कोहलपुर क्षेत्रका उपभोक्ता चाडपर्वका लागि खरिददारीमा व्यस्त हुनुहुन्छ ? हुनुहुन्छ भने, ख्याल गर्नुस् बजारमा गुणस्तरहीन खाद्य वस्तुहरु बिक्री भैरहेको खुलासा भएको छ । कोहलपुर क्षेत्रका बजारमा शुक्रवार गरिएको अनुगमाका क्रममा गुणस्तरहीन बस्तुहरु बिक्री बितरणका लागी राखिएको पाइएको हो ।
इलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दत्तराज हमालको नेतृत्वमा कोहलपुर क्षेत्रका बजारमा गरिएको अनुगमनका क्रममा गुणस्तरहीन बस्तुहरु बिक्री बितरणका लागी राखिएको फेला परेको जानकारी दिइएको छ । अनुगमन टोलीले कोहलपुरको कसमस फ्रेस हाउस एण्ड सप्लायर्समा बिक्री बितरणका लागी राखिएको गुणस्तरहीन कुुसुरा र खसीको १० केजी मासु जफत गरि नष्ट गरिएको छ । अनुगमनमा संलग्न उपभोक्ता हित संरक्षण मञ्च बाँके अध्यक्ष अधिवक्ता वसन्त गौतमले दिएको जानकारी अनुसार, उक्त मासु पसल दर्ता नगरि संचालन गरेको पाइएको छ ।
अनुगमन टोलीले कसमस फ्रेस हाउस एण्ड सप्लायर्सलाई जिल्ला पशुसेवा कार्यालय बाँकेबाट सिफारिस लिएर ४ दिन भित्र बाणिज्य कार्यालयमा दर्ता गर्न निर्देशन पनि दिएको छ । कुसुरा र खसीको मासु संगै राखी बेचेको पाइएकाले अलग अलग फ्रिजमा राखी बेच्न निर्देशन पनि दिइएको पशु सेवा कार्यालय कोहलपुरका प्रमुख भिषण गज्मीरले जानकारी दिए । अनुगमनका क्रममा उक्त मासु पसलका संचालक डिल्लीराम शर्माले बिगत ढेड बर्ष देखि दर्ता बिनै मासु पसल संचालन गरेको स्वीकारेका थिए ।
नापतौलमा प्रयोग गरिएका अबैध ढक जफत
कोहलपुरको एक मासु पसलमा सरकारद्वारा प्रतिबन्धित ५०० र १०० ग्रामको भारतीय ढक प्रयोग गरिएको पाइएको छ । उक्त ढक अबैध भएको भन्दै अनुगमन समितिले ढक जफत गरेको जनाएको छ ।
कोहलपुर ११ स्थित जाजरकोटी माछा पसलमा खिया लागेको हतियार प्रयोग गर्ने गरेको, मुल्य सूची टाँस नगरि बेचबिखन गरेको पाइए पछि अनुगमन टोलीले सो पसललाई दर्ताको प्रमाण पत्र लिएर तिन दिन भित्र बाणिज्य कार्यालय नेपालगन्जमा उपस्थित हुन निर्देशन दिएको बाणिज्य कार्यालयका प्रमुख कृष्ण प्रसाद पौडेलले जानकारी दिए । अनुगमन टोलीले सो माछा पसललाई आइन्दा मासु काट्ने हतियार स्टीनलेस स्टीलको प्रयोग गर्न समेत निर्देशन दिएको छ ।
भेरी खाद्य उद्योगमा भेटिएको गुणस्तरहीन खाद्य बस्तु नष्ट यसै गरि अनुगमन समितिले कोहलपुर स्थित भेरी खाद्य उद्योगमा बिक्रि बितरणका लागी पसलमा राखिएको १ क्वीन्टल गहुँ खानका लागी योग्य नदेखिएकाले नष्ट गरिएको छ । अखाद्य गहुँ अनुगमन टोलीकै रोहवरमा उद्योगका प्रोपराइटर सत्य नारायण बैश्यलाई नष्ट गर्न निर्देशन दिइएको होे ।
