप्तीबाट शुद्ध पिउने पानी नेपालगन्ज ल्याइसकिने छ ।
भूमिगत जलस्रोतबाट खानेपानीको आपूर्ति गर्दै आएका नेपालगन्जबासीका लागि दीर्घकालीन आपूर्ति व्यवस्थापन गर्न नयाँ योजना अघि सारिएको हो । हाते पम्प, ट्युववेल, डिप बोरिङ्ग लगायतका माध्यमबाट उपलब्ध खानेपानी नेपालगन्जमा उपलब्ध छ ।
‘यसका लागि तत्कालीन प्रधानमन्त्री सुशिल कोइराला संग मैले पहिलो पटक यो प्रस्ताव लिएर गएको थिएँ’, तत्कालीन सांसद नेपाली काँग्रेसका नेता मैकुलाल वाल्मिकीले दैनिक नेपालगन्जसँग भने, ‘यो योजना कार्यान्वयनमा आउँदा खुशी लागेको छ ।’ वाल्मिकीका अनुसार, योजनाका लागि वैदेशिक सहयोग प्रस्ताव पनि गरिएको छ । ‘अहिलेको स्रोतबाट निरन्तर आपूर्ति निर्भर भए १० बर्षमा नेपालगन्जबासी काकाकुलको अवस्थामा पुग्नुपर्छ’, वाल्मिकीले तत्कालीन अध्ययनलाई उद्धृत गर्दै भने, ‘त्यसैले यो स्थायी समाधानका लागि सरकारको लगानी आएको हो ।’
संस्थाका प्रमुख कार्कीले परम्परागत शुद्धिकरणबाट इन्टेकमार्फत पानी ल्याउने योजना भएपनि त्यसरी शुद्ध खानेपानी सम्भव नभए ‘ट्रिटमेन्ट प्लान्ट’ जडान गरिने बताए । ‘त्यसो भयो भने चाहीँ एक बर्ष समय बढ्न सक्छ’, कार्कीले २०७३ असारबाट योजनाले औपचारिक प्रक्रिया सुरु गरेपनि तीन महिना अघि मात्र त्यसले मूर्त रुप पाएको जानकारी दिंदै भने, ‘ठेकेदार राम्रो परेकाले सम्झौता अघि नै काम अगाडि बढाउँदै आवश्यक पाइप लाइन नेपालगन्ज ल्याइसकिएको छ ।’
कार्कीका अनुसार, २० इन्च पाइपबाट १६ किलोमिटर राप्तीपथ हुँदै खानेपानी मेन लाइन बिस्तार गरिनेछ ।
‘बागेश्वरी मन्दिर नजिक ट्यांकी र कारकाँदो स्थित नयाँ बन्दै गरेको ब्रान्च ट्यांकीमा १० इन्च पाइपबाट पुर्याइनेछ’, कार्कीले शुद्ध खानेपानीबाट उपभोक्तालाई स्वस्थ राख्ने योजना सुनाउँदै भने, ‘दैनिक साढे २ करोड लिटर पानी सहज उपलब्ध हुनेछ ।’
पूर्व सांसद वाल्मिकीले हाल नेपालगन्जबासीले जोखिमयुक्त पानीबाट गुजारा गरिरहेको जानकारी दिंदै बृहत खानेपानी योजना सुचारु भएपछि स्वस्थ पानीको सुनिश्चितता हुने विश्वास व्यक्त गरे । ‘३० फुट सम्मका पानी जनताले पिइरहेका छन्’, वाल्मिकीले शुद्ध पानीका लागि सरकारको बृहत खानेपानी योजना समयमै पुरा हुनुपर्ने आवश्यकतालाई जोड दिंदै भने । हाते पम्पबाट अधिकांस ठाउँमा आर्सेनिक युक्त पानी तथ्य पनि बेलाबेलामा बाहिर आउने गरेको छ ।
संस्थानबाट मात्र नेपालगन्जमा अहिले ३६ लाख लिटर पानी प्रतिनिधि उपयोग भैरहेको छ । ‘नेपालगन्जमा ४ हजार ५ सय घरधुरीले मात्र हामीबाट खानेपानीको सेवा लिनुभएको छ’, संस्थानका प्रमुख कार्कीले भने, ‘माग अनुसारको सप्लाई पुरा गर्दै आएका छांै ।’