तिमीलाई सुनाखरी भनेर बोलाउँ कि?
तिमीलाई गुरासको नाउँले सजाउँ कि?
तिमीलाई मीठामीठा बोलीले बोलाउँ कि?
न्यानो न्यानो मायामा भुलाउँ कि?
म तन्नेरी हुँदाको खुबै हिट गीत हो यो । उदीतनारायण झा र रचना जी.सी.ले गाएको यो गीत कसले लेखेका हुन् थाह छैन तर यो गीत कतै बजेको सुनियो भने तन्नेरी दिनका सम्झना हृदयभरि उर्लिएर आउँछन् त्यसैत्यसै । उदीतनारायण यो गीत गाएपछि सफलताको सिंढी चढ्न थालेका हुन् तर अरु गायिकाहरु भन्दा अलग्गै लाग्ने नाकेनाके स्वरकी धनी भएर पनि रचना जी.सी. भने कता हराउन पुगिन् कता । तन्नेरीवयमा मैले मेरी काल्पनिक प्रेमिकालाई सम्झिदैं यो गीत कति गुन्गुनाएँ कति । यही यीत गन्गुनाउँदै सुमद्री किनारमा डुल्ने मेरो रहर उहिलेदेखिकै हो । समुद्री किनार होस्, श्रावणको महिना होस्, एउटा साँझ होस्, जून उदाएको होस् झमझम पानी परेको होस्, जुनकिरी चम्किएका हुन्, अलिकति चिन्तनरुपि मदिराको तरङ्ग होस्, अलिकति जीवनानुभूतिको मूच्र्छना होस् अनि साकार प्रेमिकाको साथ होस् र साथमा हुन् केही सखदुःखका गन्थन र तिनका काव्यिक बिम्बहरु । यस्तैयस्तै कल्पनाबिम्बको छायाचित्रले मलाई बेलाबेला जिस्क्याइरहन्छन् । यद्यपि मानिसले सबैभन्दा बढी गर्ने काम भनेको कल्पना हो र मानिसको जीवनमा यथार्थ बनेर सबैभन्दा कम परिणत हुने पनि कल्पना नै हो । तैपनि कल्पना मानिसको सर्वाधिक प्रीय चिज बन्दै आएको छ । कल्पनाको सतहमा ओर्लिन–उत्रिनु पनि जीवनलाई खुसीका रङ्गहरुले सिगार्ने रहरको पहिलो खुट्किला हो ।
मेरो लागि समुद्रको कल्पना जति प्रिय छ, पहाडका अग्लाअग्ला टाकुरा र पाखापखेराका सम्झना पनि त्यत्तिकै प्रिय छन् । नियतिले समुद्री किनारामा डुल्दै पानी र छालतरङ्गहरुका कविता पढ्ने सौभाग्य अझैं जुराएको छैन तर पहाडी पाखापखेरा र अग्लाअग्ला टाकुराहरुको सौन्दर्यसित ठोक्किएर फर्किने साइँत पटकपटक जुर्ने गरेका छन् । २०७१ सालको अन्तिम मौसम, वसन्त आगमनको संकेत गरिसकेको छ प्रकृतिले । २०७२ सालको स्वागत गर्ने तरखरमा छ वातावरण । वसन्त ऋतु उसै पनि केही मादक हुन्छ, केही उन्मुक्त हुन्छ । एकैचोटी प्रेमिका र पत्नि बनेर मेरो जीवनमा बुनु आएको २५ वर्ष पुगेको साल भएकोले यो वर्षको वसन्त ऋतु अरु वर्षको भन्दा थुप्रै उल्लास र अनेकौं उत्साह बोकेर उदाएको छ मेरोलागि । सधैंभरी घरधन्दामा व्यस्त रहेर पत्नि र आमाको जिम्मेवारी निभाइरहेकी मेरी जीवनसहयात्री बुनुलाई मैले यो साल कतै पहाडतिर घुम्न जाने र लालीगुरासका फूलको छेऊमा उभिएर सेल्फी खिचाउने आश्वासन दिएको निकै दिन भैसकेको छ । आकाशका तारा झारेर ल्याईदिने आशा देखाएर आँगनको दुबो पनि टिपेर दिन नसकेको मजस्तो अनुत्तिर्ण प्रेमीको आश्वासनलाई विश्वासको बचनबद्धता ठानेर निकै दिनदेखि हेरिरहेका छन् उनका आँखा । यो पाली त मलाई कसै गरेर पनि बिर्सिनु छैन त्यो आश्वासन, केही गरेर पनि पुरा गर्नु छ आफ्नो बाचा । अर्को वर्षको लागि थमौतीमा राख्ने अवस्थामा छैनन् उनका उत्सुकता र रहरका संकेतहरु । बास्तबमा यो माया भन्नु पनि आशा र कल्पनाकै डोरीमा झुण्डिएको चंगा त रहेछ । एक दिन हामी कल्पनाको आकाशमा उडिरहेको त्यही चङ्गा पछ्याउँदै लाग्यौं सुर्खेततिर ।
