काेहलपुरमा ठगीको आरोपमा कलेज प्रिन्सिपल पक्राउ, सञ्चालक फरार

विद्यार्थीहरु सग अवैध असुली गर्दै ठगी गरेको भन्दै परेको उजुरीका इलाका प्रहरी कार्यालय कोहलपुरले शिवालय टेक्निकल कलेजका प्रिन्सिपल सहित ४ जनालाई पक्राउ गरेको छ ।

इप्रका कोहलपुरका इन्चार्ज डिएसपी सुरेश काफ्लेका अनुसार, कलेजका प्रिन्सिपल जनक बढु, सञ्चालक दिपेन्द्र कठायत सहित चार जनालाई पक्राउ गरेको हो । ‘अन्य सञ्चालकहरुको खोजीकार्य भैरहेको छ’, डिएसपी काफ्लेले दैनिक नेपालगन्जसग भने, ‘कलेजले गत साउनदेखि भर्ना गरेका विद्यार्थीहरुलाई वैधानिक ढंगले प्रक्रियागत अध्ययन अध्यापन गरेको पाइएन ।’ उनले विद्यार्थीहरुलाई सर्टिफिकेट नदिएपछि आएको उजुरीको आधारमा कारवाही प्रक्रिया अगाडी बढाइएको जानकारी दिए ।

गत साउन देखि भर्ना भएका ८२ जना विद्यार्थीले इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएपछि प्रहरी हरकतमा आएको हो । ‘सिटिइभिटीबाट मान्यता प्राप्त भनिएको कलेजले मापदण्ड विपरित काम गरेको जानकारी जिल्ला प्रशासनलाई पठाएको छ’, डिएसपी काफ्लेले प्रतिविद्यार्थी ३ लाखसम्म असुली गरेको पाइएको जानकारी दिंदै भने ।

प्रहरीका अनुसार, दुई÷तीन महिनाका कोर्षलाई लम्ब्याएर अनाधिकृत असुली गर्न खोजेको आरोप कलेज माथि छ । ‘अनुसन्धानका क्रममा पनि विद्यार्थीहरुको आरोप प्रमाणित गर्ने धेरै तथ्यहरु फेला परेका छन्’, इप्रका कोहलपुरका एक अधिकृतले भने । विद्यार्थीले कलेजका ८ जना सञ्चालक विरुद्ध उजुरी दिएका थिए । पक्राउ परेका कतिपयले आफुहरु कलेजबाट सेयर झिकिसकेको बयान दिएर उम्किन खोजिरहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया