गरिबहरु तीव्र गतीमा धनी बन्दैछन्
विश्वका गरिबहरु मध्ये ४० प्रतिशत गरिबहरु भारत र नाइजेरियामा बसोबास गरिरहेका छन् ।
गएको अक्टोबर १७ मा विश्वभर गरिबी उन्मूलन दिवसको २५ औं वर्षगाँठ मनाइयो ।
यो अवसरमा संयुक्त राष्ट संघका महासचिव एन्टोरियो गुटारेसले सन् १९९० पछि विश्वमा गरिबी उन्मूलनमा ठूलो प्रगती भएको बताए ।
हुन पनि आंकडालाई विश्वास गर्ने हो भने गरिबहरु तीव्र गतीमा धनी बन्दै गइरहेका छन् । विगत २५ वर्षमा घटेको गरिबी यो भन्दा पहिला कहिल्यै पनि भएको थिएन । यति मात्र हैन, गरिबीको दर मात्र हैन, करिब २ विलियन अर्थात २ अरब मानिसहरु गरिबीको रेखामूनिबाट बाहिर आएका छन् ।
सन् १८२० मा विश्वका करिब ९४ प्रतिशत मानिसहरु गरिबीमा थिए । यो आंकडा सन् १९९० मा ३४.८ प्रतिशत रहयो भने अहिले मात्र ९.६ प्रतिशत रहेको छ ।
हरेक बर्ष करिब ८० करोड मानिसहरु गरिबीको रेखामुनिबाट बाहिर आएका छन् । अर्थात दैनिक १.९५ डलर आय आम्दानी गर्ने क्षमता हासिल गरिरहेका छन् । एक दिनमा करिब २४ लाख मानिसहरु धनी बन्दै गइरहेका छन् ।
यति हुदाहुदै पनि करिब ७४६ मिलियन अर्थात ७४ करोड ६० लाख मानिसहरु गरिबीको रेखामुनि छन् । ३८ करोड अफ्रिकामा मात्र छन् । यसैगरी ३२ करोड ७० लाख एसियामा रहेका छन् । यसैगरी दक्षिण अमेरिकामा १ करोड ९० लाख, उत्तर अमेरिकामा १ करोड ३० लाख र ओसियानामा २५ लाख र युरोपमा ७ लाख मानिसहरु गरिबीको रेखामुनि रहेका छन् ।
यसमध्ये भारतमा करिब २१ करोड ८ लाख र नाइजेरियामा ८ करोड ६० लाख मानिसहरु अझैपनि गरिबीको रेखामुनि रहेका छन् ।
नेपालमा भने करिब १२.९ प्रतिशत मानिसहरुले प्रति व्यक्ति १.९० युएस डलर पनि आम्दानी गर्न नसक्ने आकंडा रहेको छ । भने करिब ५० लाख मानिसहरु गरिबीको रेखामुनि रहेको तथ्यांक पछिल्लो आर्थिक तथा जीवनस्तर सर्वेक्षणमा उल्लेख गरिएको छ ।