सुर्खेत पुगेपछि देउतीबज्यै र लाटीकोइलीको दर्शन गर्न कहिल्यै छुट्दैन । काँक्रेबिहारसम्म पुग्नु र त्यो थुम्के पहाडको वरिपरि एक फन्को मार्नु पनि एउटा नियमित कार्यतालिकामा परिहाल्छ । उहिलेउहिले बुलबुले ताल नपुग्दासम्म सुर्खेतको यात्रा अधुरै लाग्थ्यो तर अचेल बुलुबले ताल हेर्नु भन्दा ‘सुर्खेत बुलबुल ताल माया मैं सानु हुनाले छुट्टयो मायाजाल’ भन्ने गीत सुन्नुमा बरु ज्यादा रमाइलो लाग्छ । सुर्खेत उपत्यकाभरी सिमेण्टका घर र पर्खाल ठडिएपछि अचेल त्यहाँ बतासको स्वच्छन्द बेगलाई स्पर्श गर्न पाइन्न । गहिरो कँुवाभित्र पुगेजस्तो उकुमुकुस हुन थाल्छ । बैसाखको महिनामा नेपालगंजलाई गर्मीले सर्लक्कै निलिसकेको छ तर सुर्खेतको मौसम भने चिसोमय नै रहेछ । सूर्यास्त भएपछि चिसो झन्झन् बढ्न थाल्यो । पातला कमिज–पाइन्ट र कुर्ता सुरुवाल बोकेर नेपालगंजबाट हिडेका हांै हामी, सुर्खेतमा पुगेपछि बाक्ला कपडा खोज्न थाल्यो शरिरले । साँझपख एकुन्टा ज्याकेट किनेर फर्किदै थियौं मंगलगढी चोकनिर दीपक आचार्य ‘जलन’ भेटिए । उनी बर्दियाका हामी नेपालगंजका, सुर्खेतमा एक्कासी टुप्लुक्क भेटिएपछि हामी एकअर्कोलाई आश्चर्यले हेर्न थाल्यौं । उनी बैदेशिक रोजगारको सिलसिला कुवेत पुगेका छन् । केही दिनको लागि उनी नेपाल आएको कुरा फेसबुकले जनाउ गरेको थियो, तर के थाह? सुर्खेतमा यसरी भेट होला भन्ने । साहित्यिक क्षेत्रमा मेरा धेरै साथीसंगी, मित्रहरु बने तर दीपक आचार्य ‘जलन’ जत्तिको मायालु र निकट अरु बन्न सकेका छैनन् भन्दा हुन्छ । मभन्दा उन्नीस वर्ष कान्छा दीपक र मेरोबीचमा एउटै आमाका सन्तानको भन्दा पनि प्रगाढ माया छ । कुनै प्रकारको बिबाद, बहस, रिसराग र तछाडमछाड नगरिकन खुरुखुरु लेखिरहने दीपक सारै नै मायालु छन् । बुनुलाई उनी भाउजु भन्छन् र बुनु पनि देवरजस्तै माया गर्छिन् उनलाई । बुनुलाई सबभन्दा मन पर्ने गजलकार पनि दीपक नै हुन् । उनी घर किन्ने सन्दर्भमा सुर्खेत आएका रहेछन् । खुसीकै कुरा हो दीपकका गजल र उनको मायालु व्यवहारको दीपक अब सुर्खेतमा पनि बल्ने भो । निकैबेर मंगलगढी चोकमा हामी गफियौं । घर किनेपछि घरपूजा गर्दा दाजुभाउजुलाई बोलाउँछु भन्दै उनी छुट्टिए । हामीहरु पनि होटेल फर्कियौं । नेपालगन्जको गर्मीलाई नसम्झिने गरी बिर्साइदियो सुर्खेतको चिसोचिसो रात र मस्त निद्राले ।
भोलिपल्ट बिहानबिहानै सुर्खेतबाट हिड्ने, बिस्तारै उकालो चढेर गुराँसे पुगेर खाना खाने योजना बन्यो । एकाबिहानै मोटरसाइकिल हुइँक्यायौं । सुर्खेत उपत्यकाको उत्तरी कुनामा पर्ने इत्रामबाट टाउको उठाएर माथितिर हेर्दा सिद्धपाइलाको डाँडोले हामीलाई जिस्क्याइरहे जस्तो लाग्यो । तलबाट आँखा तन्काएर हेर्दा त ससाना थुम्के पहाड पनि हिमालजस्तै अग्ला देखिदारहेछन् । हरिया पाखा र चट्टानले भरिएको सिद्धपाइलाको पहाड त अग्लै छ । छाती