माधवकुमार ओली – रोल्पा
इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल, नेपाल मानवअधिकार संगठनका महासचिव महामुनिश्वर आचार्य, इन्सेक मध्यपश्चिम क्षेत्रीय संयोजक भोला महत, इन्सेक साधारण सदस्य घनश्याम आचार्य, इन्सेकका प्रलेख अधिकृत नारायण सुवेदी लगायतका मानवअधिकारकर्मीहरुको टोलीले शुक्रबार जिल्ला प्रहरी कार्यालय रोल्पाको हिरासत कक्षको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा इन्सेक अध्यक्ष प्याकुरेलले गत कात्तिक २२ गते निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा गिरफ्तार भएका नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज दलबहादुर खत्री ‘जागृति’ र सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’लाई पक्राउ पूर्जी दिए नदिएको, अदालतबाट म्याद थप गरे नगरेको बारे बुझेका थिए । उनीहरुले स्वतन्त्र पूर्वक निर्वाचनमा सहभागि नहुने बताएकै कारण गिरफ्तारीमा परेको बताएका थिए । स्थानीय निर्वाचनमा पनि आफूहरुले निर्वाचनमा सहभागि हुन नागरिकहरुले अपिल गरेको भएता पनि नागरिकहरु स्वतस्फूर्त रुपमा सहभागि भएको भन्दै सेक्रेटरी सुवेदीले अहिले पनि आफूहरुले कुनै डर क्रास नदिएको बताए । साथै उनले जिल्लामा आफूहरुको नाममा तेस्रो समूहले बम विष्फोटका घटनाहरु गराएको बताए ।
यस्तै इन्सेक अध्यक्ष प्याकुरेलले रोल्पाका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईसँग भेट गरी यदि उनीहरु सुरक्षाकर्मीकै सम्पर्कमा रहने र बम विष्फोटका घटनामा आफ्नो पार्टीको संलग्नता नभएको विज्ञप्ति जारी गर्न तयार भएमा रिहाई गर्न सुझाव दिएका थिए । यस्तै अध्यक्ष प्याकुरेलले जिल्लाको समग्र निर्वाचनको बारेमा समेत प्रजिअ भट्टराईसँग बुझेका थिए ।