नेपालगन्ज : बढ्दो साइकल चोरीको सिलसिला, उजुरी एउटा मात्र

ग्रामीण क्षेत्रबाट नेपालगन्जमा सेवा लिन साइकलमा आउने सेवाग्राही साँझ घर जान अर्कै साधनको जोहो गर्नु पर्छ । बाँकेमा सरकारी सेवा प्रदायक कार्यालयबाट पछिल्लो एक महिना भित्र ३७ बढि साइकल चोरी भएका छन् । सेवा प्रदायक कार्यालय, मालपोत, नापी, भेरी अंचल अस्पताल, बाँके जिल्ला अदालत र उच्च अदालत, हुलाक कार्यालय, भूमि सुधार कार्यालय क्षेत्रबाट दिनहुँ साइकल चोरीको घटना बढेको हो ।
नेपालगन्ज वडा नं.७ बस्ने हजरत अली बेहना बुधवार मालपोत कार्यालयमा कामका लागि पुग्दा केहि बेरमै साइकल चोरी भयो । ‘पार्किंग गरेको करिब पाँच मिनट पछि साइकल थिएन’, दैनिक नेपालगन्ज संग कुरा गर्दै उनले भने, ‘यस अघि मेरै चिनेका तीन जना ब्यक्तिको साइकल चोरी भएको छ ।’
जिल्ला प्रशासन कार्यालय अगाडी शुल्क सहितको पार्किंग ब्यवस्था भएपछि सो क्षेत्रमा चोरी हुन छाडेको सेवाग्राहीको भनाइ छ । मालपोत कार्यालय बाँके छेउबाट मंगलवार हिरमिनिया बस्ने श्रवण कुमार यादवको साइकल चोरी भयो ।
एक साता अघि बाँके बेतहनी बस्ने जगतराम ठाकुरले आफ्नो साइकल गुमाए । मालपोत कार्यालयमा लेखापढी ब्यवसाय गर्दै आएका ठाकुर अचेल लिफ्ट लिएर आउने जाने गरेका छन् । त्यसअघि फुल्टेक्रा बस्ने सहजराम ठाकुरको साइकल चोरी भयो ।
यसरी चोरीको घटनाबाट पीडित भएका मध्ये करिब ३७ जना दैनिक नेपालगन्जको सम्पर्कमा आए । मालपोत कार्यालय र अन्य सेवा प्रदायक कार्यालय आसपास क्षेत्रबाट साइकल गुमाएकाहरुले उजुरी नगरेको पनि खुलाए ।
‘साइकल हराएपछि चोर देखिन्न, कस माथि उजुरी गर्ने’, बाँके गाउँ बस्ने हृदेश पाठकले दैनिक नेपालगन्ज संग भने, ‘चोरी भएको साइकल अर्को किन्ने विचार बाहेक प्रहरीमा जाने विचार आएन ।’
नेपालगन्जबाट चोरी भएका साइकलहरु भारतीय क्षेत्रमा पुग्ने गरेको बारे पनि पीडितहरुले खुलाएका छन् । यहाँबाट चोरी गरे रुपईडिहा स्थित कबाड पसलमा ४।५ सय रुपैयामा बिक्री हुने गरेको सुनिएको छ, अर्का पीडित नेपालगन्ज १७ परसपुर बस्ने श्याम कुमार बढहीले भने, ‘हराएको साइकल फेला नपर्ने विश्वासले गर्दा प्रहरीमा उजुरी नगरेको हुँ ।’
लेखापढी ब्यवसायी जगदम्बा पाठकले आफ्नै अफिस अगाडीबाट मंगलवार सफिउद्दीन खाँको साइकल चोरी भएको खुलाए । ‘साइकल चोरी पछिल्लो महिनाबाट निकै बढेको छ’, उनले भने, ‘दिनहुँ ३।४ वटा साइकल चोरी भएको खबर सुन्नमा आउँछ ।’
साइकल धेरै महंगो नपर्ने र उजुरी गर्दा पनि पुनः पाउन सक्ने आश नभएकोले पीडितहरु प्रहरीमा नपुगेको पाठकको ठम्याई छ । उनले चोरी गर्नेहरु सेवाप्रदायक कार्यालय र भिड बाटै साइकल चोरी गर्ने गरेको बताए ।
धम्बोझी स्थित भेरी फर्नीचरमा काम गर्ने दीपक यादवले पनि एक साता अघि नापी कार्यालय अगाडीबाट आफ्नो साइकल गुमाए । साइकल चोरी सामान्य विषय हुन सक्छ, तर चोरीलाई सामान्य ढंगबाट बुझ्न हुँदैन ।