तन्काएर यसले किन नजिस्काओस् हामीलाई? हिंडेर जानु पर्ने भए त हाम्रा पनि पसीना छुट्थे होलान् । मोटरसाइकिलको यात्राले हामी केही हौसिएका छौं । इत्रामबाट साँगुरो र घुमाउरो सडकको एक फन्को मारेपछि एकैछिनमा हामी नेपाली सैनिक ब्यारेकको गेटैनिर पुग्यौँ । कपासे भन्ने यो ठाउँबाट सुर्खेत–दैलेख सडक ठाडै उकालो लाग्छ । सडक पनि के भन्नु र खै? पिंच गरिएको एउटा नागबेली धर्सो पहाडका खोंच थुम्का हुँदै जङ्गलको बीचैबीच माथिमाथि तिर तन्किरहेको छ । ठूला आकारका बस टूकहरु आए भने साइड दिन पनि गाहारो हुने यस सडकमा ड्राइभरहरु सडकभन्दा पनि चाक्ला बस निर्बाध कुँदाउछन् ।
हामी एकैछिनमा कटकुवाँ पुग्यौं । कठकुवाँ यो सडकको एउटा रमाइलो बिसौनी हो । सल्लाका सलक्क परेका रुखले कटकुवाँको पाखो भरिएको छ । यो सडक हुँदै ओहोरदोहोर गर्नेहरुको मन यहाँ नओर्लिएर, वरपर नहेरेर अगाडि बढ्नै सक्दैन । हामी पनि कठकुवाँमा नरोकिएर त्यसै अघि बढ्न कसरी सक्थ्यौं र? कठकुवाँको दक्षिणी डिलमा सेनाको ब्यारेक छ रे तर व्यारेकको गेटमात्रै देखिन्छ सडकबाट । तराईतिर सालका रुखले ढाकिएको ठाउँलाई सालघारी र बयरका घारीले भरिएको ठाउँलाई बयरघारी नाम राखिएको भेटिन्छ । बाँसघारी, काँसघारी, बेलघारीजस्ता नाम पनि यसै गरी रहेका होलान् । कठकुवाँ नाम रहनुको भने भिन्न कारण रहेछ । उहिले यहाँ काठको कुवाँ थियो रे । यो पहाडको गोडेटो बाटो भएर ओहोरदोहोर गर्ने बटुवाहरु त्यही कुवाँको पानी पिएर तिर्खा र थकाई मेटाउँथे । अचेल त्यो कुवाको अस्तित्व नरहेपनि कालान्तरमा यो ठाउँको नाम कटकुवाँ भने त्यै कुवाँका कारणले रहन गयो । अन्यत्र भैदिएको भए यो ठाउँको नाम सल्लाघारी राख्थे होलान् । सुर्खेततिर पहाडका थुम्कामाथिको फाँटलाई काँडा भनिन्छ । राम्रीकाँडा, गोठीकाँडा, पोखरीकाँडा यस्तैयस्तै थुप्रै नाम भेटिन्छन् सुर्खेततिर । सुर्खेतीहरुले पनि यो ठाउँको नाम आफ्नै शैलीमा सल्लाकाँडा या कुवाँकाँडा राख्नु पर्ने हो ! किन राखे होलान् कठकुवाँ ? यति सुन्दर सल्लाको जङ्गललाई आफ्नै नामद्वारा चर्चित हुने अवसरबाट बञ्चित पारिएजस्तो लाग्यो ।
नाम मिलेको होस् या नहोस् कठकुवाँको भौगोलिक अवस्थिति भने असाध्यै मिलेको छ । उत्तरतिर फर्किएको कठकुवाँको पाखो सलक्क परेका सल्लाका रुखहरुले ढाकिएको छ । चिरबिरचिरबिर गर्दै चराहरु जङ्गलभित्र आफ्नो खलबल बढाउन थालेका छन् । पहरा दिईरहेका सैनिकजस्तै ठिङ्ग उभिएका छन् सल्लाका रुखहरु । हरेक रुख जुम्ल्याहा दाजुभाईजस्तै एकनाश हलक्क बढेकाजस्ता देखिन्छन् । कहिल्यै झगडा नगर्ने साथीहरुको लहरजस्तो देखिन्छ सल्लाको जङ्गल । नामै त सल्लो, सल्लाह नै गरेर एकैनाशले उभिएका हुन् कि क्या हो यी रुखहरु? बुनुले कुतुहलता पोखिहालिन् । होइन, वन विभागले सबैलाई एकै किसिकले उभिने तालिम दिएको होला नि? मैले जबाफ दिएँ । पहाडी पाखाहरुको सौन्दर्यलाई आफ्नैआफ्नै मग्नताले हेरेर रमाइरहेको हाम्रो जोडीलाई एकछिन जिस्किने र हाँस्ने मौका दियो कठकुवाँले । धन्यवाद छ कठकुवाँ तँलाई !
