वाम एकता विरुद्ध भारतीय सक्रियता

सिमा क्षेत्र दबाव र सुझाव

भारतीय सिमावर्ती क्षेत्रमा आवागमन गर्ने नेपाली नागरिकलाई त्यहाँका सुरक्षा अधिकारीले नेपाली क्षेत्रमा वामपन्थी दललाई भोट नदिन दबाव दिँदै आएको खुलेको छ ।

 

बाँकेको सिमावर्ती क्षेत्रमा आवतजावत गर्ने नेपालीलाई पार्टी सोधेरै एमाले वा वामपन्थी कुनै गुटमा भोट नदिन दबाव दिँदै आएका छन् । बाँके राप्तीपारि नरैनापुर गाउँपालिका स्थित घोडदौरिया, ककरदरी, सुईया र रामपुर नाका भएर भारतीय क्षेत्रमा प्रवेश गर्ने नेपाली नागरिकलाई एसएसबी र अनुसन्धान अधिकारीले वामपन्थी घटक विरुद्ध प्रचार र परामर्श गर्दै आएका हुन् ।

 
नेपाली क्षेत्रमा कम्युनिष्ट शासन ब्यवस्था भएमा नाकाबन्दी जस्तै अवस्था हुने भन्दै कम्युनिष्ट बाहेकका पार्टीलाई भोट दिन उनीहरुले दबाव दिएको खुलेको हो । चेकजाँचमा एसएसबीले कुन पार्टीलाई भोट दिएको हो प्रश्न गरेको थियो, नरैनापुरका रईस खाँले, एमाले भनेपछि मेरो सामाग्री रोकियो ।

 

पार्टी विचार गरेर भोट दिन सुझाव आयो, गंगापुरका रामेश्वर गोडियाले भने, एमाले, माओवादी जस्ता पार्टीमा भोट नदिएर अन्य पार्टीमा दिन एसएसबीले भनेको हो, । नेपाली क्षेत्रमा वामपन्थी गुट हाबी भएमा भारतीय सहयोग बन्द हुने र दुबै देशमा आवागमन नहुने चेतावनी दिइएको गोडियाले बताए ।

 

नाका भएर भारतीय क्षेत्रमा जाँदा पार्टी नुखाए सुखै हुँदैन, कटकुईयाका बेचै यादवले भने, आवतजावत गर्दा, पार्टी, नाम, ठेगाना र आगामी कुन पार्टीमा भोट दिने भन्ने सबै खुलाउनु पर्छ । यो उनीहरुले अध्ययन गरिरहेको जानकारी दिएका छन्, यादवले भने, सिमा क्षेत्रमा कुन पार्टीको कार्यकर्ता धेरै रहेको त्यस बारे अध्ययन सुरु भएको एसएसबीले भनेको छ ।
२०६३ सालमा मधेश आन्दोलन पछि भारतीय एसएसबीले मधेशी पार्टीलाई भोट दिन जनतालाई सुझाव र दबाव दिएको थियो । सिमा क्षेत्रमा यसरी गतिविधि चलाउन हुन्छ कि हुँदैन ? दैनिक नेपालगन्जको प्रश्नमा बीओपी (एसएसबी) ककरदरीका प्रमुख सुभाष शर्माले सीमा क्षेत्रमा त्यस्तो कुनै गतिविधि नभएको दाबी गरेका छन् । यद्यपि, सुइया देखि सन्तलिया सम्म एसएसबीका विभिन्न नाकाहरु रहेकाले कुनै त्यस्तो गतिविधि भएको भए जाँच गर्ने बताए । ‘नेपालमा राजनीतिक चासो हाम्रो होइन‘, उनले भने हाम्रो काम सुरक्षा गतिविधि हेर्ने हो ।

डाक बंगलामा गोप्य बैठक

सिमा क्षेत्रमा आगामी चुनावी रणनीति तय गर्न भारतीय क्षेत्रका नेताहरु सहभागी रहेको एउटा बैठक बारे तथ्यहरु बाहिर आएका छन् । नेपाली क्षेत्रमा रहेका पूँजीवादी पार्टीका नेता तथा भारतीय क्षेत्रमा रहेका सोही बमोजिम पार्टीका नेताहरुको बैठकले आगामी सांसद र प्रदेश सभा निर्वाचनमा रणनीति तय गरेर अघि बढ्ने टुंगो लगाएको छ ।
अति गोप्य भनिएको बैठकमा नेपाली क्षेत्रका तर, वापन्थी पार्टी विरुद्ध विचारधारा राख्ने सुरक्षा अधिकारी पनि सहभागी रहेको श्रोतले खुलाएको छ । भारतीय क्षेत्र लक्ष्मणपुरमा रहेको डाक बंगला(हुलाक घर) मा बैठक आयोजना गरी नेपाली र भारतीय नेताहरु संयुक्त रुपमा छलफल गरेका हन् ।
बैठकमा सहभागी भारतीय नेताहरुले वाम घटकलाई पछार्न आवश्यक सक्रियता अघि बढाउन सुझाव दिएको श्रोतको दावी छ । उनीहरुले नेपालमा कम्युनिष्ट शासन ब्यवस्था हाबी हुन सक्ने संकेत देखा परेको बारे चिन्ता समेत ब्यक्त गरेका हुन् ।
इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक हरिहर खड्काले उक्त बैठक तस्करहरु विरुद्ध रहेको खुलाएका छन् । नेताहरु बारे भएको बैठक बारे जानकारी भएन, उनले भने, एउटा फरक बैठक एसएसबी संग तस्करी विरुद्ध भएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया