नेपालगन्जन्यूज । खजुरा गाउँपालिकाका वडा नं. ३ का अध्यक्ष कान्तुराम गौतम हतारिदै थिए । उनलाई वडा भेलामा जानु पर्ने थियो । साउन १५ सम्ममा सबै वडाहरुमा वडा भेला गरी योजनाहरु गाउँपालिकामा पेश गर्नुपर्ने निर्णय गरेको छ कार्यपालिकाले । गोजीमा रहेको कागज देखाउदै नेपालगन्जन्यूजसंग उनले भने, हाम्रो वडामा करिब १६ किलोमिटर बाटो ग्राभेल गर्नै बाँकि रहेछ । यसपालि यसैमा फोकस भएर योजना बनाउनु पर्छ होला ।
खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिका अनुसार, गाउँपालिकाले गाउँपरिषद्का लागि तयारी शुरु गरेको छ । योजना कार्यान्वयनका लागि यस पाली बजेट फ्रिज नहुने गरी काम गर्नु पर्ने छ, उनले भने ।
खजुरालाई नमूना बनाउने उद्घोष गर्दै निर्वाचनमा विजयी भएका अध्यक्ष किस्मत कुमार कक्षपती भन्छन्, ‘यसको छनक हामीले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमले दिनुपर्छ ।’
यसका लागि आगामी वर्षको नीति तथा कार्यक्रम निर्माणका लागि विभिन्न छलफलहरु गाउँपालिकाले आयोजना गरेको बताए । ‘हामीले स्वास्थ्य संस्था, सामुदायिक विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, नीजि विद्यालयहरुका प्रतिनिधीहरु, कृषि तथा भेटनरी कार्यालयका प्रतिनिधीहरु लगायतसंग छलफल गरेका छौं ।’ खजुराको विकासका लागि सबैसंग हातेमालो गर्दै अघि बढ्ने योजना अनुरुप नै छलफललाई अझ बढि घनिभूत बनाउने उनले बताए ।
खजुरा गाउँकार्यपालिकाको निर्वाचन सम्पन्न भएपछिको पहिलो पूर्ण बैठकले कामको गतीलाई तीव्रता दिएको छ । बैठकले कार्यपालिकाका सदस्यहरुको कार्यविभाजन गरेको छ ।
वडा नं. १ का वडा अध्यक्ष सुमन मल्ललाई आर्थिक विकास र सार्वजनिक सेवा तथा क्षमता विकासमा वडा नं. २ का अध्यक्ष देवीलाल शर्मालाई जिम्मेवारी दिएको छ । यसैगरी पूर्वाधार विकासमा ७ नंं. वडाअध्यक्ष अतिउल्ला खाँ, विधेयक समितीमा तीलकवीर सुनार, वातावरण तथा विपद्मा कान्तुराम गौतम र सामाजिक विकासमा वडा नं. ५ का अध्यक्ष देवेन्द्रमान श्रेष्ठलाई जिम्मेवारी दिएको छ । यो समग्र गाउँपालिकाको जिम्मेवारी हो । उहाँहरु एक प्रकारले मन्त्री नै हो गाउँपालिकाको । खजुरा गाउँपालिकाका कार्यकारी अधिकृत बाबुराम सुनारले नेपालगन्जन्यूजसंग भने ।
गाउँपालिकाका उपाध्यक्ष एकमाया विकको नेतृत्वमा राजस्व परामर्श समिति बनाएको छ । यो समितिले गाउँपालिकाको आर्थिक ऐनका आधारमा राजस्वका दर र दायरा तोक्ने जिम्मेवारी रहेको छ ।
गाउँपालिकाको गाउँसभामा प्रस्तुत गर्ने वजेट तथा कार्यक्रमका लागि श्रोत अनुमान र बजेट सीमाका लागि अध्यक्ष किस्मत कुमार कक्षपतीको संयोजकत्वमा समिती निर्माण गरेको छ । यसैगरी बजेट तथा कार्यक्रम तर्जुमाका लागि उपाध्यक्षको संयोजकत्वमा समिती निर्माण गरेको छ ।
गाउँपालिकाको बैठकले स्थानीय तहको विनियोजन ऐन २०७४ र स्थानीय तहको आर्थिक ऐन २०७४ समेत पारित गरेको छ । ‘यहि आर्थिक ऐनका आधारमा हामीले कर लगाउन पाउने छौं ।’ कार्यकारी अधिकृत बाबुराम सुनारले भने । आर्थिक ऐनमा गाउँपालिकाले सम्पत्ती कर, भूमि कर, घर बहाल कर, व्यवसाय कर, सवारी साधन कर, विज्ञापन कर लगायतका करहरु उठाउन पाउने उल्लेख छ । यसैगरी कुनै पनि प्रकारका करमा छुट नदिइने प्रावधान रहेको नेपालगन्जन्यूजसंग उनले बताए ।
गाउँपालिका बैठकले खजुरा गाउँसभा संचालन कार्यविधि २०७४, खजुरा गाउँ कार्यपालिकाको बैठक संचालन सम्बन्धि कार्यविधि २०७४, गाउँ कार्यपालिका कार्यविभाजन नियमावली २०७४ र गाउँ कार्यपालिका कार्यसम्पादन नियमावली २०७४ समेत पारित गरेको छ ।
कार्यकारी अधिकृत बाबुराम सुनार भन्छन्, अब गाउँपालिकालाई काम गर्न सहज भएको छ ।
जम्मा ८ वडा रहेको खजुरा गाउँपालिकाको १० हजार २ सय ८८ घर धुरी रहेको छ । यसैगरी पछिल्लो जनगणना अनुसार गाउँपालिकाको जनसंख्या ५० हजार ९ सय ६१ छ ।
खजुरामा यस वर्ष वित्तीय समानीकरण २४ करोड ३५ लाख १५ हजार र शशर्त अनुदान १५ करोड ५४ लाख ८२ हजार गरी ३९ करोड ८९ लाख ९७ हजार बजेट प्राप्त भएकाे प्रमुख कार्यकारी अधिकृत बाबुराम सुनारले जानकारी दिए ।