कठकुवाँको डिलमा उभिएर निकै बेर वरिपरिका पाखा र परपरका भीरपहरापट्टि नजर दौडाईरह्यौं । पूर्वपट्टिको अग्लो पहाड पारिपट्टिबाट भरखरै उदाएका सूर्यनारायण आफ्नो प्रकाशलाई पक्षपात नगरिकन चारैतिर बराबर बाँडिरहेका छन् । सायद कसैलाई पक्षपात नगर्ने भएकोले सूर्यलाई भगवानकै दर्जा दिएर सूर्यनारायण भनियो होला । रातभरी शीतमा नुहाएर भर्खरै निद्राबाट ब्यँुझिएका पहाडका हरिया पाखाहरु सूर्यकिरणको स्पर्शले झन् मनमोहक देखिएका छन् । उत्तरतिर हे¥यो भने अर्को अग्लो पहाड देखिन्छ । अघि हामी कपासेबाट ठाडै उक्लिएर आएको पक्कीसडक त्यही पहाडको छातीमाथि फन्को मार्दै माथिमाथि गएको धर्कोजस्तो देखिन्छ । सडकमा सुस्तसुस्त ओहोरदोहोर गरिरहेका गाडीहरु टाढाबाट हेर्दा कमिलाजस्ता देखिए । हरियो पहाडमा राता–सेता कमिला दुगुरेजस्ता लाग्ने सडक पनि धर्सोजस्तो पो देखियो यहाँबाट हेर्दा ।
सडक सल्लाको जङ्गलभित्र एउटा लामो फन्को मारेर तेरपायाँतेरपायाँ माथि चढ्दै जान्छ । हामी कठकुवाँका सल्लाका रुखहरुसित आँखा जुधाउँदै अगाडि बढ्यौं । केही बेर कँुदेपछि छेडा भन्ने ठाउँ आयो । साँगुरो भन्ज्याङ्गजस्तो छेडाबाट एउटा बाटो पश्चिमतिर सुर्खेतको पुरानो सदरमुकाम गोठीकाँडापट्टि लाग्यो । हामी कुदिरहेको सडक पहाडको डिलैडिल उँभोउँभो लाग्यो । अनेकौं फन्को मारेर उकालो चढेपछि लादे भन्ने ठाउँ आयो । यहाँ नाङ्गो पाखो छ । सडक ठाडै उकालो लाग्ने भएकोले मोडहरु घुमाउरा छन् । लादेबाट झन् अगाडि बढ्दै गर्दा पहाडी ढलानका आकृतिहरु डरलाग्दा देखिन थाले । सेतोसेता कालाकाला अजङ्गका ढुंगाहरुले पहाडी पाखो भरिएको छ । सडकबाट तल गहिरोमा हेर्दा सुर्खेत उपत्यका कुवाँजस्तो गहिरो पो देखियो । कठकुवाँको थुम्को त सम्म परेको फाँटजस्तो लाग्यो । मैदानको दाँजोमा अग्ला देखिने पहाड पनि आफूभन्दा अग्ला पहाडको सामन्ने त फाँटजस्ता होंचा देखिदा रहेछन् । सडक बनाउँदा भिरालो पहाड ताछिएकोले यो सडकको माथिपट्टि अडिएका ढङ्गाहरु पट्टि आँखा लगायो भने ती गुडेर आई आफ्नै टाउकोमाथि खस्छन् कि? जस्तो लागिरह्यो । ठाडो पहाडको भीरैभीर करिब तीन किलोमिटर जति अजङ्गका चट्टान र ढुङ्गे पहराहरु पार गरिरहँदा आङ जिरिङ्ग जिरिङ्ग हुन लाग्यो । रिङ्गटा लागेजस्तो भएपछि बुनुले आँखा चिम्लिन् । मैले पनि दायाँतिर नहेरी बिस्तारै मोटरसाइकिल चलाईरहेँ । अहिले त जसोतसो चढेर आइयो भरे फर्किदा कसरी ओर्लिने होला यो पहाड? आँखा चिम्लिएकी बुनुको मुखबाट मनको डर प्रकट भयो । पिर नगर्नु ओर्लिदा यस्तो गाहारो हुन्न उक्लिदाजस्तो । म पनि भित्रभित्र डराइरहेको भएपनि उनको अगाडि त मैले आफ्नो बहादुरी देखाउनै प¥यो । तर पहाड त उक्लिनु भन्दा ओर्लिदा नै गाहारो हुन्छ रे ।
