‘नेपालगन्जको विकासका लागि मेरो राजनीति’

दोस्रो संविधानसभाको निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट समानुपातिकको सूचीमा रहेका डा. सुरेशकुमार कनौडियालाई नेपाली कांग्रेसले नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा उम्मेदवार बनाएको छ । झण्डै २३ बर्षदेखि नेपालगन्जलाई कर्मथलो बनाएर नागरिकहरुको स्वास्थोपचार र नेपालगन्जको आर्थिक, सामाजिक तथा शैक्षिक विकासमा योगदान गर्दै आएका डा.कनौडियाको उम्मेदवारीलाई ठूलो आशाका रुपमा हेरिरहेका छन् उनका समर्थकहरु ।

 

कपिलबस्तुको कृष्णनगरमा २२ अक्टुबर १९५२ सालमा बुवा ओमप्रकाश कनौडिया र आमा सावित्री कनौडियाको माइलो सन्तानको जन्म भएका डा. कनोडिया भन्छन्, ‘चिकित्सक भएपछि आफ्नो ज्ञान, सीप, अनुभव, रगत र पसिना सबै नेपालगञ्जवासीको भलाईका लागि खर्चिएको छु ।’ मस्कोको पिपल्स फ्रेण्डसीप विश्वविद्यालयबाट शल्यचिकित्सामा विशेषज्ञता हासिल गरेपछि नेपाल फर्किएका डा. कनोडियाले वि.सं. २०४० सालमा वीर अस्पतालमा ९ महिना जति काम गरेपछि नेपालगन्ज आएका हुन् । नेपालगन्ज स्थित भेरी अञ्चल अस्पतालमा करिब १४ बर्ष डा. कनोडियाले काम गरिसकेका छन् ।

 

‘भेरी अञ्चल अस्पतालमा काम गर्दा मध्य र सुदूरपश्चिम क्षेत्रको कहाली लाग्दो स्वास्थ्य अवस्था बुझ्ने मौका पाए’, डा. कनोडियाले भने, ‘त्यसले यस क्षेत्रका नागरिकहरुलाई सहजरुपमा स्वास्थ्य सेवा दिने उपायका बारेमा चिन्तित एक संयोग जु¥यो ।’ त्यतिबेलै चिसापानीमा स्थापना भैरहेको डी वाई पाटिल मेडिकल कलेज बन्द हुने अवस्थामा पुगेको
रहेछ । तत्कालीन राजनीतिक हस्ति सुशील कोइराला, खुमबहादुर खड्का लगायतका नेताहरुले पूर्वाधार बनिसकेको सो अस्पताल सञ्चालनको जिम्मा लिन गरेको आग्रह स्वीकारेको बताउछन् डा. कनोडिया ।

 

‘स्थानीय नागरिक, मध्य तथा सुदूर पश्चिमका बासिन्दाको स्वास्थ्योपचार र योग्य जनशक्ति उत्पादनमार्फत नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याउन सकिने योगदानको आँकलन गरे’, डा. कनोडिया अस्पतालको जिम्मेवारी सम्हाल्दाको क्षण सम्झदै भन्छन्, ‘वि.सं. २०५३ फागुनमा डिवाई पाटिलसँग सम्झौता गरी २०५४ साउन १ गते लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड दर्ता गरे ।’ उनले नेतृत्व लिएपछि २०५४ सालबाट नेपालगन्ज मेडिकल कलेज संचालनमा आयो । ‘निजी क्षेत्रबाट संचालनमा आएको सुविधा सम्पन्न मेडिकल कलेजबाट सेवाप्रवाह हुन थालेपछि मध्य तथा सुदूरपश्चिम क्षेत्रका नागरिकले उपचारको अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता धेरै हदसम्म टरेको छ’, डा. कनोडियाले भने ।

 

डा. कनौडियाले यस कलेज सञ्चालनको जिम्मेवारी लिएपछि यसले यस क्षेत्रमा स्वास्थ्योपचारमा मात्र सहयोग पु¥याएको छैन, नेपालीहरुको डाक्टर र नर्स बन्ने चाहना पनि पूरा गरेको छ । उनकै अग्रसरतामा सञ्चालित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, नेपालगन्ज मेडिकल कलेज नर्सिङ्गहोम नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज चिसापानीमा इच्छुक छात्रछात्राले शिक्षा पाएका छन् र यसले स्थानीय तहमा रोजगारी समेत प्रदान गरिरहेको छ ।
पहिलो ब्याजमा ७५ जना चिकित्सक उत्पादन गरेको नेपालगन्ज मेडिकल कलेजले हाल सम्म १ हजार ७ सय डाक्टर, ४ सयभन्दा बढी नर्स उत्पादन गरिसकेको छ ।

 

