बाँके प्रदेश राजधानी बनाउन जनप्रतिनिधिको प्रतिबद्धता
नेपालगन्ज/देबेन्द्र राज पौडेल
‘आत्माबाटै बाँकेलाई प्रदेश राजधानीको माग गरांै’, यो भनाइ हो नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८का अध्यक्ष दिपक बर्माको । शनिबार बाँके प्रदेश राजधानी संघर्ष समितिले बाँकेका जनप्रतिनिधिहरुसँग प्रतिबद्धतामा हस्ताक्षर गराउन आयोजना गरेको कार्यक्रममा राजधानीको विकल्पमा समेत कुरा उठेपछि वडाध्यक्ष बर्माले राजधानी बाहेक अन्य विकल्पमा छलफल नगर्न आग्रह गरेका हुन् ।
कार्यक्रममा प्रदेससभामा भोटिङ्गको अवस्था आउँदा बाँके कमजोर भएमा अन्य विकल्पमा एक जनप्रतिनिधिले आफ्ना धारणा राखेपछि बर्माले अहिले त्यतातिर ध्यान दिन नहुने बताएका हुन् । ‘बाँके प्रदेश राजधानी बाहेक अन्य विकल्पहरुमा कुरा नगरौंं’, युवा वडाध्यक्ष बर्माले भने, ‘त्यसले हाम्रो आन्दोलनलाई कमजोर पार्न सक्छ ।’
बाँकेका सबै राजनीतिक दलहरुले एक धारणा बनाएर अघि बढ्न आवश्यक रहेको उल्लेख गर्दै उनले पार्टीले आफ्ना मागहरुको सुनुवाई नगरेपनि स्थानीय स्तरमा सबै राजनीतिक दल आन्दोलनमा होमिनु पर्ने बताए । ‘पूर्वाधारका हिसाबले प्रदेश राजधानी बाँकेको अधिकार हो’, उनले भने, ‘त्यसैले निर्णायक तहमा पुर्याउने गरी आन्दोलन गरौं ।’ बाँकेमा ढिलो गरी प्रदेश राजधानीका लागि आन्दोलन सुरु भएको बताउँदै अध्यक्ष बर्माले बाँके नभए कसलाई समर्थन गर्ने भन्ने विषय कुनैपनि दलले अहिले सोंच्ने समय नभएको बताए ।
छलफलका क्रममा बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य मो. इस्तियाक राईले सबै मिलेर विकल्पविहीन आन्दोलन गर्नुपर्ने बताउँदै दलीय एकतामा जोड दिए । ‘आज आन्दोलनमा जाने र पछि पार्टी दबाब आएमा पछाडी हट्ने काम कोही कसैबाट हुनुहुँदैन’, उनले भने । अन्य प्रदेशमा मिलाएर बाँकेलाई राजधानी बनाइनु पर्ने आवाज उठिरहेको प्रति टिप्पणी गर्दै उनले त्यसको सम्भावनामा पनि कमै रहेको धारणा राखे । उनले अन्य प्रदेशमा मिसाएर बाँकेलाई राजधानी बनाउन सकिने सुनिश्चितता नभएकाले अहिलेको ध्यान ५ नंं प्रदेशको राजधानी बाँकेलाई नै बनाउन आवश्यक दबाब सिर्जना गरिनुपर्ने बताए । ‘हाम्रो पार्टी त्यसका लागि तयार छ’, दलीय सहमतिमा आन्दोलनका कार्यक्रम अगाडी बढाउँदै लैजानु पर्ने बताउँदै प्रतिनिधिसभा सदस्य राईले भने ।
बाँकेका आठ वटै स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, राजनीतिक दल र आम सर्वसाधारणले एकमतका साथ आन्दोलन गरे बाँकेलाई राजधानी बनाउन सकिने उल्लेख गर्दै प्रतिनिधिसभा सदस्य राईले भने, ‘राजधानी बाँके हुनु सुनिश्चित भएपछि मात्र महत्वपूर्ण मन्त्रालय कहाँ राख्ने भन्ने छलफलबाट टुङ्ग्याउन सकिन्छ ।’ आन्दोलनपछि वार्ता हुने वार्तामा भने राजधानी बाँकेमा राखेर मन्त्रालय भन्ने अन्य ठाउँलाई समेत दिन सकिने धारणा राईको थियो ।
