सिक्टा कर्मचारीले जिल्ला डुबाए, बाँकेमा बाढीले ‘तबाही’

विनय दीक्षित

बाँकेमा सिंचाईका लागि निर्माणाधीन रहेको सिक्टा सिंचाई आयोजनाका कर्मचारीको हर्कत र लापरवाहीका कारण राप्ती तटीय क्षेत्रमा ठूलो भौतिक क्षति भएको खुलेको छ । घटनामा तीन जनाले ज्यान गुमाउनु पर्यो ।
सिक्टा सिंचाई आयोजनाको अगैया स्थित पुलमा रहेका १८ वटा ढोकाबाट राप्ती नदीको पानी निकास छ । तर, १२ वटा ढोका बन्द हुँदा पानी जमेका कारण गाभरको पुल बाँचियो । गाभर बस्ती, सिक्टा, अगैया बजार समेतमा पानी पस्यो । जलस्तर बढ्दै गएपछि अगैयाका बासिन्दाले सुतिरहेका सिक्टा कर्मचारीलाई उठाएर थुनिएको १२ वटा ढोका खोल्न लगाए ।

 

 
‘बाढीको स्तर बढ्दै जाँदा पनि अचेत सुतेका कर्मचारीले कुनै चाल नगरेपछि हामीले जगाएर ढोका खोल्न लगाएका हौं’, दैनिक नेपालगन्ज संग स्थानीय सितल चौधरीले भने, ‘नत्र पूरै अगैया डुब्ने खतरा बढेको थियो ।’
घटना शुक्रवार राति २ः३० बजेको हो । स्थानीयहरुका अनुसार पानी अगैया बजारमा पस्ने खतरा बढेपछि ढोका खोल्न लगाइएको हो । कर्मचारीले पानी निकासका लागि १४ वटा ढोका सँधै खुल्ला राख्नु पर्ने प्रावधान छ । ट्रायल चेकमा रहेको उक्त नहर परियोजनाका कर्मचारीले गरेको लापरवाहीका कारण तीन जनाले ज्यान गुमाए ।
राप्ती सोनारी, डुडुवा र नरैनापुर गाउँपालिकामा अधिकाँश घरमा छाक टार्ने जोहो रहेन । कपडा लत्ता र खाद्यान्न समेत केहि बचेन । ‘सिक्टा कर्मचारी उठ्दा विद्युत थिएन’, एक प्रत्यक्षदर्शीले भने, ‘जेनरेटर चलाएर एकै पटक सबै ढोका खोलेका कारण राप्ती क्षेत्रमा ठूलो क्षति हुन गएको हो ।’

 
सिक्टा भन्दा तलको बैसा, नवलपुर, खैरेनी, लालपुर, धामपुर, भवनियापुर, परसुरामपुर जस्ता गाउँमा सयौं घर ध्वस्त भए । सयौं घरबास विहिन अवस्थामा पुगे । यति भिषण बाढी आउनुको पछि अचानक ढोका खुल्नु नै हो, राप्ती सोनारी ५ ललहीका गणेश कुमार थारु भन्छन् हामी सुतिरहेको अवस्थामा अचानक ओछ्यानमा पानी पुग्यो, ।
‘यति बेगमा आएको बाढीले केहि सोच्ने मौका दिएन, ज्यान जोगाउनु बाहेक कुनैपनि सम्पत्ती सुरक्षित गर्न सकिएन’, उनले भने, ‘कर्मचारीहरुलाई कारवाही गर्नु पर्छ ।’ दैनिक नेपालगन्ज संग थारुले भने, ‘हामी सुतेका थियो अचान पानी कम्मर मुनि सम्म पुग्यो ।’

 
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत पौडेलले सिक्टाबाट भएको लापरवाहीको अवस्था बारे जाँच गर्ने बताएका छन् । उनले भने, ‘हामी यसमा के कसो भएको हो जानकारी लिन्छौं ।’

 
बाँकेमा आएको बाढी र त्यसबाट भएको तबाहीको जिम्मेवार सिक्टा कर्मचारीले अब के कारवाही खेप्ने ? उनीहरु माथि कारवाही गर्दा के ज्यान गुमाएका ब्यक्तिहरु जीवित हुन्छन् ? भौतिक संरचना पुनः चुस्त हुन्छ ? मानवीय संवेदना माथि कर्मचारीको कति ठूलो मजाक हो ?