कुनै युगमा सिद्धि प्राप्त गरेका कुनै तपस्वीले यही निर्जन पाखोमा आएर तपस्या गरेका थिए रे । उनको बास्तबिक नाम कसैलाई थाह छैन । उनलाई वरपरका मानिसहरु सिद्धबाबा भनेर पुकार्थे रे । यो निर्जन र विकट पाखोमा आएर तपस्या गरेका उनै सिद्धबाबाले पाइला टेकेको ठाउँ भएकोले यो ठाउँको नामै सिद्धपाइला रहन गयो । नेपालमा हरेकजसो ठाउँको नामाकरण हुने कथा प्रायः यस्तैयस्तै हुने गर्छन् । सिद्धपाइलाको कुइनेटो काटेर पल्लो पाखोमा पुगेपछि बल्ल मन ढुक्क भएर आयो । यतापट्टिको पाखो भने उतापट्टिको जस्तो डरलाग्दो रहेनछ । हरियाली भरिएको यो पाखो ओसिलो रहेछ । दक्षिणपट्टिको पाखोमा देखिनेजस्ता काला चट्टानहरु उतिसारो छैनन् यतापट्टि । सेतो रङ्गका ससाना ढुङ्गाको साम्राज्य छ चारैतिर । बाटो वरपर भित्तामा, पाखामा पातलापातला लालीगुराँसका रुख देखिन थाले । राताराता फूल फुलेका रुखका लश्करले सडक वरपरका कान्ला, थुम्का र पाखाहरु शोभायमान छन् । ठूलाठूला अग्लाअग्ला गुरासका रुखहरु खोल्सा, भिरालो ठाउँ र ढुङ्गेलो पाखोमा मात्रै उभिएका छन् । त्यहाँ पुगेर चिल्लो लेउ लागेको गुरासको रुखमा चढ्ने कला पनि मसित छैन । यी लालीगुरासका रुखहरु पनि कस्तो अफ्ठ्यारो ठाउँमा उम्रिएका हुन् ? सायद असजिलो ठाउँमा हुर्केर वसन्त ऋतुमा मात्र फुल्ने भएकोले यसको यति महत्व बढेको हुनुपर्छ । बाइक रोक्दै, फोटो खिच्दै हामी अघि बढिरह्यौं ।
बाटोमा रातानाङ्ला भन्ने ठाउँ आइपुग्यो । उहिलेउहिले राता रङ्गका नाङ्ला बनाएर बेच्ने ठाउँ भएकोले यसको नाउँ रातानाङ्ला रहेको हो रे तर अचेल त नाङ्ला कतै बेचेको देखिदैनन् । बरु वरिपरि लालीगुरासका फूलले राताम्य भएको जङ्गलले घेरिएर, बीचैमा टक्क अडिएर मुस्कुराइरहेको देखियो रातानाङ्ला । पहाडको डिलमा, सडकको छेउमा रहेको एकधर्के रातानाङ्ला बजारको मुख्य व्यवसाय होटेल संचालन हो । यहाँको चहलपहल बस–ट्रकका यात्रुमाथि निर्भर छ । यहाँबाट एउटा कच्ची सडक दायापट्टि गोगनपानीतर्फ गयो । हामी सिधै अघि बढ्यौं । जति अगाडि बढ्दै गयो उतिउति लालीगुरास फुलेर राताम्य भएका रुखहरु देखिन थाले । जुन रुख हे¥यो त्यही रुखमा चढेर फूल टिपिदिउँझैं गर्न थालिन् बुनु । लालीगुरासका फूल टिप्न भने सजिलो रहेनछ । बाइकबाट ओर्लिएर रुखसम्म पुग्न त के, सडकबाट रुखका हाँगा छुन पनि संभव भएन । यस्तो असजिलो ठाउँमा के खाएर यति हलक्क बढेका होलान् यी रुखहरु? लालीगुरासका फूल हेर्दै र ती फूल टिप्न नसकेर चुक्चुकिएको मन बोक्दै हामी रानीमत्ता पुग्यौं ।
