होटल व्यवसायीहरुको साझा नेतृत्वका रुपमा रहेको होटल व्यवसायी महासंघको कमजोरीका कारण व्यवसायिक मुद्दा कमजोर भएको भन्दै नेतृत्वको आलोचना भएको छ । शनिबार चितवन पश्चिमका व्यवसायिक अगुवाहरुको नेपालगन्जमा भएको भेलामा होटल व्यवसायी महासंघको नेतृत्व असक्षम भएको भन्दै चर्को आलोचना भएको हो । ‘महासंघ प्यारालाइज्ड भएको छ’, चितवनमा एक बर्षअघि भएको महाधिवेशनबाट वहिष्कार गर्दै बाहिरिएका तत्कालीन वरिष्ठ उपाध्यक्ष भाष्कर काफ्लेले भने ।
होटल व्यवसायी संघ नेपालगन्ज बाकेको १४औं बार्षिक साधारणसभामा आमन्त्रित विभिन्न जिल्लाका होटल व्यवसायी संघका अध्यक्ष सहितको भेलामा काफ्लेले भने, ‘नेतृत्वको असक्षमताले व्यवसायिक मुद्दाहरु कमजोर भए ।’ काफ्लेले अगुवा व्यवसायीहरुलाई सम्बोधन गर्दै महासंघ स्थापनाताकाको संघर्ष र संस्मरण पनि सुनाए । बाके शाखाका पूर्व अध्यक्ष समेत रहेका काफ्लेले बा“केबाटै महासंघको परिकल्पना गरिएको बताए ।
भेलामा निकै भावोत्तेजनामा आएका काफ्लेले व्यवसायिक हक, हितका लागि साझा मञ्च निर्माण गर्ने आफुहरुको उद्देश्य विपरित महासंघको पछिल्लो नेतृत्व अगाडी बढेको टिप्पणी गरे । ‘चितवन महाधिवेशन गुण्डागर्दीका आडमा गरिएको नौटंकी थियो’, तत्कालीन वरिष्ठ केन्द्रीय उपाध्यक्ष काफ्लेले भने, ‘परिणामतः नेतृत्वले काम गर्न सकेन, महासंघ छिन्न भिन्न भयो ।’
‘मुलुक अब प्रादेशिक संरचनामा अगाडी बढेकाले सोही अनुरुप महासंघलाई पुनर्संरचित गर्नुपर्छ’, काफ्लेले प्रदेश ५, ६ र ७ का प्रतिनिधिमूलक व्यवसायीहरुसग भने, ‘यसको पहल बा“केबाटै सुरु गरिनेछ ।’ काफ्लेका अनुसार, भेलाले प्रादेशिक संरचनामा महासंघलाई लैजाने कुराको सैद्धान्तिक सहमति पनि दिएको छ । ‘छिट्टै बृहत भेलाबाट प्रादेशिक कमिटिको गठन गरिनेछ’, उनले भने ।
भेलामा महासंघका केन्द्रीय सल्लाहकार समेत रहेका होटल व्यवसायी संघ बुटवलका पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठले बा“केको प्रस्ताव र रुपन्देहीको समर्थनमा भएको महासंघको स्थापना घरको न घाटको भएको टिप्पणी गरे । अमृत भुजेलको नेतृत्व पूर्णत असफल साबित भएको टिप्पणी गर्दै सल्लाहकार श्रेष्ठले भने, ‘वरिष्ठ उपाध्यक्ष बैठक बहिष्कार गरेर बसेका छन्, महासचिवले माइन्युट नगर्ने घोषणा गरिसकेका छन् ।’ श्रेष्ठले असन्तुष्टहरुलाई सम्बोधन गर्दै महासंघलाई सबैको साझा र सफल बनाउन वर्तमान कार्यसमितिले राजिनामा दिएर महाधिवेशन आयोजना गर्नेतिर अगाडी बढ्नु पर्ने बताए । होटल व्यवसायी संघ नेपालगन्ज बाकेका अध्यक्ष निम बहादुर थापाको अध्यक्षतामा भएको भेलामा केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, कोहलपुरका अध्यक्ष बलराम भट्टराई, बर्दिया अध्यक्ष तुलसी तिमिल्सिना लगायत विभिन्न जिल्लाका अध्यक्षहरुको सहभागिता रहेको थियो ।
चितवनमा गत बर्ष भदौ १४ गते आयोजना भएको महाधिवेशनमा गैर व्यवसायीलाई अवैध रुपले प्रतिनिधि बनाइएको भन्दै तत्कालीन वरिष्ठ उपाध्यक्ष भाष्कर काफ्ले सहित २४ जिल्लाले महाधिवेशन निर्वाचन प्रक्रिया बहिष्कार गरेर बाहिरिएको थियो ।
बाकेमा बाछिटा
होटल व्यवसायी संघ नेपालगन्ज बाकेको साधारणसभामा केन्द्रीय महाधिवेशन बहिष्कारको बाछिटा देखा परेको छ । भेला चल्दै गर्दा एउटा समूहले पर्चा बाडेर विवादका बाछिटा छरेको हो । ‘होटल व्यवसायी संघ बाकेले महासंघ विरुद्ध गरेको निर्णय सच्याउनु पर्ने लगायत ३ बुंदे अपिल लिएर प्रेम लाल खरेल र दिपेन्द्र जोशी भेला प्रवेश गरेका हुन् । त्यसअघि १४ जनाको हस्ताक्षर सहितको प्रेस विज्ञप्ति जारी गरेका उनीहरुले भेलामा पर्चा वितरण गरी बाहिरिएका थिए । यद्यपि, हस्ताक्षर गरेका प्रदेश ५ का संयोजक तुल बहादुर कंडेल भेलामै सहभागी थिए । ‘अधिकांसका हस्ताक्षर नक्कली गरिएका छन्’, संघका महासचिव भीमलाल कंडेलले दाबी गरे ।