सिराज खान
नेपालगन्ज, पुस १२ गते । बालबालिकाका लागि १० प्रतिशतदेखि १५ प्रतिशतसम्म अनिवार्य रुपमा बजेट विनियोजन गर्नुपर्ने कानुनी प्रावधान भएपनि बाँकेका स्थानीय तहमा ५ देखि ८ प्रतिशतसम्म मात्र बजेट विनियोजन गरिएको पाईएको छ ।
विगतको स्थानीय निकाय र हालको स्थानीय तहले आफ्नो पूजिंगत बजेट मध्ये १० देखि १५ प्रतिशतसम्म बालबालिकाका लागि विनियोजन गर्नै पर्ने बाध्यात्मक कानुनी ब्यबस्था रहेको भएपनि जिल्लामा ५ देखि ८ प्रतिशतसम्म मात्र बजेट विनियोजन गरिएको पाईएको एक अध्ययनले जनाएको छ । सेभ द चिल्ड्रेनले तयार पारेको ‘बाँके जिल्लाको स्थानीय निकायको बजेटमा ः बालबालिका’ शिर्षकको अध्ययन प्रतिवेदनमा आर्थिक बर्ष २०७२–०७३ मा कुल पूंजिगत बजेटको ८ प्रतिशत र २०७३–०७४ को बजेटमा ५ प्रतिशत मात्र बालबालिकाका लागि विनियोजन गरिएको जनाईएको छ ।
नेपालगन्जमा आयोजित एक कार्यक्रममा सो अध्ययन प्रतिवेदनलाई सार्वजनिक गर्दै सेभ द चिल्ड्रेनका कार्यक्रम अधिकृत बिरेन्द्र कुमार थापाले निर्धारित रकम भन्दा कम गरी विनियोजित गरिएको बजेट समेतलाई पुरा खर्च नगरिएको पाईएको बताउनु भयो ।
सो प्रतिवेदन जिल्लाका गाउँपालिका, नगरपालिका तथा उपमहानगरपालिकाका जनप्रतिनिधी र अन्य विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितिमा सार्वजनिक गरिएको हो । आर्थिक बर्ष २०७२–०७३ मा बालबालिकाका लागि विनियोजित गरिएको १ करोड ९७ लाख रुपैयाँ मध्ये ३५ प्रतिशत रकम खर्च नगरिएको पाईएको तथा आर्थिक बर्ष २०७३–०७४ मा विनियोजित गरिएको ३ करोड ६९ लाख बजेट मध्ये ५ प्रतिशत रकम खर्च नगरिएको पाईएको प्रतिवेदनमा उल्लेख गरिएको अधिकृत थापाले बताउनु भयो ।
बालबालिकाका लागि छुट्याईएको बजेटहरु उनिहरुको क्षमता विकास तथा बालमैत्री क्रियाक्लापहरुमा खर्च गरिनु पर्नेमा बिद्यालयको पर्खाल निर्माण, धारा निर्माण, सडक निर्माण जस्ता अन्य बिभिन्न शिर्षकमा खर्च गरिएको पाईएको समेत प्रतिवेदनमा जनाईएको छ । सो प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तवले आजका बालबालिका भोलिका नेतृत्वकर्ता र भविष्यकर्ता भएको जनाउँदै उनिहरुका लागि कम्तीमा पनि २५ प्रतिशत बजेट विनियोजन गर्नु पर्ने कानुनी ब्यबस्था गरिनु पर्ने बताउनु भयो ।
उहाँले स्थानीय तहले कम्तीमा हाल भएको कानुनी ब्यबस्थालाई अवलम्बन गर्दै तोकिएको प्रतिशत बमोजिम नै बजेट विनियोजन गर्नु पर्ने र उनिहरुको क्षमता विकास तथा बालमैत्री शासनका लागि खर्च गर्नु पर्नेमा जोड दिनु भयो ।
सो अवसरमा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले हालसम्म जे जस्तो भएपनि अबदेखि बालबालिकाका लागि तोकिएको प्रतिशत भन्दा बढी बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाउनु भयो । राप्ती–सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बालबालिकाका लागि तोकिएको भन्दा बढी रकम विनियोजन गर्ने जनाउँदै यस्तो कार्यक्रम बजेट बनाउनु पूर्वनै गर्नु पर्ने सुझाव दिनु भयो ।
यस्तै सो अवसरमा महिला तथा बालबालिका कार्यालय बाँकेका प्रमुख शोभा शाह र गैर सरकारी संस्था समन्वय समिति बाँकेका अध्यक्ष सपना भट्टराइले बालबालिकाका लागि अझै बजेट बढाउनु पर्ने र उनिहरुको क्षमता विकासमा खर्च गरिनु पर्नेमा जोड दिनु भयो । सो अवसरमा डुडुवा गाउँपािलकाका उपाध्यक्ष शाहिदा बानो, राप्ती–सोनारी गाउँपालिकाका उपाध्यक्ष धन कुमारी खत्री, नेपालगन्ज वडा नम्बर १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदी लगायतले पनि बालबालिकाका लागि तोकिएको बजेट अबदेखि सोही अनुसार विनियोजन गर्ने र बिनियोजन गरेको बजेट सोही उदेश्यमा खर्च गर्ने प्रतिवद्धता जनाउनु भयो ।
बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान, महासचिव मिना तुलाधर र कार्यक्रम संयोजक आशिष बर्मा तथा कार्यक्रम अधिकृत राम श्रेष्ठको पनि सो अवसरमा उपस्थिति रहेको थियो । र्काक्रममा जिल्लाका बिभिन्न अन्य सरोकारवाला निकाय र संघसंस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।