ब्राउन सुगर लागुऔषधबाट बेहाल रहेको बाँके र बर्दिया जिल्लामा प्रहरीले विशेष अभियान चलाउने तयारी गरेको छ ।
दुबै जिल्लाका प्रहरी युनिट इन्चार्ज र अनुसन्धान अधिकारीहरु लाई बुधवार विशेष प्रकारको तालिम दिई लागुऔषध विरुद्ध काम गर्ने तयारी अघि बढेको हो । संघीय प्रहरी ईकाइ कार्यालय नेपालगन्जमा आयोजना भएको प्रशिक्षणमा बाँके र बर्दिया जिल्लाबाट प्रहरी अधिकारीहरु सहभागी थिए ।
सिमावर्ती क्षेत्र रुपईडिहा र बर्दियाको सिमावर्ती क्षेत्र कतर्निया लगाय स्थानबाट लागुऔषध नेपाल तर्फ ओसार पसार भइरहेको विषयलाई टार्गेट गरेर निस्तेज पार्ने प्रहरी तयारी अघि बढेको बुझिएको छ । ‘जिल्लामा युवाहरु कुलत तर्फ फस्दै गएको विषयलाई गम्भिरताका साथ लिँदै अभियानकै रुपमा सिदा (सीआइडीए, क्लिनिंग इलिगल ड्रग एब्युज) अप्रेशन लाई अघि सारिएको छ’, दैनिक नेपालगन्ज संग कुरा गर्दै बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामांगले भने, ‘यसमा पर्याप्त रुपमा काम गर्ने अवस्था हुनेछ ।’
यस क्षेत्रमा काम गर्नका लागि दुबै जिल्लाका ४० बढि प्रहरी अधिकारीहरुलाई विशेष प्रकारको प्रशिक्षण दिइएको छ । बाँकेमा चातर्फी रुपमा ब्याप्त रहेको मृत्युको ब्यापार, लागुऔषधलाई जरोबाटै मेटाउने हिसाबले प्रहरी अघि सरेको बताइएको छ । रुपईडिहामा गएर सेवन गर्ने, लुकाएर ल्याउने, ओसार पसार गर्ने, गर्न मदत गर्ने, कुलतमा फसाउने समेतलाई प्रहरीले गैरकानूनी रुपमा चिन्हित गर्दै विशेष अप्रेशनको तयारी थालेको हो । ‘यसमा दुबै प्रकारको क्रियाकलाप हुन्छ’, एसपी तामांगले भने, ‘हामी सचेतनाको पार्टमा पनि काम गर्छौं ।’
‘कारवाही हुने विषयमा त कुनै शंका नै छैन’, प्रहरी प्रमुख तामांगले भने, ‘यद्यपि कारवाही सबै स्थानमा प्रभावकारी हुँदैन ।’ अप्रेशन संगै सचेतना, सामाजिक सहयोग, नागरिक समन्वय लगायत क्रियाकलापहरु पनि अभियान भित्रै छन् ।
अपराध मुक्त समाज र सुशासनका लागि यो अभियान प्रभावकारी हुने प्रहरीहरुको बुझाई छ । यसमा लागुऔषध विरुद्ध काम गर्ने जनशक्ति बृद्धि भएको छ, एसपी तामांगले भने, जनशक्ति बढेपछि काम स्वतः बढि हुन्छ ।
बाँकेमा लागुऔषध ब्राउन सुगरको अखाडाको रुपमा बदनाम रहेको जयसपुर अचेल सुधारतिर अग्रसर छ । प्रहरी अधिकारीहरु भन्छन्, ‘अहिले कारोबार नानपाराबाट सिधै नेपालगन्जमा हुन्छ ।’
नेपालगन्जमा पुगेको ब्राउनसुगर काठमाडौ सम्मै जाने गरेको एक दशक अघि प्रहरीले चलाएको अप्रेशन जुलियटबाट नै सो तथ्य पुष्टि भएको थियो । ‘पक्राउ भएको सेवनकर्ता र ओसार पसार गर्नेहरु एउटै ब्यक्तिको नाम लिन्छन्’, एक अनुसन्धान अघिकृतले भने, ‘पहिलाको जयसपुरको ब्यक्ति हो, अहिले नानपारामा बसेर नेपालमा लागुऔषध कारोबार चलाउँछ ।’
भारतमा २५ ग्राम सम्म लागुऔषध माथि मुद्दा नचल्ने भएकोले नेपाली क्षेत्रमा चुनौतीको विषय बनेको अधिकारीहरुको भनाई छ । ‘असमान कानूनले सिमाना क्षेत्रमा समस्या नै उत्पन्न गरेको छ’, अधिकारीले भने, ‘लागुऔषध सेवनकर्ता बाँकेमा बढि छन् ।’यसअघि प्रदेश प्रहरी प्रमुखले अघि सार्ने जानकारी दिएको अभियानका लागि तालिम पूरा भएपछि अब कारवाही सिलसिला अघि बढाउने तयारी भएको प्रहरी भनाई छ ।