उक्त उद्योगमा अब्यवस्थित रुपमा पसल संचालन गरेको, उद्योग संचालनको मापदण्ड पुरा नगरि संचालन गरेको देखिएकाले ५ दिन भित्र सबै मापदण्ड पुरा गरि साइन बोर्ड राख्ने निर्देशन पनि दिइएको अनुगमन समितिका सदस्य गौतमले जानकारी दिए । सो पसलले मापदण्ड बिपरित खुल्ला रुपमा धुलो मसला र खुर्सानी बिक्री बितरण गरेको पाइएकोले क्षेत्रीय खाद्य प्रबिधि तथा गुण गुण नियन्त्रण कार्यालयले नमुनाको लागी लिइएको र त्यसको परिणाम नआउन्जेलसम्म बिक्री बितरण नगर्न निर्देशन दिइएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका खाद्य निरिक्षक एकराज बुढाथोकीले जानकारी दिए ।
अनुगमन टोलीले भेरी खाद्य उद्योगलाई पशुका लागि प्रयोग हुने दाना र खाद्य बस्तु छुट्टा छुट्टै राखेर बिक्री बितरण गर्न, सामान बिक्री बितरण गर्दा अनिवार्य रुपमा उपभोक्तालाई बिल दिन, पसलमा पशु र मानिसको आहार छुट्टा छुट्टै राख्न समेत निर्देशन दिएको थियो ।
होटलहरु अब्यवस्थित र फोहरी
अनुगमन टोली कोहलपुरको १३ स्थित राजमार्गमा आसपास र कोहलपुर बजारका होटलमा गरेको अनुगमनबाट कतिपय होटलहरु अब्यवस्थित र फोहर रहेको पाइएको उपभोक्ता हित संरक्षण मञ्च बाँके अध्यक्ष गौतमले जानकारी दिए ।
कोहलपुरका १३ स्थित रोहिनीखोलामा महेन्द्रराज राजमार्ग छेउ रहेका गणपति स्टाफ होटल, दङ्गाली स्टाफ होटल लगायतका होटललाई होटल सरसफाई गर्न, भान्सा बाटो अगाडी नराखी पछाडीपट्टी राख्न, हात धुने ठाँउमा सावुत राख्न र होटलमा मुल्य सुचि राख्न निर्देशन दिइएको गौतमले बताए ।
कोहलपुरकै एटुजेट स्वीट कर्नरको भान्सा कोठा फोहर रहेको पाइएकोले तत्काल सरसफाई ध्यान दिन निर्देशन दिएको पछि होटल संचालक रेनु देवकोटाले निर्देशन बमोजिम सुधार गरिने बताइन् । उक्त होटल कम गुणस्तरको भन्दै यस अघि पनि अनुगमन टोलीले सुधार गर्न निर्देशन दिइएको अधिवक्ता गौतमले जानकारी दिए ।
बाँकेको बजार अनुगमनमा संलग्न क्षेत्रीय खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरिक्षक एकराज बुढाथोकीले अझै पनि बाँकेका होटल तथा रेष्टुरेन्टहरुले सरसफाईमा सुधार गर्न नसकेको, होटलमा काचो र पकाएको खाद्य पदार्थ भण्डारणको उचित ब्यवस्थापन बारे होटल संचालकहरुलाई नै उचित ज्ञानको कमि रहेको पाइएको बताए । यस्तै अनुगमनकै क्रममा कतिपय बिक्रेताहरुलाई उपभोग्य बस्तुको म्याद सकिने मिति बारे पहिचान गर्न नसक्ने, डिलरहरुले भनेकै भरमा सामान राख्ने गरेको पाईएको खाद्य निरिक्षक बुढाथोकीले बताए । कतिपय पसलेलाई पसल ब्यवसाय संचालनको ब्यवसायिक ज्ञान समेत नभएको पाइएकाले सम्बद्ध ब्यवसायीक संघ संगठनहरुले यस तर्फ ध्यान दिनु पर्नेमा जोड दिए ।
बजार अनुगमन संलग्न बाणिज्य कार्यालय नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौडेलले बाँकेका अधिकांश पसलहरुमा मुल्य सुचि नराखी तथा बिल नै नदिई बस्तुहरु बिक्री बितरण गर्न राखिएको पाइएको बताए । उपभोक्ता हित संरक्षण मञ्च बाँके अध्यक्ष अधिवक्ता वसन्त गौतमले अनुगमनका क्रममा बजारमा गुणस्तरहीन बस्तुको बिक्री बितरण भैरहेको पाइएकोले कानूनी मापदण्ड पुरा नगर्ने बिक्रेताहरु उपर कानूनी कारवाही गर्नु पर्नेमा जोड दिदै आम उपभोक्ताहरु पनि सचेत हुनु पर्नेमा जोड दिए ।