किरण ढकाल
बहु प्रतिक्षित स्थानीय तह चुनावको आज मतदान गर्ने दिन, बुधवार । प्रदेश १, ५ र ७ मा आज निर्वाचन हुदैछ । यो विश्लेषण लेखिरहँदा मतदाताहरुमा निर्वाचन प्रति उत्साहजनक अवस्था छ । मतदान स्थलमा मतदाता परिचय पत्र लिन जाने लामो लाइन र चुनावी छलफलमा रहेको सक्रिय सहभागिताले मतदानको उत्साहलाई प्रमाणित गर्दछ । अपेक्षा के गरिंदैछ भने, ‘घरमा रहेका मतदाताहरु सबै आजको निर्वाचनमा सहभागी हुँदैछन्।’
नागरिक सहभागिताले यो निर्वाचन ऐतिहासिक हुदैछ । बाँकेका ८ स्थानीय तहमा निर्वाचन हुदैछ । र बाँकेका करिब २ लाख ४६ हजार १ सय ३ मतदाताले आफ्नो मत दिंदैछन् । जनताका मतद्वारा निर्वाचित जनप्रतिनिधिहरुले संचालन गर्ने शासन प्रणालीले लोकतन्त्रलाई दिगो, सबल र संस्थागत गर्न मद्दत पुरयाउँदछ ।
विगत १५ वर्ष देखि जनप्रतिनिधि विहिन स्थानीय तहले निर्वाचन मार्फत जनप्रतिनिधि पाउँदैछ । राजनीतिशास्त्री जनार्दन शर्माले दैनिक नेपालगन्जसंगको एक भेटमा भनेका थिए, ‘स्थानीय तह निर्वाचनले भुईतहमा लोकतन्त्रलाई संस्थागत गर्छ । राजनीति भित्रका विकृति र विसंगतीलाई समेत सफा गर्न यसले मद्दत पुरयाउँछ ।’
नेपाल पर्यवेक्षण समितिका केन्द्रिय महासचिव गोपाल योगी भन्छन्, ‘संविधानको कार्यान्वयन, स्थानीय शासनलाई जनउत्तरदायी बनाउन निर्वाचनमा सहभागिता अनिवार्य छ ।’ यो निर्वाचनको महत्व जनप्रतिनिधिको चुनाव मात्र हैन । जनताको मतले राजनीतिक दलहरु परिक्षण हुनुपर्छ भन्ने मान्यता समेत स्थापित हुनेछ यो निर्वाचन मार्फत ।
जनप्रतिनिधिविहीन हुँदा राजनीतिक सिण्डिकेट गाउँतहसम्म पुगेको थियो । कमिशनले नेटो काटेको थियो । जनताप्रति उत्तरदायी हुनुपर्ने आवश्यकता कसैले बोध गरेन । परिणाम स्थानीय निकाय केवल सिफारिस गर्ने अड्डा मात्र भयो ।
विकास र सम्वृद्धिका नाममा यसपटक भोट मागेका छन् दलहरुले । सबैले भौतिक विकास, गुणस्तरिय शिक्षा र पहुँचयोग्य स्वास्थ्यलाई अजेण्डा बनाएका छन् । यो १५ वर्षमा राप्ती र मानखोलामा पानी धेरै बगिसकेको छ । सिद्धान्तको खोक्रा आश्वासन हैन, विकासका योजनाहरु लागि आफ्नो मत दिनुपर्नेछ ।
यसपटकको निर्वाचन स्थानीय तहको हुँदैछ । संविधानमा नै स्थानीय तहका अधिकारहरु संरक्षित छन् । र, नेपालको संविधानले परिकल्पना गरेको स्थानीय तहका अधिकारहरुको पूर्ण कार्यान्वयन गर्न सक्ने क्षमता र विवेक भएका दुरदर्शी नेतृत्वको निर्वाचित हुनु जरुरी छ । अन्यथा लेखिएका अक्षरहरु मात्र रटेर के फाइदा ?
आफुले कानून बनाउन पाउने, नीति लेख्न पाउने र आफ्नो स्थानीय तहको आन्तरिक आयलाई अझ बढाउन पाउने भएकोले शासन गर्ने हैन, सुशासन र जवाफदेहितालाई बुझेको र जनतालाई सम्मान गर्ने व्यक्तिलाई चुनौं । ताकि हाम्रा आवाजहरु दबिने हैनन्, जनबोलीका आधारमा नीति बनोस् । जनको आवश्यकतामा योजना निर्माण
होस् । जनसहभागितामा योजना कार्यान्वयन होस् ।
अविकासको चुनौतीलाई सामना गर्न सक्ने र बाँके अझ नेपालगन्जलाई प्रदेशको महत्वपुर्ण शहरका रुपमा स्थापित गर्नु पर्ने चुनौती छ हामीसंग । लोकतन्त्रको आत्मा हो मतदान । जहाँ शक्तिशाली हुने छन् आम मतदाता । आफ्नो टोल, वडा र गाउँ तथा नगरपालिकाको सम्वृद्धि र विकासका लागि सुयोग्य पात्रको छनौट गरौं । र ताकि एक पटकको मतले पाँच वर्षसम्म ग्लानी नहोस् ।
यसैले सचेत मात्र हैन, विवेकसम्मत मतदानका लागि सबै मतदाताहरुले आआफ्नो ठाउँबाट योगदान गरौं । किनकि लोकतन्त्र हाम्रो शासनप्रणाली मात्र रहेन, यो त सभ्यता पनि हो । संस्कृति पनि हो । यसको जगेर्ना सचेत र विवेकी मतदाताको विवेकपूर्ण मतदानबाट हुने छ ।