२५ बर्षपछि एकलैनी चौडा बन्ने भो, सडकका लागि घर भत्काउन सहमति

झण्डै २५ बर्ष अघि देखि रोकिएको एकलैनीको बाटो दोब्बर चौडा हुने भएको छ । मंगलबार स्थानीय घरधनीहरुले त्यसका लागि आवश्यक पर्ने सडक क्षेत्रफल खाली गर्न सहमत भएपछि बाटो दोब्बर चौडा हुने भएको हो ।

 

‘एक महिनाभित्र सडक क्षेत्रफल खाली गरिदिने सहमति स्थानीयबासीले गर्नुभएको छ’, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवल समशेर राणाले दैनिक नेपालगन्जस“ग भने, ‘सहमति अनुसार भयो भने हामी बजेट व्यवस्था गरेर तत्कालै सडक बिस्तार सुरु गर्छौ ।’

 

नेपालगन्ज उद्योग वाणिज्य संघदेखि फुल्टेक्रा राप्तीपथ जोड्ने झण्डै ५ सय मिटर सडक बिस्तारको योजना २५ बर्ष अघि थालिएको थियो । ‘त्यतिबेला स्थानीयबासीको अवरोधले रोकिएको विकास नेपालगन्जका लागि कलंक नै बन्यो’, तत्कालीन नगरप्रमुख विजय कुमार गुप्ताले विकासका लागि जनता सहमत भएको प्रति खुशी व्यक्त गर्दै भने, ‘उतिबेलै सहमति जुट्न सकेको भए नेपालगन्ज विमानस्थलसम्म सडक बिस्तार भैसक्थ्यो ।’

 

नेपालगन्ज उद्योग वाणिज्य संघले सडक बिस्तारमा स्थानीयबासीको सहमति लिन पहल गरेको हो । ‘व्यक्तिगत भेटघाट र निरन्तर छलफल पछि मंगलबार भेलाको आयोजना गरिएको हो’, संघका अध्यक्ष नन्दलाल वैश्यले पहिलो औपचारिक बसाई नै सफल भएको जानकारी दिंदै भने ।

 
उक्त सडक बिस्तार कार्य रोकिएको विषयलाई लिएर दैनिक नेपालगन्जले निरन्तर प्रकाशन गर्दै आएको थियो । यसलाई विकास विरुद्धको उदाहरणका रुपमा निरन्तर प्रस्तुत गर्दै आएपछि स्थानीयबासी विकासका पक्षमा उभिन दबाब बढेको हो । ‘निरन्तरको सचेतना पछि स्थानीय विकासका पक्षमा एकजुट भएका छन्’, स्थानीयबासी समेत रहेका संघका अध्यक्ष वैश्यले भने, ‘अब विकासको प्रवाहलाई कसैले रोक्न सक्दैन ।’

 
तत्कालीन नगर प्रमुख गुप्ताले सडक बिस्तार कार्य सुरु गरेपछि झण्डै ५० मिटर बिस्तार नहु“दै रोकिएको थियो । त्यसपछि धवल समशेर राणा नगर प्रमुख निर्वाचित भएर आएपछि पनि आफुले बिस्तारका लागि पहल गरेको बताएका थिए । ‘५ करोड रुपैया“ बजेट पनि व्यवस्थापन भैसकेको जानकारी नगर प्रमुख राणाले गराएका छन्’, वैश्यले मंगलबारको भेला पछि आफु उत्साहित भएको प्रतिक्रिया दिंदै भने, ‘हाम्रो धेरै लामो प्रयासले सार्थकता पाएको छ ।’ वैश्यको घर सडक बिस्तारको प्रारम्भ मै पर्छ ।

 
भेलामा नेपालगन्ज–३ का वडाध्यक्ष अयुव सिद्दिकीले समयमै सहमति अनुसारको सडक क्षेत्रफल खाली गरिदिन अनुरोध गर्दै समयमै निर्माण कार्य सुरु गर्ने र सफल बनाउने प्रतिबद्धता जनाए । भेलामा दिपक लोध लगायतका कतिपय युवाहरुले सडक क्षेत्रफल कम्तिमा ८ मिटरको बनाउन माग गरेपनि अधिकांसले धेरै भौतिक संरचनाको क्षति हुने भन्दै न्यूनतम मापदण्ड अनुसार जान सहमति जनाएका हुन् । ‘न्यूनतम मापदण्ड ६ मिटर भएको जानकारी उपमहानगरपालिकाले दिएपछि सबैलाई त्यसमा सहमत गराइयो’, अध्यक्ष वैश्यले सडक जतिसक्यो चौडा गर्नु राम्रो भएको कुरा सचेत गराउ“दै जानुपर्ने धारणा राख्दै भने ।

प्रतिक्रिया

प्रतिक्रिया