सलाम सुरक्षाकर्मी

शब्द/तस्वीर : बिशाल रानामगर/नेपालगन्जन्यूज

आईतबार बिहान धम्बोझीस्थीत श्रेया इन्टेरियर डेकोर्समा आगलागी भयो । आगलागीको केही समयमै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनाको टोली पुग्यो । नेपालगन्जमा रहेको २ वटा दमकलले पालैपालो पानी बोकेर आगो नियन्त्रणमा लिने कोशिस गरे । तर आगोले ठुलो स्वरुप लिइसकेकाले दमकलको पानी केही बेरमै सकियो भने आगोले अझ ठुलो रुप लिँदै थियो ।

घटनास्थलमा रहेका नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाका जवानहरुभने आगो निभाउन आफ्नो ज्याननै जोखिममा राखेर खटिएका थिए । सामान्य हेलमेटसमेत नलगाई आगो निभाउन होमिएका उनिहरुलाई देख्दा लाग्थ्यो उनिहरुलाई आफ्नो ज्यान भन्दा जनताको धनमाल सुरक्षाको बढि चिन्ता छ ।

करिब एक घण्टा प्रयास गर्दा पनि आगो नियन्त्रणमा नआएपछि नेपालगन्ज विमानस्थलमा रहेको अत्याधुनिक दमकल आइपुग्यो । जसले फिँजसहितको आगो निभाउने पदार्थसमेत प्रयोग गरयो ।

आगोले पहिलो तल्लामा ठुलै लप्का बनाइसकेको थियो । आगो निभाउनका लागि पाइप लिएर पहिलो तलामा उक्लिएका सशस्त्र प्रहरी बल सिमा सुरक्षा बेसका जवान गोम बहादुर गुरुंग अग्र पंक्तिमा थिए । उनको पछाडी सशस्त्रकै कमल कार्की र उनिभन्दा पछाडी नेपाल प्रहरीका डिसि थरका जवान थिए ।

कार्कि र डिसीले पहिल्यै हेलमेट लगाएको भएपनि गुरुंगको टोउकोमा हेलमेट थिएन । विपद व्यवस्थापनमा तालिम प्राप्त भएपनि आगोको लप्काले पोलेर हुनुपर्छ उनले तल रहेका आफ्ना सहकर्मीलाई हातको इशाराले हेलमेटको दिन इसारा गरे । त्यसपछि तलबाट फालिएको हेलमेट लगाएर उनि निरन्तर आगो निभाउन ज्यानसमेत जोखिममा राखेर लागिरहे र अन्ततः आगो निभाउन सुरक्षाकर्मीहरुको टोली सफल भयो ।

आगलागीको खबरसँगै बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, बाँकेका प्रहरी प्रमुख टेकप्रसाद राईसहितको सुरक्षा निकायको टोली घटनास्थलमा खटिएको थियो । प्रहरी प्रमुख राई कहिले आफै भिड नियन्त्रणको लागि खटिन्थे भने कहिले मातहतका प्रहरीलाईलाई आगो निभाउनका लागि निर्देशन दिइरहेका भेटिन्थे ।

आगलागी नियन्त्रणमा प्रहरी, सशस्त्र र सेनाको भूमिका उल्लेखनिय देखिएको थियो । हजारौंको संख्यामा वरपर रहेका आम जनता भने प्रहरीलाई सहयोग गर्नुको साटो उल्टो रमिते र भिडभाड गरिदिँदा आगलागी नियन्त्रणको काममा असहजता देखिएको थियो ।

आधारभूत तालिमका बाबजुत पनि नेपाल प्रहरीका सयौंका संख्यामा जवानहरु आगलागी नियन्त्रणका लागि कहिले भिड नियन्त्रण त कहिले पानी भर्न र आगो निभाउन ज्यान थापेर लागेका थिए । दमकलमा पानी सकिएपछि प्रहरीका सयौं जवानहरुले बाल्टीमा पानी आसार्दै दमकलमा पानीसमेत भरिरहेका थिए ।

हामीसँग भएको श्रोत साधन यही हो, नेपाल प्रहरीसँग विपत व्यवस्थापनका लागि के कस्ता साधन छन् भन्ने नेपालगन्जन्यूजको जिज्ञासामा बाँकेका प्रहरी प्रमुख राईले भने, यही श्रोत साधनमा हामीले विपत न्यूनिकरणमा खट्नु परेको छ ।

आफ्ना जवानहरुले देखाएको साहस र छरितोपनले अझ ठुलो क्षति हुन नसकेको बताउँदै प्रहरी प्रमुख राईले नेपाल प्रहरीले तालिमका क्रममा विपत् व्यवस्थापन बारे आधारभूत जानकारी मात्र दिइने बताए । हामीहरुले विशेष प्रकारको तालिम लिएका हुँदैनौं तर हामी सबैभन्दा अगाडी खटिन्छौं उनले भने ।

आगलागी नियन्त्रणका बेलामा ग्यास सिलिण्डर विष्फोट हुन सक्ने भन्दै केहीबेर भागदौड पनि भएको थियो । यस जोखिमका बिच पनि सुरक्षाकर्मीहरुले ज्यान जोखिममा राखेर आगलागी नियन्त्रण गरे ।

करिब २ करोड बराबरको क्षति भएको जानकारी दिँदै प्रहरी प्रमुख राईले आगलागी नियन्त्रणको क्रममा नेपाल प्रहरीका एक जना घाईते भएको जानकारी दिए ।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना लगायत सुरक्षा निकायले देखाएको सक्रियता र साहसको लागि सलाम ।

 

प्रतिक्रिया

प्रतिक्रिया