रानीमत्ताको थुम्को बाक्लो हुस्सुभित्र लुकेको छ । सिरसिर चिसो बतास चलिरहेको छ । वरपर केही नदेखिए पनि बाटो छेवैमा एउटा अग्लो लालीगुरासको रुख देखियो । धन्न यो रुख भने सजिलो ठाउँमा उम्रिएको रहेछ तर सजिलो ठाउँमा भएर होला रुखका फूल रित्तिनै लागेका रहेछन् । रानीमत्तामा एक जना बाख्रा चराउन आएका वृद्ध भेटिए । म उनीसित गफ गर्न थालें । यसको नामाकरणको रमाइलो कथा पनि ती वृद्धले सुनाए । कुनै समय यही बाटो भएर एउटी रानी माइत जाँदै थिइन् रे । डोला चढेर जाँदै गरेकी रानीलाई यो ठाउँमा पुगेपछि यहाँको मनमोहक सुरम्य वातावरणले लोभ्याए छ । उनी डोलाबाट ओर्लिएर यहाँका पाखापखेरा हेर्न थालिन् । उनको यौवनमा उन्माद चढ्न थाल्यो । उनले आफ्नो हृदयलाई नियन्त्रण गर्न सकिनन् । आफूलाई बोकेर ल्याउने डोलेसंग उनले प्रणय निवेदन गरिन् । डोलेले रानीको प्रणयप्रस्ताब स्वीकारेपछि उनीहरुको पृथक मन युगल बन्यो । उनीहरुको गन्तव्य बदलियो । त्यसपछि उनीहरु कता गए त्यो अज्ञात रहे पनि वरपरका गाउँलेहरुले यस ठाउँको नाम राखिदिए रानीमत्ता, अर्थात रानी मात्तिएको ठाउँ ।
रानी र डोलेको प्रणयकथा सुनेर एकछिन त मलाई पनि मात्तिउँमात्तिउँ लाग्यो । बुनुतिर हेरेँ– उनी लालीगुरासका बोटतिरै आँखा लगाइरहेकी छन् । हुस्सु लागेर आकाश धमिलिएको छ तर उदासउदास आँखा लिएर बुनुको मन लालीगुरासकै बोटतिर सल्बलाइरहेको छ । आफ्नै हातले फूल टिपेर कपालमा सिउरिन पाएको भए कति खुसी हुँदि हुन् बुनु ! लालीगुरासका फूलप्रतिको उनको उत्सुकता र जिज्ञासालाई हेर्दा मैले कवि क्षेत्रप्रताप अधिकारीलाई सम्झिएँ । सायद यसैगरी लालीगुरासको मोहकताबाट लट्ठिए पछि कविलाई लालीगुरासकै गीत लेख्ने भाव जागृत भयो होलाः
म त लालीगुरास भएछु
वनैभरी फुलिदिन्छु
मनैभरी फुलिदिन्छ
बिस्तारै रानीमत्ताको पाखोमा फैलिएको हुस्सु फाट्न लाग्यो । आकाश खुलेपछि चम्किला सूर्य आँखैमा ठोक्किन आइपुगे । कतिखेर छ्याङ्ग खुल्ने र कतिखेर हुस्सुले छोपिने रानीमत्ताको मौसम निकै चञ्चले रहेछ । अनि किन नहोस् मान्छेको मन पनि चञ्चल ! बाटोमा स्कुल गैरहेका विद्यार्थीहरु भेटिए । उनीहरुलाई मैले हाम्रो युगल तस्वीर खिंचिदिन आग्रह गरेँ । एकजनाले खिंचिदिए । बुनुको रहर त फोटो खिच्नु भन्दा पनि लालीगुरासको फूल टिपेर सुम्सुम्याउने हो । उनले आग्रह गरेपछि एक जना विद्यार्थीले रुखमा गएर लालीगुरासका फूल टिपी बुनुको हातमा राखी दिए । त्यस्तो अग्लो रुखमा पनि ती साना विद्यार्थी कतै सजिलै चढे, कतै सजिलै फूल टिपेर झरे, हामी विष्मयले उनलाई हेरिरह्यौं । लालीगुरासको फूल सुम्सुम्याउन पाएपछि बुनुको मनको उदासी हटेर गयो । मैले विद्यार्थीको हातमा केही रुपियाँ राखेर आभार प्रकट गर्न खोजें । उनले लिन मानेनन् । बिस्कुट र चाउचाउ दिएपछि बल्ल स्विकारे र हाँस्दै छुट्टिए ।
