देबेन्द्र पौडेल
शुक्रबार अबेर राती यो समाचार तयार पारिरहदा संघीय समाजवादी फोरमका केन्द्रीय उपाध्यक्ष मो. लालबाबु राउत नेपालगन्ज–८ जोलहनपूर्वामा भाषण गर्दै थिए । राउत सगै महासचिव राम सहाय प्रसाद यादव र पार्टीका प्रदेश सचिव सलाउद्दिन अहमद केही दिनदेखि नेपालगन्जमा सक्रिय छन् ।
‘आज मात्रै १२ वटा सभालाई सम्बोधन गरियो’, पार्टीका पोलिटब्यूरो सदस्य समेत रहेका युवा नेता मो. इस्तियाक राईले नेपालगन्जन्यूजसंग भने । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतम, सचिव प्रदिप ज्ञवाली लगायतका नेताहरु नेपालगन्जमै सक्रिय छन् । नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपालगन्ज आइपुगेका छन् । यसअघि आरजु राणादेखि हृदयराम थानीसम्म नेपालगन्जमै केन्द्रित रहे । माओवादी अध्यक्ष पुष्पकमल दाहालले एकै दिन जिल्लाका चार ठाउमा सम्बोधन गरे । माओवादीले नेपालगन्जबाट व्यापारी नेता दामोदर आचार्यलाई उम्मेदवार बनाएको छ । प्रचण्डले आचार्य आफुसग ‘सोझै हटलाइन’ सम्बन्धमा रहेको खुलाए ।
पश्चिम नेपालको केन्द्रविन्दु नेपालगन्ज टार्गेट गरेर निर्वाचन प्रचार प्रसारमा दलका केन्द्रीय नेताहरु अड्डा जमाएर बसेका छन् । एमाले अध्यक्ष केपी वलीले नेपालगन्जका एमाले उम्मेदवारहरु लाई टिकट वितरण गरे । उनले नेपालगन्जको उम्मेदवारी घोषणा गर्दै भने, ‘सद्भावको सहर नेपालगन्ज लाई प्रतिनिधित्व गर्ने असली अनुहार एमालेले दिएको छ ।’ एमालेले सम्सुद्दिन सिद्दिकीलाई प्रमुख र शान्ति ढकाललाई उपप्रमुख उम्मेदवार बनाएको छ ।
यति मात्र हैन, करिब ६ घण्टाको नेपालगन्ज बसाइका क्रममा अध्यक्ष ओलीले एमालेका पक्षमा माहोल बनाउन मुस्लिम, मधेसी, मारवाडी अगुवा लगायत संग भेट गरे ।
एमालेका उपाध्यक्ष वामदेव गौतमले परसपुर लगायत सहरका भित्री वस्तीहरुका भेलाहरुमा सहभागिता जनाइरहेका छन् । सचिव प्रदिप ज्ञवालीले राप्तीसोनारीमा आमसभालाई सम्बोधन गरे । उपाध्यक्ष गौतम आज शनिबार बाँकेको खजुरामा आमसभालाई सम्बोधन गर्दै छन् । गौतमलाई बाँके लगायत बर्दिया र प्युठान हेर्ने गरी पार्टीले नै जिम्मेवारी दिएको छ ।
क्षेत्रीय सुरक्षा गोष्ठी जुराएर नेपालगन्ज आएका गृह मन्त्री जनार्दन शर्माले नेपालगन्ज लगायत खजुरा र कोहलपुरमा जनसभामा सहभागी भए । माओवादी केन्द्रीय कार्यालय सदस्य शक्ति बस्नेत अहिले दुई साता देखि नेपालगन्जमा नै छन् । उनी माओवादी जिताउने अभियानमा केन्द्रित छन् ।
कांग्रेस नगर सभापति प्रशान्त विष्टका अनुसार, कांग्रेस केन्द्रीय सदस्य हदयराम थानीले नेपालगन्जको चुनावी प्रचार प्रसारमा व्यस्त छन् । उनले शुक्रवार पनि विभिन्न कोणसभालाई सम्बोधन गरेका छन् । उनको शनिवार पनि विभिन्न वडाहरुमा प्रचारमा जाने योजना रहेको विष्टले नेपालगन्जन्यूजलाई जानकारी दिए । काग्रेसले डा. सुरेश कनोडिया र उमा थापालाई क्रमशः प्रमुख र उपप्रमुख उम्मेदवार बनाएको छ ।
दलहरुले नेपालगन्जलाई प्रतिष्ठाको विषय बनाएका छन् । प्रदेश ५ को मुख्य शहर र प्रदेश ६ को प्रवेशद्वार नेपालगन्ज प्रदेश ७ का लागि पनि महत्वपूर्ण व्यापारिक सहर हो । यसैकारण नेपालगन्जको जितले पश्चिम नेपाल मै महत्व राख्ने विषयलाई दलहरुले गम्भीरताका साथ लिएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले देशैभरीमा आशा गरेको स्थानीय तह नेपालगन्ज नै हो । पार्टीका महामन्त्री डा. धवल समशेर राणा आफै उम्मेदवारका रुपमा निरन्तर सक्रिय छन् । मधेस केन्द्रित दलहरु मध्ये राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचनमा सहभागिता नजनाउने भएपछि संघीय समाजवादी फोरम नेपालगन्जमा आफु अनुकल परिणाम आउने आशावादी भएरै अहोरात्र खटिएको हो ।
‘हाम्रा केन्द्रीय नेताहरु निरन्तर बाकेका जनता माझ हुनुहुन्छ’, फोरम नेता राईले भने । फोरमले जिल्ला पार्टी अध्यक्षलाई नै नेपालगन्जमा मेयर उम्मेदवार बनाएको छ । फोरम लोकतान्त्रिकले ऋतु शाहीलाई प्रमुख र मिसबाहुल हकलाई उपप्रमुख उम्मेदवार बनाएको छ ।
ADVT