सरकारले प्रदेश नं. ५ को मुकाम बुटवललाई बनाएपनि त्यो अस्थायी मात्र भएको बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य महेश्वर गहतराजले बताए । जनसंख्याको हिसाबले रुपन्देहीलाई प्रदेशको अस्थायी मुकम घोषणा गरेपनि स्थायी रुपमा भने त्यो बाँकेलाई मान्य नहुने गहतराजले बताए ।
‘प्रदेश राजधानी आन्दोलनको केन्द्र समेत बन्ने गर्दछ’, उनले भने, ‘बुद्धभूमि रुपन्देहीलाई अशान्त बनाउँदा त्यहाँ आउने विदेशी पर्यटकले देशकै नराम्रो छवि लिएर जान्छ, त्यसैले रुपन्देही प्रदेश राजधानी मान्न सकिंदैन ।’ उनले प्रदेशका हरेक जिल्लालाई विकासमा जोड्ने सुनिश्चितता हुनुपर्ने धारणा राख्दै रुपन्देहीलाई धार्मिक पर्यटनका रुपमा आगाडी बढाउन सकिने धारणा राखे । दाङ्गमा न्यायिक केन्द्र स्थापना भैसकेकाले अब बाँकेको भविष्य पनि सुनिश्चित हुनुपर्ने धारणा गहतराजको थियो ।
प्रदेशसभाले नै प्रदेश राजधानीको सुनिश्चितता गर्ने भएकाले बाँकेले आफ्ना आधारहरु ठोस रुपमा प्रस्तुत गर्दै दुई तिहाइका लागि लबिङ्ग सुरु गर्नुपर्ने प्रतिनिधिसभा सदस्य गहतराजले बताए । राजधानी नभए के गर्ने भन्ने विकल्प समेत निश्चित गरेर अगाडी बढ्नु पर्ने गहतराजको सुझाव थियो । ‘आन्दोलनले हाम्रा मागलाई दह्रो बनाएपनि अन्तिममा सहमतिको विकल्प रहँदैन’, उनले भने, ‘त्यसैले विकल्प पनि सोचिराख्नु पर्छ ।’
राजपा नेता केशवराम बर्माले संघर्ष समिति भित्रै फरक विचार देखिएको भन्दै त्यसले आन्दोलनलाई कमजोर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरौं । ‘एउटै लक्ष्य निर्धारण गरेर अगाडी बढौं’, उनले भने, ‘प्रदेशराजधानीको मागलाई बलियोसँग उठाउन जनप्रतिनिधिहरु थप जिम्मेवारीपूर्वक अगाडी आउनुपर्छ ।’ माओवादी केन्द्रका नेता दामोदर आचार्यले अहिलेको आवश्यकता आफ्ना मागहरुलाई स्थापित गर्न आन्दोलन र आधार प्रस्तुत भएकाले बाँकीकुराहरु समयअनुसार छलफल गर्दै अगाडी बढ्नु पर्ने बताए ।
संघर्ष समितिका संयोजक निरक गुरुङ्गले सबैको साथ र सहयोगले आन्दोलन सफल हुने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रदेशसभा सदस्य उषा पुन, खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति, जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादव, एमालेका युवा नेता अब्दुल हुसेन खाँ, सुर्य ढकाल, माओवादी नेता दामोदर आचार्य, ललित रौनियार लगायत बाँकेका स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
बाँके राजधानी संघर्ष समितिले माघ २३ गते दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी गरिरहेको छ । त्यसका लागि चरणबद्ध आन्दोलनका क्रममा दलका नेता तथा जनप्रतिनिधिहरुले आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने बारेमा आफ्ना धारणा राख्दै आएका छन् ।
राजधानीका लागि हस्ताक्षर अभियान
