नेपालगन्ज उपमहानगरपालिका लगायतका स्थानीय तहको कार्यपालिकाले सोमवारबाट पूर्णता पाएको छ । कोहलपुर बाहेक बाँकेका ७ स्थानीय तहको कार्यपालिका निर्वाचन सकिएको हो । ‘कोहलपुरको बुधवार राखिएको छ,’ मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेका प्रवक्ता नारायण सापकोटाले नेपालगन्जन्यूजसंग भने । सोमवार स्थानीय तहमा महिला तथा दलित/अल्पसंङ्ख्यक समुदायबाट प्रतिनिधित्व हुने गरि कार्यपालिका सदस्यहरुको निर्वाचन भएको हो ।
निर्वाचनबाट प्राप्त परिणाम अनुसार, नेपालगन्जमा कांग्रेस, फोरम, माओवादी केन्द्र र राप्रपाको महागठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । विजयी उम्मेदवारहरुमा दलित अल्पसंङ्ख्यकबाट कांग्रेसका देवेन्द्र पाल सिंह, माओवादी केन्द्रका देउमल सुनार, संघीय फोरमका कौसलकुमार धोवी रहेका छन् । महिला तर्फ राप्रपाका इन्दिरा कुमारी शाही र मन्जु वादी, कांग्रेसका बसन्ता जोशी, माओवादी केन्द्रका सीमा कशौधन र फोरम नेपालका नन्कै पठानी रहेका छन् । कार्यपालिकाको यो निर्वाचन पछि नेपालगन्ज उपमहानगर–पालिकाको ३३ सदस्य कार्यपालिकामा कांग्रेसका उपमेयर सहित ११ जना, माओवादी केन्द्रका ६, राप्रपाका मेयर सहित ६, एमालेका ६, संघीय समाजवादी फोरमका ४ जना सदस्यहरु रहने छन् । उपमहानगर–पालिकाको कार्यपालिका कार्यकारी अधिकार सहितको रहने हालै संघीय तथा स्थानीय विकास मन्त्रालयले जारी गरेको स्थानीय तह सम्वन्धी आदेशमा उल्लेख गरिएको छ । जानकारहरु भन्छन्, ‘कसैको पनि बहुमत नरहेको उपमहानगरपालिकामा काम गर्न सहकार्य र सहमतीको टड्कारो खाँचो छ ।’ यद्यपी सोमवार भएको निर्वाचनमा नगरसभामा २० मत रहेको एमालेलाई बाहिरै राखेर कांग्रेस, राप्रपा, संघीय फोरम र माओवादी केन्द्रले बनाएको महागठबन्धनले भने चुनौती थपिदिएको छ । ‘नगर प्रमुख डा. राणाले मिलाएर जानु पथ्र्यो’, जानकार भन्छन् ।
बैजनाथ गाउँपालिकाको गाउँकार्यपालिकामा महिलाबाट पद्मा रोकाया, लक्ष्मी थारु, संगीता सुनार र रामकुमारी गुरुग तथा दलित अल्पसंङ्ख्यकबाट गुमान बहादुर दमाई र मेघ सुनार निर्वाचित भएका छन् । यी सबै नेकपा एमालेका उम्मेदवारहरु हुन् । बैजनाथ गाउँपालिकाको १६ सदस्यीय कार्यपालिकामा एमालेका अध्यक्ष, उपाध्यक्ष सहित १३ सदस्य रहेका छन् । कांग्रेस २ र माओवादी केन्द्रका १ वडा अध्यक्ष निर्वाचित भएका थिए । ‘सानदार बहुमतले कार्यपालिका चयन गरिएको छ,’ एमाले नेता प्रेम सुवेदीले भने ।
निकै कडा प्रतिष्पर्धा भएको जानकी गाउँपालिकामा भएको निर्वाचनमा ५ सदस्यहरु गोलाप्रथाबाट निर्वाचित भएका छन् । कुल ३२ जना गाउँ सभाका सदस्यहरुले मतदान गरेको निर्वाचनमा एमालेका ४ सदस्यहरु गोलाप्रथाबाट निर्वाचित भएका हुन् । निर्वाचित सदस्य मध्ये एमालेका राजकुमार धोबीले १७ मत प्राप्त गरी विजयी भए । गोलाप्रथाबाट भएको निर्णय अनुसार, एमालेका टिकाराम सुनार विजयी भए । त्यस्तै, महिला तर्फबाट एमालेका विमती सुनार, धर्मा थापा र जल बर्षा हरिजन तथा माओवादी केन्द्रका रजनी शर्मा विजयी भएका छन् । कार्यपालिकाको पुर्णतासंगै जानकी गाउँपालिकाको कार्यपालिका १४ सदस्यीय बनेको छ । यस मध्ये एमालेका अध्यक्ष, उपाध्यक्ष सहित १० जना, कांग्रेसका १, माओवादी केन्द्रका २, र संघीय फोरमका १ जना रहेका छन् ।
डुडुवामा भएको निर्वाचनमा महिला सदस्यमा कांग्रेसका सुष्मा यादव तथा एमालेका कमला शाही र रिता परियार विजयी भएका छन् । दलित तथा अल्पसंङ्ख्यकबाट कांग्रेसका ढोडे पासी र नन्कन्ना बढही विजयी भएका छन् । १४ सदस्यीय डुडुवा कार्यपालिकामा कांग्रेसका ८, एमालेका ३, संघीय फोरमका २, लोकतान्त्रिक फोरमका १ जना रहेका छन् । मतदानमा काँग्रेसलाई एमालेले साथ दिएपछि यो परिणाम निस्किएको हो ।
यस अघि नै खजुरा र राप्ती सोनारी गाउँपालिकामा कार्यपालिकाको निर्विरोध निर्वाचन भएको छ । १६ सदस्यीय खजुरा गाउँपालिकामा एमालेका अध्यक्ष, उपाध्यक्ष सहित १३ सदस्य रहेका छन् । कांग्रेसका २ र माओवादी केन्द्रका १ सदस्य रहेका छन् ।
वडाध्यक्ष खुम बस्नेतका अनुसार, १७ सदस्यीय राप्ती सोनारी गाउँपालिकामा बहुमत १३ जना काँग्रेस, ३ जना माओवादी र एक जनामात्र एमालेको प्रतिनिधित्व छ ।
नरैनापुरमा संघीय समाजवादी फोरमले एकलौटी कार्यपालिका बनाएको छ । फोरमका केन्द्रीय नेता मो. इस्तियाक राईका अनुसार, १४ सदस्यीय कार्यपालिकामा ११ जना फोरमबाट र ३ जना नेपाली काँग्रेसबाट छन् । कार्यपालिकाको निर्वाचनमा ६ वटै सदस्य फोरमले विजयी हासिल गरेको हो ।