बागेश्वरी सम्पत्ति छानविन गर्न समिति

प्रसिद्ध शक्तिपिठ, बागेश्वरी मन्दिरको बृहत्तर विकासका लागि गुठी संस्थान सक्रिय भएको छ । त्यसका लागि बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति गठन गरिएको छ ।

 
नेपालगन्ज उपमहानगर–पालिकाका प्रमुख डा. धवल समशेर राणाको अध्यक्षतामा सर्वदलीय, सर्वपक्षीय व्यवस्थापन समिति गठन गरिएको हो । गठन आदेश सगै गुठी संस्थानले काम, कर्तव्य र अधिकार समेत तोक्दै बागेश्वरीको सम्पूर्ण सम्पत्ति एकिन गर्न निर्देशन दिएको छ । त्यससगै बागेश्वरीको सम्पत्ति छानविन गर्न उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरको नेतृत्वमा अधिकार सम्पन्न समिति पनि गठन गरिएको छ ।

 
बागेश्वरी गुठीमा विजय गुप्ता उपाध्यक्ष, गोपाल अधिकारी सचिव, दिपक कुमार श्रेष्ठ कोषाध्यक्ष भएका छन् । सदस्यहरुमा मन्दिरका मुल महन्थ चन्द्रनाथ योगी, उपप्रमुख थापा, नेपालगन्ज–२ का वडाध्यक्ष सुनिल सिंह हमाल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत, जिल्ला मालपोत कार्यालयका अधिकृत, उच्च अदालत बारका प्रतिनिधि, गुठी संस्थानका केन्द्रीय सदस्य ओम प्रकाश आजाद, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का गभर्नर मधुसुदन शर्मा रिजाल, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य लगायत छन् ।

 
आइतबार भएको गुठी व्यवस्थापन समितिको बैठकले मन्दिरको सम्पत्ति छानबिनका लागि उपप्रमुख थापाको नेतृत्वमा बार प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालयका अधिकृत र गुठीका सचिव गोपाल अधिकारी सदस्य रहेको समिति बनाएको हो ।

 
बागेश्वरी मन्दिरको व्यवस्थापनका लागि मधुसुदन शर्मा रिजालको अध्यक्षतामा मन्दिर रहेको वडा नं. २ का अध्यक्ष सुनिल सिंह हमाल र गुठीका कोषाध्यक्ष दिपक कुमार श्रेष्ठ सदस्य रहेको समिति बनाएको छ । ‘समितिले मन्दिरको सम्पूर्ण व्यवस्थापन प्रभावकारी ढंगले हेर्नेछ’, उपप्रमुख थापाले दैनिक नेपालगन्जसग भनिन् ।

 

 

त्यस्तै, मन्दिरको भौतिक पूर्वाधार निर्माण तथा संरक्षणका लागि गुठीका उपाध्यक्ष विजय गुप्ताको अध्यक्षतामा अर्को समिति बनाइएको छ । ‘बागेश्वरी मन्दिरको बृहत्तर विकासका लागि दुरगामी असर पर्ने निर्णय गरिएका छन्’, अधिवक्ता लोक बहादुर शाहले बागेश्वरी जनप्रतिनिधिका जिम्मामा आएको प्रतिक्रिया दिंदै भने । अधिवक्ता शाहले सार्वजनिक सरोकार सम्बन्धि न्यायीक उपचार खोज्दै बागेश्वरीको सम्पत्ति संरक्षणमा निरन्तर पहल गरिरहेका छन् । गुठी संस्थानले बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति गठन आदेश स“गै प्रत्येक ६ महिनामा मन्दिरको आय–व्याय विवरण संस्थान, जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयमा पठाउन निर्देशन पनि दिएको छ ।

 
त्यस्तै, आर्थिक बर्ष सकिएको ९० दिनभित्र लेखा परीक्षण गरी तोकिएका निकायमा पठाउने निर्देशन दिएको गुठी संस्थानले तत्काल समितिको खाता खोलेर भक्तजनहरुले मन्दिरमा चढाएको दान, दातव्यको लगत राखी आम्दानी बाध्न भनेको छ । ‘देवस्थलको विकासका लागि स्थायीय जनसहभागिता जुटाई विकास, निर्माणलाई तिव्रता दिन पनि गुठी संस्थानले निर्देशन दिएको छ’, अधिवक्ता शाहले भने, ‘गुठी, सम्पदा र सम्पत्तिको संरक्षण गर्ने गराउनेमा तदारुखता खोजेको छ ।’ आइतबारको बैठकले जिल्ला मालपोत कार्यालयमा बर्षौदेखि रहेको बाकस खोल्ने प्रक्रियालाई पनि अगाडी बढाउने निर्णय गरेको बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया