दुई दिन देखि अस्पतालमा सुरक्षा माग गर्दै आन्दोलनमा उत्रिएका बाँकेका डाक्टरहरुले बुधवार आन्दोलन फिर्ता लिएका छन् । नेपालगन्ज स्थित माँ जानकी अस्पतालमा डाक्टरहरु माथि हातपातको प्रयास भएको र अस्पतालमा तोडफोड भएको विषयलाई लिएर बाँकेका अस्पतालहरुले इमरजेन्सी बाहेक सबै प्रकारको सेवाहरु ठप्प पारेका थिए ।
कोहलपुर बस्ने नारायण भट्टराई (सेलुलिटीज) को विरामी भएका कारण २०७४ बैशाख ३२ गते माँ जानकी अस्पतालमा भर्ना भएको र उपचार सम्भव नभएपछि २०७४ जेष्ठ ८ गते लखनउ रेफर भई उपचार गराएको र त्यहाँबाट फर्किएर काठमाण्डौको बीएनबी अस्पतालमा उपचार गराउँदा निजको बाँया खुट्टा काट्नु परेको थियो ।
घटनाको तीन महिना पछि २०७४ असार २८ गते दिउँसो १ः०० बजेको समयमा माँ जानकी अस्पतालमा नारायण भट्टराई सहितको एउटा समूहले क्षतिपूर्ति वापत १५ लाख तिर्नु पर्यो भन्दै आक्रमण गरेको आरोप सहित चिकित्सकहरुले सो विरुद्ध आन्दोलन थालेका थिए ।
चिकित्सकले आक्रमणको विषयमा प्रहरी र बाँके प्रशासनमा तत्कालै कारवाहीका लागि उजुरी दिएपनि कारवाही नभएपछि आन्दोलनमा उत्रिएको बताएका छन् । जानकी अस्पतालका डा.श्याम सुन्दर यादवले भययुक्त वातावरणमा काम गर्न नसक्ने स्थिति विद्यमान भएकोले बाध्य भएर आन्दोलन गर्नु परेको बताए ।
बाँके प्रहरी प्रमुख एसपी टेक प्रसाद राईले पाँच जना माथि सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको बताए । उनले सन्दीप सिंह, महेश खतिवडा लगायत पा“च जना माथि मुद्दा दर्ता गरिएको बताए ।
प्रहरीले सन्दीप सिंह र महेश खतिवडालाई बुधवार साँझ पक्राउ गरेको जनाएको छ । ‘मुद्दामा भएका ब्यक्तिहरुलाई हामीले तत्कालै पक्राउ गर्छौैं’, दैनिक नेपालगन्ज संग कुरा गर्दै एसपी राईले भने, ‘कानून विपरीत काम गर्ने कुनै पनि ब्यक्तिलाई छुट मिल्दैन ।’
खुट्टा गुमाएका नारायण भट्राईले कुनैपनि चिकित्सकले गलत उपचार भएको प्रमाणित नगरेपनि आफुलाई गलत उपचार भएको लागेर क्षतिपूर्ति माग्दै आन्दोलन गरेको बताए । उनले लखनउमा र काठमाडौमा उपचार गराएपछि आफुले जानकारी पाएको दावी गरे । यद्यपि कुनै पनि अस्पतालले जानकी अस्पतालमा गलत उपचार गरेको विषयमा लेखेर नदिएको उनले जानकारी दिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले माँ जानकी अस्पताललाई वास्तविकता बारे लिखित रुपमा जानकारी गराउन पत्राचार गरिएको बताए । बाँकेमा चिकित्सकहरुको आन्दोलनका अस्पताल, मेडिकल कलेज, क्लिनिक लगायतको सेवा अवरुद्ध भएको थियो । दुई जनालाई पक्राउ गरेपछि चिकित्सकहरुले आन्दोलनको सबै कार्यक्रमहरु फिर्ता लिएको जनाएका छन् । बाँके प्रहरीले पाँच जना माथि मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाएपछि चिकित्सकहरुले आन्दोलन फिर्ता लिएका हुन् ।
जिल्ला प्रशासन कार्यालयबाट सन्दिप सिंह र महेश खतिवडालाई पक्राउ गरी कानुनी कारवाही अगाडी बढाएको जानकारी आएपछि बुधबार साझ साढे ५ बजेदेखि आन्दोलनका कार्यक्रम फिर्ता गरिएको नेपाल चिकित्सक संघ भेरीका सचिव डा. आरके झाले विज्ञप्ति मार्फत जनाएका छन् ।
कार्यकर्ता पक्राउ परेपछि आन्दोलन
अस्पतालमा अभद्रता र तोडफोड गरेको भन्दै दर्ता भएको सार्वजनिक अपराध मुद्दामा प्रहरीले दुई जनालाई पक्राउ परेपछि युवासंघ बाँकेका कार्यकर्ता आन्दोलनमा उत्रिएका छन् । उनीहरुले बुधवार एक घण्टा बन्दको आव्हान गरेका छन् ।
कोहलपुरका बासिन्दा नारायण भट्राईको खुट्टा काटिएको विषयमा क्षतिपूर्ति माग गर्न गएको घटनालाई सार्वजनिक अपराध बनाएर आफ्ना कार्यकर्तालाई फसाउन खोजेको आरोप युवा संघको छ ।
युवा संघले अस्पताल र प्रहरी, प्रशासनको आलोचना पनि गरेको छ । प्रहरीले सन्दीप सिंह र महेश खतिवडालाई पक्राउ गरेपछि संघका युवाहरुले बन्द गरेको हुन् । उनीहरुले अस्पतालहरुमा हुने गरेका लापरवाही रोक्न प्रशासन अझ गम्भीर हुनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।
‘दोषीलाई कारवाही गर्ने साटो पीडितको गुनासो लिएर जानेहरु माथि सार्वजनिक अपराध मुद्दा लगाइएको छ’, युवा संघ कावा अध्यक्ष मिलन शाहले भने । युवा संघका कार्यकर्ताहरुले कोहलपुर चौराह र नेपालगन्जको विपी चोकमा विरोध प्रदर्शन पनि गरेका थिए । उनीहरुले चिकित्सकलाई कारवाहीका लागि दिइएको उजुरी उपर सुनुवाई गरी पीडितलाई क्षतिपूर्ति दिन स्थानीय प्रशासनको ध्यानाकर्षण पनि गराएका थिए ।