हामीलाई यहाँ धेरै अलमलिनु छैन । हाम्रो गन्तव्य त लालिगुरासको राजधानी भनिने गुरासे हो । अघि आएको उही सडक हामीसितै पहाडको माथिमाथि कहिले दायाँ कहिले बायाँ फन्को मार्दै कुँदिरह्यो । हुत्तिदै, हुत्तिदै हामी गुराँसे लखेको साइनबोर्ड भएको ठाउँनिर आइपुग्यौं । दश बारह ओटा ससाना पसल र होटेल भएको गुरासे कतैबाट पनि लालीगुरासको राजधानीजस्तो लागेन । बास्तबमा रानीमत्तादेखि घोडाबाससम्मको करिब पाँच किलोमिटर लामो सडक आसपासको बाक्लो लालीगुरासको जङ्गललाई नै गुरासे भनिदोरहेछ । गुरासे पुगेर स्थानिय उत्पादन नै खाने रहर हो हाम्रो तर होटलसाहुले आलु र दही बाहेक सबै कुरा तल सुर्खेतैबाटै आउँछ भनेपछि हामी निराश भयौं ।
गुरासेमा खाना खाएपछि थकाई र भोक त मेटियो तर हृदयभित्रको तृष्णा भने मेटिएको छैन । हुन त रानीमत्ता, गुरासे र घोडाबासको सेरोफेरोमा हेर्नै पर्ने त्यस्ता अरु चिज केही छैनन् । यिनै भूबवोटका विविध आकृति र यिनै लालीगुरासका रुखमै अडिएको छ यी पहाडको सुन्दरता र अस्तित्व । यही सुन्दरताको रसपान गर्न टाढाटाढाबाट मानिसहरुको लर्को आइपुग्छ यहाँसम्म । गुरासेको थुम्कोबाट वरपर दृष्टि दौडाउँदा हरिया पहाडका लहरहरु छ्याङ्ग खुलेको आकाशसित वार्ता गरिरहेजस्तो भान प¥यो । कुनै ऋषि ध्यानस्थ मुद्रामा बसेझैं मौन छन् पहाडहरु तर पहाडका दृश्य भने सजिव छन् वाचाल छन् । मौनताभित्रको प्राकृतिक संवाद र संवादभित्रको मौनता नै यहाँको मानविय जीवनको शक्ति हो । जता नजर पुग्छ उतै राताम्य पाखाहरुमात्रै देखिन्छन् । प्रकृतिले सारा रातो रङ्ग यिनै पहाडका पाखाभरी छर्किदियो कि क्या हो? यही रङ्गीन आलोकदेखि मोहित भएका छौं हामी । कुनै तर्क छैनन् हामीसित । शंका, आशंका र भ्रम पनि पराजित भएका छन् यहाँ प्रकृतिको अगाडि । न मनमा केही प्रश्न छन् न केही अपेक्षा र आग्रह । कठै ! सधैंभरी यी पहाड र यी लालीगुरासका बोटजस्तै नैसर्गिक हुन पाएको भए जीवन कति विकारबिहिन र कल्मषरहित हुन्थ्यो होला ! यस्तैयस्तै भावहरु मनभरि उर्लिन थाले । विषयाशक्ति र जीवनका उत्कण्ठाहरुले घेरिएर उम्किन नसकेपछि सम्यक संन्यासको खोजीमा भौतिरिदै मानिसहरु यी पहाडी पाखाकै शरण पुग्छन् उहिल्यैदेखि । यी पहाड र यहाँको प्राञ्जल परिवेशको महत्व झन्झन् बढ्दैछन् । आजभोलि शान्ति र रम्यताको तृष्णा मेटाउने स्थल बनेका छन् यी पहाड र यी फूलहरु ।
बुनुको उल्लास र उत्साहित हेराई जारी छ । कुनै रुखको हाँगामा चराले चिरबीर गरेको आवाज सुने पनि बुनु आनन्दले उफ्रिन थालि हाल्छिन् । कुनै रुखमा लालीगुरासका झुप्पा देख्यो कि उफ्रेर टिप्न खोजि
हाल्छिन् । ऐसेलुका बोट देख्नै हुन्न टिप्न खोजी हाल्छिन् । पोल्टाभरी लालीगुरासका फूलहरु च्यापेर उनी कहिले ढुङ्गामाथि उभिन पुग्छिन् कहिले भिरालो पाखोमा दौडिन खोज्छिन् । सक्ने भए त उनी चरीजस्तै उडेर रुखका हाँगाहाँगामा बसेर फिरफिर गर्थिन् होलान् । उनका आँखामा पच्चिस वर्ष पुरानो उमङ्ग फर्केर आएजस्तो लाग्यो । म आश्चर्य मानेर उनलाई हेर्दै छु । कहाँ हराएको रहेछ यतिका वर्षसम्म उनको यो चञ्चलता ? पच्चिस वर्ष अगाडि रौतहटको नुनथरमा बागमती नदीका जलतरङ्गहरु छुन पाउँदा उनलाई यस्तै चञ्चल र रहरिलो मुद्रामा देखेको थिएँ । बितेका पुराना दृश्यहरु सजिव भएर आज फेरि फर्किएर आएका छन् । लालीगुरासका फूलहरुले उनको अनुहारमा छर्किदिएको उमङ्गको रङ्ग उबेलाको भन्दा गाढा देखें मैले ।
