लोकतन्त्र बचाउन काँग्रेस

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र बचाउन नेपाली काँग्रेसले चुनाव जित्न आवश्यक रहेको बताउनु भएको छ । काँग्रेस बाँकेको पार्टी कार्यालयमा मंगलबार कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले नेपाली काँग्रेसले हारेपछि लोकतन्त्रको हार हुने भएकाले सबै पार्टी पंक्ती यतिखेर चुनावी अभियानमा सक्रिय भएर लाग्न अपील गर्नु भयो ।

 

 

‘पार्टीभित्रको आन्तरिक गुनासो र समस्यालाई चुनावको संघारमा बाहिर ल्याउनुभन्दा पनि पार्टीलाई जिताउने अभियानमा लाग्न उहाँले निर्देशन दिनुभयो । चुनावपछि गुनासा विस्तारै सम्बोधन गरिने स्पष्ट पार्दै पार्टी सभापति देउवाले पार्टीलाई चुनावमा जिताउनुपर्ने अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभयो । टिकट वितरणका विषयमा सबैलाई समेट्न नसकिएको हुन सक्ने औल्याउँदै सभापति देउवाले भन्नुभयो, ‘अहिले जसरी भएपनि चुनाव जित्नु छ, तपाईहरु पार्टीभित्रको आन्तरिक कुरामा नअल्मलिनुस् ।’

 

 
पार्टीमा लामो योगदान गरेका र दुःख गरेका कार्यकर्ताहरु पनि रहेको बताउँदै पार्टी बलियो बनाएपछि सबैको पालो आउने सभापति देउवाले प्रष्ट्याउनु भयो । नेपालगन्ज पश्चिम क्षेत्रको केन्द्र रहेको बताउँदै उहाँले यहाँ सिर्जना हुने चुनावी माहोलले समग्र पश्चिममै प्रभाव पार्ने बताउनु भयो ।

 

 

नेपाली काँग्रेस बाँकेका सभापति किरण कोईरालाले लोकतन्त्र बचाउन फेरीपनि सबै नेपालीले काँग्रेसलाई साथ दिनुपर्ने बताउनु भयो । देशलाई समस्या पर्दा सधै नेपाली काँग्रेसले नेतृत्व गरेको स्मरण गराउँदै अहिले पनि लोकतन्त्र संकटमा परेको बेला नेपाली जनताले काँग्रेसलाई साथ दिने विश्वास व्यक्त गर्नुभयो । सो कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य किशोरसिंह राठौंर, पुर्वसांसद, पार्टीका नेता, भातृ संगठनका पदाधिकारी लगातको उपस्थिती रहेको थियो । टिकट वितरणमा पार्टीबाट कमजोरी भएको भन्दै सभापति देउवा समक्ष असन्तुष्ट कार्यकर्ताले सुझाव दिएका थिए । यस अघि प्रधानमन्त्री देउवाले क्षेत्रीय सुरक्षा वैठकलाई सम्वोधन गर्दै निर्वाचन शान्त र भयरहित बनाउन कुनै कसर बाँकी नराख्न निर्देशन दिनु भयो ।

प्रतिक्रिया

प्रतिक्रिया