मौन मतदाता

आइतबार राती १२ बजेबाट मौन अवधि शुरु भएको छ । यो अवधिमा दलहरुले आफ्ना लागि प्रचार प्रसार गर्न पाउने छैनन् ।

बाँकेका मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलका अनुसार, दलका चुनाव चिन्ह अंकित प्रचार सामाग्रीको प्रदर्शन गर्न पनि रोक लगाइएको छ । ‘यसको अनुगमन भइरहेको छ,’ आयोगले भनेको छ ।

नेपालगन्जका मतदाताहरुको झुकाव ठ्याक्कै देखिएको छैन । यो प्रचार अवधिमा कुनै दलका पक्षमा व्यापक जनलहर पनि आएन । र, जित्ने प्रतिस्पर्धीहरुको संख्या सांघुरिएन । र नखुलेका मतदाता कुनै दलसंग पनि लहसिएको देखिएन । तारन्तार मतदानको समय बढ्नुले चुनाव नहुने अनिश्चितता पैदा गर्यो । मतदाताहरु मज्जाले खुलेनन् ।
हुन पनि बाँकेका अन्य स्थानीय तहहरुमा मतदाताको झुकावका बारेमा निश्चित हुन सकिन्छ । प्रमुख र उपप्रमुखमा कस्को पल्ला भारी छ भनेर अन्दाज लगाउन सकिन्छ । चाहे बैजनाथ होस् वा कोहलपुर वा खजुरा । तर नेपालगन्जमा त्यो अवस्था भएन । प्रमुख ५ दलका नै उम्मेदवारहरु विचमा तीव्र प्रतिस्पर्धा छ ।

मतदाताहरु निरन्तर चलायमान छन् । तर मतदानको सम्मुखमा समेत मुख खोल्न हिच्किचाइरहेका छन् । र उम्मेदवारहरुको मुटुको धड्कन बढि चल्न सक्छ । कोही ढुक्क हुन पाएनन् । जस्ले गर्दा नखुलेका मतदातालाई पक्षमा पार्न उम्मेदवार र दलहरु यो मौन अवधिमा पनि सक्रिय हुनुपर्ने बाध्यता छ ।

चुनावमा कस्ले जित्दैछ वा को को विच मुख्य प्रतिस्पर्धा हो भनेर समेत भन्न नसकिने गरि मतदाताहरु मौन रहनु भनेको मौन अवधिमा समेत थप सक्रिय हुनुपर्ने बाध्यताको सिर्जना हो उम्मेदवारहरुलाई ।
दलहरुको प्रचारमा आम मतदाता भन्दा पनि कार्यकर्ताहरु जोडिएका छन् । यसबीच, एमाले र कांग्रेसले ठूला आमसभाहरु गरेनन् । मास परिचालन भन्दा पनि घरदैलोमा दलहरु केन्द्रित रहे । परिणाम मतदाताहरुलाई घर र टोलभन्दा बाहिर आउनु परेन ।

संचार पनि मुख्य कारक हो । एफएम रेडियो र दर्जन भन्दा बढि दैनिक पत्रिकाबाट मतदाताहरु सूचना लिइरहेका
छन् । टेलिभिजनका कार्यक्रमहरुले उम्मेदवारहरुका बारेमा परख गर्न यथेष्ट मौका दिएको छ । न्यू मिडिया भन्ने सामाजिक संजाल र अनलाइनहरु समेत मतदाताहरुलाई सूचना पुर्याउन मात्र हैन, सार्वजनिक बहसमा सहभागी हुने चौतारी बनिरहेका छन् । यस्तो बेलामा किन प्रचण्ड गर्मीमा मतदाताहरु सडकमा निक्लनु परोस् । चुनावलाई दलहरुले प्रतिष्ठाको विषय बनाएका छन् । तर, मतदाताहरु ध्रुविकृत भएनन् । खुलेनन् ।

सबै उम्मेदवारहरुको आ–आफ्नो क्षेत्र र समुदायमा रहेको पकडले ‘न्यूटल’ मत जो जित्ने सम्भावना भएकाको पक्षमा खुल्ने गर्छ त्यो प्याटर्न नखुलेकोमा करिब सबै दलका रणनीतिकारहरु सहमत छन् । आशा गरौं, मतदाताहरु मौन हैनन्, सक्रिय छन् मात्र तिन्ले अझै परख गरिरहेका छन् । र कसैका पक्षमा लहर ल्याउन हैन कि नेपालगन्जको मुहार फेर्नलाई सक्षम र योग्य उम्मेदवार चयन गर्ने ध्याउन्नमा व्यस्त छन् ।

प्रतिक्रिया

प्रतिक्रिया