सहरमा कालो ब्यानर
बाँकेमा प्रदेश राजधानी माग गर्दै आन्दोलनका विभिन्न कार्यक्रमहरु सञ्चालन भैरहेका छन् । राजधानीका पक्षमा जनमत जाहेर गर्न बिहीबारबाट सुरु गरिएको अभियानबाट २१ हजार हस्ताक्षर संकलन भएको बाँके राजधानी संघर्ष समितिका संयोजक निरक गुरुङ्गले जानकारी दिए । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा भैरहेको महोत्सव स्थलमा समेत राखिएको हस्ताक्षर अभियान शनिबार सकिएको छ ।
राजधानीका लागि दबाब दिन बाँकेका चोक, चौराहमा दबाबमूलक व्यानर समेत टाँगिएका छन् । ‘२५ वटा चोकमा शनिबार व्यानर टाँगिएको छ’, संयोजक गुरुङ्गले भने । ‘दबाबका कार्यक्रमहरु जारी राखेका छौं‘, बाँके राजधानी संघर्ष समितिका संयोजक निरक गुरुङ्गले भने, ‘पहिलो चरणमा संकलित हस्ताक्षरहरु सरकारलाई पठाउने छौं ।’
आज आइतबार पनि आन्दोलनले निरन्तरता पाउनेछ । त्यसअन्तर्गत बाँके प्रदेश नं. ५ को राजधानी हुनुपर्ने आधारहरु समेटिएको पम्प्लेट बाँड्ने कार्यक्रम रहको संघर्ष समितिले जानकारी दिएको छ । ‘१० हजार पम्प्लेट बाँडिनेछ’, उनले भने । पहिलो चरणको आन्दोलन अन्तर्गत आगामी पुस २१ गते सिटि जुलुस सहित प्रर्दशन गरिने संयोजक गुरुङ्गले बताए ।
संघले भन्यो, ‘बाँके’
प्रदेश राजधानीको माग बिस्तारिंदै गएको छ । बाँकेलाई हरेक दृष्टिले प्रदेश नं. ५ को राजधानीका लागि उपयुक्त हुने भन्दै होटल व्यवसायी संघ बाँकेले हस्ताक्षर अभियान थालेको छ । संघका अध्यक्ष निम बहादुर थापाको अध्यक्षतामा बाँकेको बैजनाथ स्थित पर्यटकीय क्षेत्र गाभर भ्यालीमा भएको संघको विशेष भेलाले बाँकेलाई राजधानीका लागि उपयुक्त हुने निष्कर्ष निकाल्दै दबाबका लागि हस्ताक्षर अभियान थाल्ने निर्णय गरेको हो ।
‘विद्यमान परिस्थिति र आवश्यकताले नै बाँके प्रदेश नं. ५ को राजधानीका लागि उपयुक्त हुने देखिन्छ’, हस्ताक्षर सुरु गर्दै संघका पदाधिकारीहरुले भने, ‘यहाँको सामाजिक, भौतिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले पनि यो उपयुक्त थलो हो ।’
संघले समग्र विकास र समृद्धिका लागि होटल व्यवसायीहरुले बाँके राजधानीको मागलाई जोडका साथ उठाएर हस्ताक्षर अभियान थालिएको जनाएको छ ।
अध्यक्ष थापासँगै निवर्तमान अध्यक्ष जनार्दन पाण्डे, वरिष्ठ उपाध्यक्ष उमा ग्राण्डन, उपाध्यक्ष प्रेम खत्री, महासचिव भीम कंडेल, सचिव पिताम्बर मरासिनी, कोषाध्यक्ष रविन्द्र लामिछाने, सहकोषाध्यक्ष घनश्याम थापा लगायतले हस्ताक्षर अभियानको शुभारम्भ गरे । वरिष्ठ सदस्य रंग बहादुर खड्का, प्रवक्ता उपेन्द्र शाही, सदस्य जुना कंडेल, कल्पना तामांग, राम बहादुर लिम्बु, राजकुमार विक, दिलाराम पौडेल लगायतले अभियानको शुभारम्भमा हस्ताक्षर गर्दै दबाब सिर्जना गर्न आव्हान गरे ।
संघले शनिबार गाभरमा व्यवसायीहरुको भेला डाकेर समसामयिक व्यवसायिक अवस्था समेतको समिक्षा गरेका छन् ।