मध्यरातमा प्रचार
नेपालगन्जन्यूज । गृहमन्त्री जनार्दन शर्माले नै बाँकेमा निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन गरेका छन् । उनले खजुरा गाउँपालिकाको वडा नं. ८ रनियापुरको चुनावी सभालाई सोमबार मध्यरात सम्म सम्बोधन गरेका थिए ।
क्षेत्रीय सुरक्षा सम्मेलनमा भाग लिन नेपालगन्ज आएका मन्त्री शर्माले रनियापुरमा आफु सम्बद्ध पार्टी माओवादी केन्द्रका उम्मेदवारहरुलाई जीताउन अपिल गरेका थिए ।
निर्वाचन आचारसंहिताको बुदा नं.५ क को १० मा जुलुस, आमसभा, ¥याली, बैठक, भेला वा प्रचार प्रसारका कार्यक्रम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने उल्लेख गरिएको छ ।
माओवादी केन्द्रका युवा नेता तुल्सीमणि केसिका अनुसार, सभामा कांग्रेसका शेख मोहम्मद खाँ र राप्रपाका वडा अध्यक्षका उम्मेदवार सहित दर्जर्नौ संख्यामा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
गृहमन्त्रीको गतिविधि प्रति अन्य पार्टीहरुले कडा आपत्ती जनाएका छन् ।
नेकपा एमाले बाँके सचिव रत्न खत्रीले चुनाव सुरक्षाको मुख्य वागडोर सम्हालेका प्रमुख गृह मन्त्रीबाट नै आचारसंहितालाई तोड्नु गम्भीर विषय भएको बताएका छन् । ‘आचारसंहिताको परिपालनाको जिम्मेवारीमा रहेका गृहप्रशासन प्रमुख नै आचारसंहिता उल्लंघन गर्दै हिड्ने हो भने अरुलाई कसरी आचारसंहिता पालना गर भनेर भन्न सक्छन् ।’ खत्रीले नेपालगन्जन्यूजसंग भने, यस विरुद्धमा निर्वाचन कार्यालयमा उजुरी गर्ने छौं ।
माओवादी सम्बद्ध नेताहरुले मन्त्रीको व्यस्तताका कारण कार्यक्रम ढिलो शुरु भई लम्बिएको बताए ।