एक वर्षमा मात्र एक मुद्दा
साइकल चोरी सिलसिलेवार ढंगबाट अघि बढेपनि प्रहरीमा एक वर्ष भित्र एउटा मात्र मुद्दा दर्ता भएको खुलेको छ ।
अहिले सिलसिलेवार ढंगबाट आम नागरिकको साइकल चोरी भइरहँदा बाँके प्रहरीमा एक वर्ष भित्र मात्र एउटा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा इन्चार्ज बीर बहादुर थापाले एक महिना अघि भेरी अंचल अस्पतालबाट चोरी गर्दै अवस्थामा पक्राउ परेका एक जना माथि मुद्दा चलाएको बताए ।
‘सबै पीडितहरु प्रहरीलाई चोरी भएको बारे सूचना दिए हामी पनि बेलैमा काम गर्छौं’, दैनिक नेपालगन्ज संग थापाले भने, ‘चोरी भएको बारे सूचना र उजुरी केहि आएको छैन ।’ उनले सबै पीडितहरुलाई प्रहरीमा उजुरी गर्न आग्रह गरे ।
सामान्य रुपमा साइकल चोरीलाई गम्भिर नमानेर पीडितहरु नआएको हुनु पर्छ, थापाले भने, यस बारे हामी पनि अनुसन्धान अघि बढाउँछौं । निरन्तर यसरी चोरी हुनु गम्भिर विषय भएको उनले बताए ।

महंगो साइकलको चिन्ता
साइकल भन्ने वित्तिकै मानिसको मनमा एउटा चित्र आउँछ, जसले साइकलको मुल्यांकन ५ देखि ७ हजार सम्म निर्धारण गर्छ । तर त्यसो रहेनछ, नेपालगन्जका सडकमा एक लाख ५० हजार रुपैया“ सम्मका साइकल गुड्छन् ।
गत वर्ष पौष महिनामा २८ हजार रुपैया“को साइकल गुमाएका साहित्यकार भोजराज शर्माले महंगो साइकल जोगाउनै गार्हो भएको बताए । यद्यपि, साइकल चोरीको अनुपात महंगो भन्दा सस्तो साइकलको धेरै छ ।
शर्माले साइकल गुमाएपछि प्रहरीमा उजुरी गरे । प्रहरीले दुई तीन दिन सम्म झारो टार्ने प्रयास गर्यो, त्यसपछि
शर्मालाई प्रतिक्रिया आयो, साइकल भेटाउन गार्हो छ । त्यस पछि म निराश भएर फर्किएँ दैनिक नेपालगन्ज संग शर्माले भने, साइकल चोरीको विषयमा प्रहरीले राम्रो सहयोग गरेन ।
विस्तारै मोटरसाइकल र चारपांग्रे तिर मानिसको आकर्षण बढिरहेका बेला नेपालगन्जमा हालै नेपालगन्ज साइकिलिंग क्लब गठन गरेर युवाहरु स्वास्थ्य र साइकललाई समाजमा सम्मानित अवस्थामै कायम राख्न प्रयास थालेका
छन् ।
साइकल महत्वको विषय र मानप्रतिष्ठा भन्दा बाहिर राखेर हेने समाजमा एक लाख ५० हजार सम्मका साइकल गुड्न थालेका छन्, क्लबका सचिव गगन थापाले भने, साइकल चोरीको चिन्ता सबैलाई हुन्छ । निश्चिन्त भएर पार्किंग गर्ने स्थान नै छैन नेपालगन्जमा, सचिव थापाले भने, हेर्दा सस्तो देखिने साइकल चोरी भएपछि निकै दुःख हुन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया