नेपालगन्जमा रगत अभाव

प्रेम विश्वकर्मा

पत्रकार भिष्म लोधले सामाजिक सञ्जाल फेसबुकमा ‘अर्जेन्ट नीड थ्री पोइन्ट ओ पोजेटिभ ब्लड इन नेपालगन्ज एरिया प्लीज कन्ट्याक’ भन्दै मोबाइल नम्बर सहित एउटा सन्देश पोष्ट गरे । दाङका पत्रकार दशरथ घिमिरेले पनि आफनो फेसबुक पेजमा ‘नेपालगन्जमा रहनुभएका साथीहरुलाई विनम्र अनुरोध, ओ ब्लड ग्रुपको रगत आवश्यक परेको छ,’ भन्दै रगतको जोहो गरेर खवर गर्न अनुरोध सहित आफ्नो मोबाइल नम्बर पोष्ट गरे ।

 

यी दुई फरक–फरक सन्देश त उदाहरण मात्र हुन् । मंगलबार र बुधबार गरि दुई दिनको अवधिमा धेरै जनाले रगत अभावको कुरा सुनाए । बुझ्दै जाँदा नेपालगन्जमा रगत अभाव पाइएको छ । नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्र बाँके नेपालगन्ज वरपरि रगतको खोजीमा हिडेका यस्ता थुप्रै सर्वसाधारण भेटिए ।

 

स्वास्थ्यको हबका रुपमा विकासित भइरहको बाँकेको नेपालगन्ज, कोहलपुर वरपरका अस्पतालहरुमा केही दिन यता रगतको निकै अभाव पाइएको हो । समयमा रगत नपाएपछि हिजोआज अस्पतालमा उपचारका लागि पुग्ने बिरामी थप पीडित भएका छन् ।

 

नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले मुलुकमा भर्खरै सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका कारण पर्याप्त रगत संकलन हुन नसकेकाले पनि अहिले समस्या सिर्जना भएको बताए । ‘रक्तदाताहरुलाई आव्हान गरिएको छ,’ रेग्मीले रक्तदानका लागि आव्हान गर्दै भने । रेग्मीका अनुसार, विभिन्न संघसंस्थाहरुलाई रक्तदान गर्न आग्रह गरिएको छ ।

 

‘आफनो मान्छे भएका सँग त तत्काल साटफेर गर्न सकिन्छ,’ विरामीका आफन्त भन्छन्, ‘तर, टाढाबाट आएका र कोही नभएकाहरुलाई भने निकै समस्या पर्ने गरेको छ ।’ एक दर्जनको हाराहारीमा रहेका यस क्षेत्रका विभिन्न साना ठुला अस्पतालहरुमा नेपाल रेडक्रस सोसाईटी क्षेत्रिय रक्त सञ्चार सेवा केन्द्र नेपालगन्ज र कोहलपुर रक्त सञ्चार इकाइबाट मात्र रगत उपलब्ध हुन्छ ।

 

नेपाल रेडक्रस सोसाईटी क्षेत्रिय रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जले आफनो फेसबुक पेज सहितका विभिन्न माध्यमबाट पनि प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन लक्षित रगतको अभाव हुन नदिन सरोकारवाला आव्हान गरेको थियो ।
भेरी अञ्चल अस्पताल सहितका विभिन्न अस्पतालमा गरि नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जमा दैनिक जसो ४० देखि ५० पिन्ट रगतको माग हुने गरेको छ । रेडक्रसले जाँच शुल्क लिई रक्त सञ्चार सेवा केन्द्रले निशुल्क रुपमा रगत उपलब्ध गराउदै आएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया