रुपईडिहामा लागुऔषध ब्यापार गर्दै आएका केहि मेडिकल विरुद्ध प्रहरीले कारवाही चलाएको छ ।
सिमावर्तीमा प्रतिबन्धित र नशालु औषधी (लागुऔषध) ब्यवसाय गर्दै आएका मेडिकलमा बाहराईच जिल्लाका एसपीको कमाण्डामा खटिएको टोली ठूलो परिमाणमा औषधी र लागुऔषध बरामद गरेको छ ।
बहराईच जिल्लाका एसपी जुगुल किशोरको नेतृत्वमा आएको टिमले रुपईडिहामा संचालित मेडिकलमा शनिवार राति छापा मारेको हो । रुपईडिहा प्रहरीका अनुसार सिमावर्ती क्षेत्रमा अवैध औषधी र नशालु पदार्थको ब्यवसाय हुँदै आएको सूचनाको आधारमा कारवाही गर्दा आधा दर्जन भन्दा बढि मेडिकलहरुबाट प्रतिबन्धित औषधी बरामद भएको हो ।
‘स्थानीय ड्रग इंस्पेक्टरको मिलोमतोमा औषधीको कारोबार भइरहेको सूचना पाएपछि एसपी आफै कारवाहीमा उत्रिएका हुन्’, दैनिक नेपालगन्ज संग रुपईडिहा थाना श्रोतले भन्यो, ‘५० भन्दा बढि मेडिकलहरु अवैध तरिकाले संचालित छन् ।’
कारवाही पछि मीडिया संग एसपी जुगुल किशोरले भने, ‘लामो समय देखि रुपईडिहामा लागुऔषध र सो संग सम्बन्धित सूचना प्राप्त भइरहेको थियो ।’ उनले अवैध मेडिकल स्टोरलाई कानूनी कारवाही अघि बढाइने बताए ।
प्रहरीले मेडिकल स्टोरबाट ठूलो परिमाणमा लागुऔषध र नशालु औषधी बरामद गरी नार्कोटिक विभागमा पठाएको जनाएको छ । पक्राउ परेका मेडिकल संचालकहरु उपर मुद्दाको तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
नेपाली प्रहरीले सिमावर्ती क्षेत्रमा लागुऔषध अक्रान्त रहेको गुनासो गरिरहेका बेला भारतीय प्रहरीले मेडिकलमा छापा मारेको हो । नेपालगन्ज, कोहलपुर, खजुरा लगायत क्षेत्रबाट युवाहरु भारतीय क्षेत्रमा गएर लागुऔषध सेवन गरी फर्कने गरेको प्रहरी ठम्याई छ ।
नेपाली क्षेत्रमा प्रतिबन्धित मानिएको कोरेक्स, ग्लाइकोडिन, नशालु ट्याबलेट, लगायत बिक्री हुने गरेको सूचना
पछि भारतीय प्रहरी कारवाही चलाएको जनाएको छ । कारवाही लाखौंको प्रतिबन्धित औषधी र लागुऔषध बरामद भएको हो ।
बाँके प्रहरीले जिल्ला भित्र सबै प्रहरी युनिटबाट लागुऔषध विरुद्ध काम गर्न सक्रिया अघि सार्दै लगेको छ ।
विशेष तालिम पछि ४० बढि सुरक्षा अधिकारीहरु लागुऔषध विरुद्ध अभियान थाल्ने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।