धर्म के हो ? पुन्य कमाउन के गर्ने ? असहाय तथा अशक्त जेष्ठ नागरिकहरुको सेवामा समर्पित, निल सागर असहाय, अशक्त तथा जेष्ठ नागरिक केन्द्रका सञ्चालक सरीता खनाल, नारायण सुवेदी (अमन) लगायतलाई सोध्यो भने पक्कै जवाफ आउँछ, मानवीय सेवानै धर्म हो ।
हो, उनीहरु पुसको यो जाडोमा कम्कमाइरहेका असहायहरुका लागि स्थायी वासस्थानको अभियानमा लागेका छन् । निल सागर असहाय, अशक्त तथा जेष्ठ नागरिक केन्द्रले शिव पार्वती निवास भन्दै कैलाश भवन नामाकरण गरिएको काल्पनिक भवनलाई साकार रुप दिन श्रीमद् भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरेको हो ।
भाडाको घरमा लामो समयदेखि सञ्चालन संकट व्यहोरिरहेको निल सागर असहाय, अशक्त तथा जेष्ठ नागरिक केन्द्रले स्थायी रुपमा अशक्तहरुको लागि स्थायी बासस्थान निर्माणका लागि सहयोग जुट्ने विश्वासका साथ महायज्ञ आयोजना गरेको महायज्ञ मूल समारोह समिति सयोजक अमनले जानकारी दिए । तीन दिनसम्म अपेक्षित उत्साह देखिएन, वागेश्वरी मन्दिर परिसरमा आयोजित महायज्ञमा दैनिक नेपालगन्ज प्रतिनिधि पुग्दा भक्तजनको उत्साहजनक उपस्थितिबीच अमनले भने, दाताहरुसम्म हामी पुग्न सकेनौं कि हामीले हाम्रो आयोजनाको पावन उद्देश्य पुर्याउन
सकेनौं ।
महायज्ञको आयोजना भने हिन्दु जागरण नेपालले गरिदिएको हो । त्यसका लागि लोकप्रीय कलाकारहरु भजनकिर्तन देखि साँगीतिक र कलात्मक धार्मिक नाटक प्रस्तुत गरिरहेका छन् । कथाव्यास पण्डित कोमल उपाध्यायबाट नियमित प्रवचन र कथावाचन पनि भइरहेको छ । तुलादान देखि धान्यचल पनि राखिएको छ । झण्डै ७ लाख त खर्चनै भएको छ, आयोजनाबारे हिन्दु जागरण नेपालका संगठन विभाग प्रमुख, घनश्याम प्रेमीले दैनिक नेपालगन्ज सँग भने, सबै खर्च कटाएर बचेको रकमबाट आश्रम बनोस् भन्ने चाहना हो । उनले आयोजनाको चौथो दिनसम्मको दानबाट अपेक्षित उत्साह भने प्राप्त नभएको बताए ।
हामी आफै त यत्रो आयोजना कसरी गर्न सक्नु ? लक्ष्य प्राप्तीमा आयोजना सफल हुनेमा चिन्ता व्यक्त गर्दै अमनले भने, यसरी पनि सकिएन भने आश्रित बुवाआमालाई प्रमुख जिल्ला अधिकारीका जिम्मा लगाएर आश्रम बन्द गर्नुको विकल्प रहँदैन । हुन पनि असहाय र अशक्त देखि परिवारबाटै अपहेलित जेष्ठ नागरिकको संरक्षण कस्ले गर्ने ? पक्कै राज्यले गर्नुपर्छ, त्यसमा पनि सरकारले ।
वास्तवमा व्यक्तिगत समभावना र संवेदनाबाट कति समम चल्ला ? निल सागर असहाय, अशक्त तथा जेष्ठ नागरिक केन्द्रका अध्यक्ष सरीता खनाललाई यो प्रश्नले झस्काउँछ । अमन भन्छन्, मैले व्यक्तिगत रुपमा ४ लाख ९९ हजार बढी रकम खर्च गरिसकेकोछु कति सकुँला ? अध्यक्ष खनालले ६ लाख बढी रकम व्यक्तिगत रुपमा खर्च गरिसकेको उनले बताए । राज्यबाट खासै सहयोग नपाएको निल सागर असहाय, अशक्त तथा जेष्ठ नागरिक केन्द्रलाई तत्कालिन सांसद दलबहादुर सुनारले एक लाख रुपिया आफ्नो कोषबाट दिएको रकमनै ठुलो सहयोग हो ।
२०७३ बैशाख १५ गतेदेखि औपचारिक रुपमा निल सागर असहाय, अशक्त तथा जेष्ठ नागरिक केन्द्रले आश्रम सञ्चालनमा ल्याएको हो । हाल १० आमा सहित २२ असहाय तथा अशक्त जेष्ठ नागरिक आश्रित आश्रम सञ्चालनका लागि मात्र मासिक १ लाख ३० लाख रुपिया आवश्यक छ । सडकमा बेसाहार जेष्ठ नागरिक देख्यो कि आश्रम पुर्याउने सरीता र अमनहरुले यसबीच एक जना दाताले दिएको जग्गामा स्थायी आश्रम बनाउने लक्ष्य लिएका हुन् । त्यसैका लागि पौष ४ देखि ११ गते सम्म महायज्ञ आयोजना गरिएको हो । जो कसैले पनि दान सहयोग गर्न सक्नुहुन्छ, अमनले धार्मिक देखि मानवीय सबै उपाय अपनाएको जानकारी दिंदै भने, यथाशक्ति दान गरौं, पुन्य आर्जन गरौं ।