चुनाव लड्दै द्वन्द्वपीडित र एकल महिला

रुपा गहतराज

कुनै समय आफ्ना दुःखलाई भाग्यको कोशेली सम्झने बाँकेका एकल महिलाहरु अहिले शोकलाई शक्तिमा बदल्दै छन् । लामो समयको द्वन्द्व जन्माएको पीडालाई बिर्सदै आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा बाँकेबाट द्वन्द्वपीडित र एकल महिला चुनावी मैदानमा उत्रिएका छन् ।
द्वन्द्वपीडित तथा एकल महिलाको अधिकारका लागि लामो समयदेखि संघर्षरत एकमाया विकलाई नेकपा एमालेले खजुरा गाउँपालिकाको उपप्रमुखमा उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले कोहलपुर नगरपालिकाको उपप्रमुख पदमा देवीकुमारी चौधरीलाई उम्मेदवार बनाएको छ । चौधरी पनि द्वन्द्वपीडित हुन् । द्वन्द्वपीडितको प्रतिनिधित्व गर्दै उम्मेदवार दुवै जना चुनावी अभियान लिएर मतदाताको घरदैलोमा पुगिसकेको छन् ।
एमालेको तर्फबाट खजुरा गाउँपालिका उपप्रमुखको उम्मेदवार बनेर चुनावी मैदानमा रहेकी द्वन्द्वपीडित तथा एकल महिला एकमाया विकले आफूले चुनाव जितेमा द्वन्द्वपीडित र एकल महिलाका लागि विशेष कार्यक्रम ल्याउने बताएकी छन् । उनले एकल महिलालाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्न विशेष कार्यक्रमका साथै एकल महिलालाई पनि जेष्ठ नागरिकसरह सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने योजना बुनेकी छन् । एकल महिलालाई आत्मनिर्भर बनाउने आफ्नो पहिलो योजना सुनाउँदै एकमायाले विभिन्न किसिमका तालिम र स्वरोजगारका लागि अनुदान रकम प्रदान गर्ने बताइन् ।

एकमायाले भनिन्, उनिहरुको ब्यथा मैले महसुस गरेकी छु । ‘अर्काको सहारामा बस्नुपर्ने बाध्यता टार्न विशेष नीति तथा कार्यक्रम ल्याउने छु ।’ एकमायाले एकल महिलाको निःशुल्क स्वास्थ्य, रोजगारीको व्यवस्था र छोराछोरीलाई स्नातकसम्मको निःशुल्क शिक्षा प्रदान गरिने बताइन् । नेपाल प्रहरीमा कार्यरत विकका श्रीमान माओवादी द्वन्द्वकालमा भिडन्तमा मारिएका थिए ।
देवीकुमारी चौधरी, माओवादी केन्द्रको तर्फबाट कोहलपुर नगरपालिकाको उपप्रमुखको दौडमा छिन् । देवीकुमारी चौधरीले जनयुद्धका क्रममा परिवारका सदस्य, अभिभावक गुमाएका एकल महिला तथा द्वन्द्वपीडतका लागि राहतको कार्यक्रम ल्याएर दुखिरहेको घाउमा मलम लगाउने बताइन् । उनले एकल महिलाले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता वृद्धि गर्नुका साथै, एकल महिलालाई रोजगारीको व्यवस्था गरिने प्रतिवद्धता जनाएकी छन् ।
बेपत्ता परिवारकी देवीकुमारीले जनयुद्धका क्रममा अभिभावक र श्रीमान गुमाएकाहरुको पीडितहरुको आर्थिक,
सामाजिक अवस्था कमजोर रहेको भन्दै उनले एकल महिलाका बालबालिकालाई निःशुल्क शिक्षा, स्वास्थ्य सेवा र जीवन निर्वाहको ग्यारेन्टी गरिनुका साथै उनीहरुको संरक्षण गरिने प्रतिवद्धता जनाएकी छन् । उनले कोहलपुर नगरपालिकामा रहेका द्वन्द्वपीडित र एकल महिलाको अधिकार स्थापितका लागि नीतिगत व्यवस्था ल्याएर राहत प्रदान गरिने योजना अघि सारेकी छन् । माओवादीमा लागेको भन्दै सुरक्षाकर्मीले उपप्रमुखका उम्मेदवार चौधरीको परिवारलाई यातना दिने र बहिनीलाई बेपत्ता बनाएका थिए ।
मुख्य तीन ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रले द्वन्द्वपीडित महिलालाई स्थानीय तह निर्वाचनमा उम्मेदवार बनाएका छन् । एमालेले द्वन्द्वपीडित शोभा विसीलाई नेपालगन्ज उपमहानगरपालिका– १० को खुला सदस्यको उम्मेदवारी बनाएको छ भने नेपाली कांग्रेसले वसन्ता जोशीलाई नेपालगन्ज उपमहानगरपालिका–१० को महिला सदस्यमा उठाएको छ । त्यसैगरी, गोमा थापालाई एमालेले कोहलपुर नगरपालिका–१० को वडा सदस्यमा उठाएको छ ।
स्थानीय तह निर्वाचनमा कांग्रेसको तर्फबाट पम्पा शाहीले खजुरा गाउँपालिका–२, को महिला सदस्यमा प्रतिस्पर्धा गर्दैछिन् । एकल महिला
सरस्वती शर्मा नेपालगन्ज उपमहानगरपालिका–१ को महिला सदस्यमा र रमा गहतराज पनि नेपालगन्ज उपमहानगर पालिकाको दलित महिला सदस्यको उम्मेदवार बनेकी छन् । दुवैजनालाई एमालेले महिला सदस्यको उम्मेदवार बनाएको छ । यसैगरी कृष्णा सिहं नेपालगन्ज उपमहानगरपालिकाको ४ , बिन्दा खरेल ४, ममता भियाल कोहलपुर नगरपालिका २, लक्ष्मीया थारु कोहलपुर नगरपालिका १५ बाट वडा सदस्यमा उम्मेदवारी दिएका छन् । द्वन्द्वपीडित तथा एकल महिला सञ्जालका अनुसार ११ जना महिला जना एकल महिला चुनावी मैदानमा छन् ।

प्रतिक्रिया

प्रतिक्रिया