विवेकशील साझा सभा : जरा हट्के

 

 

नेपालगन्ज । न कुनै जिन्दावाद र मुर्दावादको नारा । न त मन्चमा कुनै कुर्सी । पाल टाँगेर बनाइएको मन्चको एउटा कुनामा पाेडियम मात्र थियो । मन्चको अगाढि राखिएका करिब २ सय कुर्सीहरु भरिएका थिए । सभास्थल शान्त थियो । लाग्थ्यो सहभागीहरू कुनै वैवाहिक समारोहमा बेहुलाको आगमनको पर्खाइमा झैं बसिरहेका छन् ।                  यो दृश्य नेपालगन्ज नर्सिग होम पछाडिको बगियामा विवेकशील साझा पार्टीको चुनावी सभाको झलक हो ।

एकैछिनमा त्यहाँ २ गाडि सहित विवेकशील साझाका संयोजक रविन्द्र मिश्र आइपुगे । मन्च तर्फ अघि वढ्न खोजिरहेका उनी एकैछिन सहभागीहरुबाट घेरिए ।

संरक्षणकर्मी हेमन्तराज काफ्लेले उनलाई शीतलचिनीको विरुवा उपहार दिए । मिश्रले रुख रोप्ने प्रतिवद्धता ।

मिश्रको टोली मन्चमा पुग्यो । र मन्च अगाढिको पहिलो लहरमा राखिएका कुर्सीमा बस्यो ।
उद्घोषकले सबैलाई धन्यवाद दिदै कार्यक्रम शुरु गरे । शुरुमा राष्ट्रिय गीत बज्यो । र कार्यक्रम शुरु भयो ।

मन्च माथी उक्लने, अतिथीकाे अासन ग्रहण, माला लगाउने जस्ता कुनै प्रक्रिया भएन त्यहाँ । जाे प्राय सबै राजनीतिक दलहरूकाे कार्यक्रमकाे महत्वपुर्ण अंश हुने गर्छ ।

धेरैले सुनेको तथा देखेको अन्य राजनीतिक दलहरुको भन्दा जरा हट्के कार्यक्रमको आयोजना गरेको सहभागीहरुले बताए ।

कुर्सी त खाली भएनन् नै कार्यक्रम हेर्न आउनेहरुको संख्या उल्लेख्य रहेको थियो । अर्थात कुर्सी वरिपरी पनि सहभागीहरू उभिएरै सुनिरहेका थिए ।

खजुराबाट सभा सुन्न आएका एक सहभागीले नेपालगन्जन्यूजसंग भने, ‘यती धेरै मानिसहरुको उपस्थिती होला भनेर अड्कल काटेकै थिइन ।’

सभामा ३० वर्ष नकटेका युवाहरुको सहभागीता उल्लेख्य रहेको थियो । सभामा सहभागी एक सामाजिक अभियन्ताको भनाइ थियो, ‘पार्टी विशेषको राजनीतिक कार्यक्रममा १८ देखि ३० वर्षका युवाहरूकाे स्वतस्फूर्त उपस्थिती विवेकशील साझाले ‘अटेन्सन क्रियट’ गरेको पुष्ट्याइ हो ।’

करिब ढेड घन्टाको कार्यक्रममा विवेकशील साझाका संयोजक रविन्द्र मिश्र, केन्द्रिय सदस्य किशोर थापा र अर्का केन्द्रिय सदस्य गेहेन्द्र प्रसाद दाहालले बोले । बाँके प्रतिनिधि सभा २ प्रदेश खका तराजुवाला उम्मेदवार विनोद कर्णले स्वागत गरे । र बाँकेका सबै उम्मेदवारहरुले मन्चमा परिचय दिए ।

मन्तव्यको क्रममा बेथितीको जिम्मेवार अहिलेको दुषित राजनीति भएको मिश्रले दावी गरे । सम्वृद्धिका लागि नियत सफा नभएको र विकासलाई अधिकारका रुपमा कहिल्यै पनि मुद्दा नबनाइएको बताए । यसपाली पार्टीको लक्ष्य मान्यताप्राप्त राष्ट्रिय पार्टी हुने हो । आगामी आम निर्वाचनमा बहुमतको सरकार चलाउने उनले भने ।

प्रतिक्रिया

प्रतिक्रिया