हामी दिनभरी हरायौं गुरासेको पाखोमा । हिड्दाहिड्दा खुट्टा थाके तर अहँ मन थाकेको छैन । यी पहाडी थुम्का, यी हरिया रुख र यी राता फूलहरुले अचम्मैसित मोहनी लगाए । जति हिंडे पनि नसकिने रहेछ उत्सुकताको बाटो हिडेर । जति कुदे पनि नसकिने रहेछ तिर्सनाको क्षितिजलाई छुनँ । वल्लो पाखामा पुग्यो, पल्लो पखेराले बोलाएजस्तो गर्छ । एउटा रुखको फेदमा उभियो, अर्को रुखले गुनासो गरेजस्तो गर्छ । उमङ्गको फूल कहिल्यै ओइलाउँदो रहेनछ । कुतुहलताको प्यास कहिल्यै मेटाउँदो रहेनछ । एक रात गुरासे या रानीमत्तामा बिताउने योजना थियो हाम्रो तर यहाँ खाने सुबिधा भए पनि बस्ने सुबिधा रहेनछन् । यहाँको झझल्को अस्थायी नै रहने भयो । घडीको टिक्टिक् निरन्तर चलिरहेको छ । घडीलाई रोक्न हामी सक्दैनौं न त दिनको गतिलाई एकछिन रोकेर समयको सीमालाई तन्काउन नै सक्छौं । बिहान उक्लेर आएको अग्लो पहाड ओर्लनु छ हामीलाई । बीस किलोमिटर लामो नागबेली सडकका सयौं घुम्ती र मोडहरु पार गरेर झर्नु छ सुर्खेत । गुरासेका पाखाहरुसित बिदा माग्न निकै गाहारो भए पनि आखिर छुट्टिनै प¥यो । प्रकृतिका सबै सुन्दरताहरुको रसपान गर्न नभ्याएर अतृप्तै रहेको मन बोकेर हामी उही बाटो फर्किन लाग्यौं । रातानाङ्लाको ओसिलो पाखो नकाट्दासम्म लालीगुरासका उनै रहरिला रुख र गुरासका उनै मायालु फूलहरुले हामीलाई पछ्याइरहे । सिद्धपाइलाको कुइनेटो काटेर भगवती मन्दिरको संघारमा एकछिन उभिएर ढोग्यौं र धन्यबाद दियौं आजको सिंगो दिन लालीगुराससित जिस्किएर बिताउने सौभाग्य जुराईदिएकोमा । तल सुर्खेत उपत्यकातिर आँखा लगाउँदा उस्ताउनै लागेका घामका स्वर्णिम किरण पहाडी पाखाभरी फैलिएका देखिए । सूर्यकिरणको बदलिंदो रङ्गले हाम्रो हिंडाईको गतिलाई बढाउनु पर्ने संकेत दियो । रानीमत्तामा विद्यार्थीले टिपिदिएका लालीगुरासका थुङ्गा अझैंसम्म बुनुको हातमैं सुरक्षित छन् । ओइलिएका छैनन् अझैं फूल । कुतुहलताका कोपिलाहरुजस्तै उसैगरी मुस्कुराइरहेकै छन्, जसरी अघि गुरासको बोटमा झुलिरहँदा मुस्कुराउँदै थिए । लादेको भिरालो बाटो ओर्लिदै गर्दा हरिभक्त कटुवालको गीत फेरि अनुगुञ्ज हुन लाग्यो हृदयभित्र । बुनु हाँस्न थालिन् । म गाउन थाले आफैलाई नारायण गोपाल ठानेर ः
पोखिएर घामको झुल्का भरी सङ्घारमा
तिम्रो जिन्दगीको ढोका खोलुँ खोलुँ लाग्छ है
सयपत्री फूलसितै फक्री आँगनमा
बतासको भाखा टिपी बोलुँ बोलुँ लाग्छ है