बाँकेमा बाढीले ‘तबाही’
पछिल्लो दुई दसक देखि बाँकेको बाढीले चर्चा लिँदै आएको छ । २०७१ साल साउन २९ गतेको बाढीलाई राम्ररी विर्सिन नसकेका राप्ती तटीय क्षेत्रका बासिन्दाले शनिवार साउन २८ गते त्यस्तै किसिमको अर्को भीषण बाढीको सामना गर्नु पर्यो ।
यद्यपि वर्षा हरेक वर्ष हुन्छ । कुनै बेला बढि वा कुनै बेला घटि हुने प्राकृतिक कारण हो । राप्ती नदीमा पानीको बहावलाई अवरोध गर्ने गरी भारतले निर्माण गरेको कलकलवा मर्जिनल तटबन्ध बाँकेमा डुबानको मुख्य कारक तत्व भएको बाढी विश्लेषकहरुले भन्दै आएका छन् ।
‘बहावलाई अवरोध गर्दा पानी जम्नु पर्ने हो, भीषण बहावका साथ आउनु चिन्ता जनक लाग्यो’, दैनिक नेपालगन्ज संग कुरा गर्दै होलियाका ८६ वर्षिय देवीराम केवटले भने, ‘यति तीब्रताका साथ मेरो जीवनमा आएको यो दोस्रो बाढी हो ।’
‘२०७१ साल श्रावण २९ गते आएको बाढी पनि यस्तै बेगका साथ आएको थियो’, केवटले भने । ‘कुनै स्थानमा पानी रोकेर अचानक छोडे जस्तो भयो, हेर्दा हेर्दै कम्मर माथि सम्म पानी भयो’, उनले भने, ‘सुरक्षित स्थानमा पुग्न समेत मौका मिलेन ।’
यस्तै अनुभव छ राप्ती सोनारी गाउँपालिका वडा नं.६ बस्ने मिश्रीलाल मौर्यको । ‘शनिवार विहान करिब ४ बजेको समयमा खाटमा पानी पुग्यो, बच्चा बच्चीलाई उठाउँदै गर्दा १० मिनेटमा कम्मर माथि सम्म पानी पुग्यो’, उनले भने, ‘यति तीब्रताका साथ पानी बढेको यो दोस्रो पटक हो ।’ २०७१ र २०७४ मा आएको बाढीमा समानता रहेको अधिकाँशको दावी छ । राप्ती तटीय बासिन्दा सरु चौधरी भन्छन्, ‘यस्तो किसिमको बाढी मैले हेरेको थिएन ।’ ‘तीब्र बहावका साथ अचानक पानी बढेको देखेर सबै हतास भए, चारैतिर भागाभाग भयो, कसैले केहि बुझ्ने मौका नै पाएनन्’, बाढीको प्रत्यक्ष अनुभव सुनाउँदै उनले भने, ‘वर्षाका कारणले मात्रै यति बाढी आउँदैन ।’
भारतले प्राकृतिक बहाव छेकवार गरेपछि पानीको निकास थुनिएको र बहाव साँघुरिएबाट बाँकेको फत्तेपुर, होलिया, गंगापुर, मटेहिया र बेतहनी सम्म जलभरावको असर देखा पर्दै आएको हो । तर, जेष्ठ नागरिकहरु भारतीय बाँधका कारण तीब्र बहावका साथ पानी आउनुलाई अस्वभाविक मान्दै आएका छन् ।
२०७१ सालमा राप्तीपुल नजिक भारतीय निर्माण कम्पनी जीभीआर इन्फ्रा प्रोजेक्ट लिमिटेड चेन्नईले हुलाकी सडक निर्माण गरिरहेको थियो । सो सडकका कारण पानी छेकिएको र अचानक सडक टुटेपछि तटीय क्षेत्रका बासिन्दाले ठुलो क्षति ब्यहोर्नु परेको थियो ।
यो बाढी पनि त्यसै किसिमको देखापरेपछि स्थानीयहरु चकित रहेकै बेला राप्ती सोनारी गाउँपालिकाबाट केहि बासिन्दाहरु सम्पर्क आएपछि खुल्यो, तीब बहावको बहावको बाढीको कारण ।
सिक्टा सिंचाई आयोजनाको पुलमा पानी रोकिएको र अचान छोडिएको कारण जिल्ला भित्र ठूलो भौतिक क्षति भयो ।

प्रतिक्रिया

प्रतिक्रिया