नेपालगन्जमा सञ्चालित अधिकांस मासु पसलहरु मापदण्ड र दर्ता विना नै सञ्चालनमा रहेको खुलेको छ । जिल्ला अनुगमन समितिले आइतबार नेपालगन्जका मासु पसलको अनुगमन गर्दा मापदण्ड विपरित मासु पसलहरु सञ्चालनमा रहेको फेला परेको हो ।
अधिकांस मासु पसल दर्ता नै नगरी सञ्चालन गरेको पाइएको अनुगमनमा संलग्न उपभोक्ता हित संरक्षण बाँकेका अध्यक्ष बसन्त गौतमले जानकारी दिए । ‘कुनै पनि उद्योग, ब्यवसाय संचालन गर्नु पूर्व सम्बन्धित निकायमा दर्ता गरि तोकेको मापदण्ड पुरा गरेर मात्र संचालन गर्नु पर्ने कानूनी ब्यवस्था भए पनि त्यसको पालना भएको अनुगमनका क्रममा पाइएन’, अधिवक्ता समेत रहेका गौतमले भने ।
नियमनकारी निकाय प्रभावकारी नहुँदा पनि ऐन, नियम मिचेर व्यवसाय गर्नेहरु बढ्दै गएको पाइन्छ । नियमित अनुगमन नहुने र उपभोक्तामा समेत वस्तुको गुणस्तर प्रति चासो कम हुदा मापदण्ड विपरित व्यवसाय सञ्चालन गर्नेहरुलाई थप बल पुगेको देखिन्छ ।
जिल्ला बजार अनुगमन समितिले आइतबार अनुगमन गरेका पा“च वटा मासु पसलमा कसैले पनि मापदण्ड पूरा गरेको पाएन । नेपालगन्ज–१३ गणेशमानचोक आसपास र १० नं. वडाका मासु पसलहरु चाँद फ्रेश हाउस, सोहन फ्रेश हाउस, नेपाल फ्रेश हाउस, न्यू नेपाल प्रेश हाउस लगायतका पसलले दर्ता विना नै मासु बिक्री गरेको पाइएको अध्यक्ष गौतमले जानकारी दिए ।
‘मासु पसल फोहर एवं अन्य मापदण्ड पुरा नगरि संचालन गरेको पाएका हौं’, वाणिज्य कार्यालयका प्रमुख कृष्ण पौडेलले भने । मासु पसलहरु सडकको नाली माथी राखेर संचालन भएको, बिक्रिका लागी राखिएका मासुमा झिंगा भन्केको, राम्ररी ब्यवस्थित तरिकाले राखेको नपाइएको र फ्रिजमा राखिएका मासु पनि धेरै दिनका बासी र गन्हाउने अवस्थामा रहेको पाइएको अनुगमनमा संलग्न क्षेत्रीय खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयका एकराज बुढाथोकीले जानकारी दिए । टोलीले बिक्रीमा राखिएका गुणस्तर हिन मासुलाई तत्काल नष्ट गर्न लगाएको थियो ।
अनुगमन टोलीले मापदण्ड विपरित सञ्चालन भएका मासु पसललाई मापदण्ड पूरा गर्न ३ दिनको समय दिएको छ । तीन दिन भित्र पनि अटेरी गरेको पाइएमा कारवाही गर्ने चेतावनी अनुगमन समितिले दिएको छ । अनुगमन टोलीमा जिल्ला कृषि कार्यालयका बेद बहादुर केसी, वाणिज्य कार्यालयका तिर्थ कठायत, क्षेत्रीय खाद्य प्रबिधि तथा गुणनियन्त्रण कार्यालयका एकराज बुढाथोकी, जिल्ला प्रशासन कार्यालय बा“केका कमल प्रसाद उपाध्याय, क्षेत्रीय गुणस्तर तथा नापतौल बिभागका गुरु प्रसाद पोखरेल, नेपालगन्ज उपमहानगर–पालिकाका अनिरुद्ध शर्मा लगायतको सहभागिता रहेको थियो ।