नेपालगन्ज मेडिकल कलेजले नै उत्पादन गरेका अधिकांश चिकित्सक र नर्सले मेडिकल कलेजमा रोजगारी पाइरहेका
छन् । ‘यहाँ अध्ययन गरेका कयौं विद्यार्थीहरु हाल अमेरिका, युरोप, अष्ट्रेलिया, जापान लगायतका देशहरुमा पुगेर स्वास्थ्य क्षेत्रमा आफुलाई स्थापित गरिसकेका छन्’, डा. कनोडियाले भने, ‘उनलीहरुले नेपालमा मनग्य रिमेट्यान्स पठाइरहेका छन् ।’ नेपालगन्ज मेडिकल कलेजले नै अहिले डक्टर, नर्स र अन्य समूह गरि १ हजार ४ सय जनालाई रोजगारी दिइरहेको छ ।

 

दूरदराजका विपन्न वर्गका विरामीहरुको सेवामा पनि उत्तिकै ध्यान पुर्याएको बताउछन् डा. कनोडिया । ‘आङ खस्ने समस्याबाट पीडित मध्य र सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लाका महिलाहरुका लागि १८ वर्षदेखि अभियान नै संचालन गरेको छु’, उनले भने । त्यस्तै महामारी फैलिएका क्षेत्रमा विशेषज्ञ चिकित्सकहरुको टोली र औषधीको व्यवस्था गर्नेदेखि आवश्यक ठाउँहरुमा निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गरेर यस क्षेत्रका नागरिकहरुको स्वास्थ्योपचारमा सधै ध्यान दिएको उनी निकट बताउछन् । ‘जटिल प्रकारको क्यान्सरको पनि यहीँ नै उपचार गर्ने व्यवस्थाको तयारीमा छु’, डा. कनोडियाले भने ।

 

डा. कनौडियाले स्वास्थ्य शिक्षाको क्षेत्रमा विशेष योगदान गरेवापत् २०६७ साल जेठ १५ गते राष्ट्रपतिबाट सुप्रबल जनसेवाश्री तृतीय प्राप्त गरिसकेका छन् । २०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली भएपछि बाँके जिल्ला सरकारी कर्मचारी संगठनको प्रथम अध्यक्ष, नेपाल मेडिकल एसोसिएसनका केन्द्रीय उपाध्यक्ष (२०४८ – २०५०), नेपाल मेडिकल एशोसिएशन भेरी शाखाको अध्यक्ष (०६८–०७०) र एशोसिएशन अफ प्राईभेट मेडिकल तथा डेन्टल कलेज अफ नेपालका संस्थापक अध्यक्ष (०६५–०७१) रहेर डा. कनोडियाले काम गरिसकेका छन् ।

 

प्रवेशिका परीक्षामा अनिवार्य अंग्रेजीमा एकपटक अनुर्तिण भएका डा. कनोडियाले त्यसपछि अथक मेहनत गर्दै सन् १९६७ मा काठमाडौं त्रिपुरेश्वरस्थित विश्वनिकेतन स्कुलकै टपर हुन सफल भए । सात वर्षको उमेरमा कपिलबस्तुकै स्थानीय विद्यालयमा एकैपटक चार कक्षामा भर्ना भएका डा. कानोडियालाई परिवारका सदस्यहरुले नै सानैदेखि ‘डाक्टर बाबु’ भनेर बोलाउने गरेको उनी निकटस्थहरु बताउछन् । भविष्यमा डाक्टर बनेर विरामीको उपचार गरेको सपना देख्ने डा. कनौडिया त्रिचन्द्र कलेजका आइएससी टपर पनि हुन् ।

 

सन् १९७२ मा रुसको मस्कोस्थित पिपल्स फ्रेण्डशिप युनिभर्सिटीमा छात्रवृत्तिमा पढ्ने अवसर पाएका कनौडियाले ११ वर्षको निरन्तर अध्ययन पछि सर्जरीमा विज्ञता प्राप्त गरेका थिए । घाना, केन्या लगायतका देशबाट कामको प्रस्ताव आएपनि नेपालीको नै सेवा गर्ने निर्णय गरेको बताउछन् कनोडिया ।

‘आफ्नो ज्ञान, सीप, क्षमता, दक्षता र स्वदेश तथा विदेश भ्रमणमा देखे तथा सिकेका अनुभवहरुलाई उपयोग गरेर नेपालगन्जको भौतिक र आर्थिक विकासमा लगाउने चाहना छ’, नेपालगन्ज उपमहानगर–पालिकाका प्रमुख पदका उम्मेदवार डा. कनोडियाले भने, ‘नेपालगन्जको विकासका लागि राजनीतिमा लाग्ने निर्णय गरेको हु ।’

‘नगरको समग्र विकासका लागि राजनीतिमा लागेको हुँ’, डा. कनोडिया भन्छन्, ‘राजनीति समग्र नीतिको माउ भएकोले यसमा संलग्न हुन जरुरी रहेछ ।’ उनले आफ्नो चुनावी घोषणा पत्रमा आगामी पाँच बर्षमा गरिने कामको फेहरिस्त पनि तयार गरेका छन् । जसमा नेपालगन्ज उपमहानगरपालिकालाई आधुनिक प्रविधियुक्त पूर्वाधार तयार पारी यस नगरको विकास गर्ने र यसलाई सुन्दर, शान्त, समृद्ध सहरमा रुपान्तरण गर्ने योजना र कार्यक्रमहरु समावेश गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया