भारतबाट भित्रिएको यौन उत्तेजना र गर्भपतनको औषधी बरामद

नेपालगन्ज तर्फ ल्याउँदै गरेको यौन उत्तेजना र अुसरक्षित गर्भपतनमा प्रयोग हुने प्रतिबन्धित औषधी बरामद हुँदा, तस्कर प्रहरी विचबाटै फरार भएको खुलेको छ ।

आइतवार साँझ ७ बजेको समयमा नेपालगन्ज भन्सार कार्यालय अगाडी चेकजाँचमा रहेका सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्मका ५ जना जवानको बिचबाट औषधी तस्कर भाग्न सफल भएको खुलेको छ । सशस्त्र प्रहरी बलका कार्यवाहक इन्चार्ज प्रहरी निरीक्षक टिकाराम गोसाईले सहायक प्रहरी निरीक्षकको कमाण्डमा खटिएका ५ जना सशस्त्र प्रहरी जवानले अवैध औषधी बोकेको ईरिक्सा चेकजाँच गर्दा प्रतिबन्धित औषधी बरामद भएको र सोही समयमा तस्कर फरार भएको बताए ।

रुपईडिहाबाट नेपालगन्ज तर्फ भित्रिएको प्रतिबन्धित औषधीको यो पहिलो घटना होइन, प्रहरी श्रोतले भन्यो, औषधी बरामद मात्रै पहिलो पटक भएको हो । यौन उत्तेजना र असुरक्षित गर्भपतनमा प्रयोग हुने औषधी भित्र्याउने तस्कर र रिक्सा चालकलाई प्रहरीले पहिचान सम्म गर्न नसकेको बताइएको छ ।

रुपईडिहा देखि भन्सार सम्म आइपुग्दा जमुनाहा नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीले चेकजाँच गरेर से.१ स.८६७ नं. को ईरिक्सालाई नेपालगन्ज तर्फ पठाएको प्रहरी भनाई छ । पुरानो भन्सार अगाडी पुनः चेकजाँच गर्दा औषधी बरामद भएपछि तस्करीमा संलग्न ब्यक्तिको विवरण बारे प्रहरीले तथ्यहरु खुलाउन चाहेन । ‘पाँच जनाले चेकजाँच गर्ने क्रममा नै तस्कर फरार भएको थियो’, इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक गोसाईले भने । तस्कर फरार भएको सम्बन्धमा प्रहरीले थप अनुसन्धान समेत अघि बढाएन ।

सोमवार पत्रकार भेटघाट मार्फत औपचारिक रुपमा सार्वजनिक गरिएको बरामद औषधीमा संलग्नहरुको पहिचान प्रहरीले लुकायो । घटनामा संलग्नहरु बारे अनुसन्धानको विषयमा प्रहरीले कुरा नै नगरेपछि घटनामा सशस्त्र प्रहरीको मिलोमतो बारे आशंकाहरु उठेका छन् । ‘पाँच जना बिचबाट तस्कर भाग्न सफल भयो’, दैनिक नेपालगन्ज संग कुरा गर्दै सशस्त्र प्रहरी निरीक्षक गोसाईले भने, ‘ईरिक्सा र औषधी मात्रै बरामद भएको छ ।’ उनले चेकजाँचमा पाँच जना प्रहरी जवानहरु खटिएको जानकारी दिए ।

‘रिक्साचालकलाई केहि बेर नियन्त्रणमा लिएर प्रहरीले छाड्यो’, दैनिक नेपालगन्ज संग एक प्रत्यक्षदर्शीले भने, ‘सिट मुनी लुकाएर औषधी तस्करी गर्ने ईरिक्सा चालकलाई विना कारवाही कसरी छाडियो भन्ने आशंकाको विषय हो ।’
प्रहरीले बरामद गरेको यौन उत्तेजना, गर्भतन सहित २४ किसिमको औषधी सोमवार नष्ट गरेको छ । ईरिक्सा प्रहरी नियन्त्रणमा रहेपनि चालकलाई मिलोमतोमा छाडिएको आरोप छ । तस्करीको मुख्य नाकाको रुपमा रहेको नेपालगन्ज भन्सार भएर यसअघि कर्मचारीको मिलोमतोमा सामाग्री भित्रिँदै गरेको तथ्यहरु बाहिर आइसकेका छन् ।

भन्सार कार्यालय अगाडी सशस्त्र प्रहरी राजश्व गुल्म, नेपाल प्रहरीको युनिट र भन्सार कर्मचारीको कडा चेकजाँच विचबाट पनि लाखौंको सामाग्री तस्करी हुँदै आएको तथ्य यत्रतत्र छन् । यसैबीच, औषधी तस्कर फुत्किएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया