खजुरामा चुनाव

नेपालगन्जन्यूज ।  मतदाता लाइनमा थिए । मतदान गर्न आतुर । म्यादी प्रहरी सुरक्षा लाइन मिलाउदै थिए । अघिल्लो लहरमा बसेका मतदान अधिकृत मतपत्रमा हस्ताक्षर गरिरहेका थिए । मुख्य निर्वाचन अधिकृत भोजराज पौडेल, निर्वाचन अधिकृत गम बहादुर दाँगर, र अर्जुन केसि मतपत्र मिलाउदै थिए । मतसंकेत गर्ने कोठा हेर्ने, मतपेटिका खाली भएको देखाउने काममा व्यस्त थिए ।

 

मतपेटिका खाली गरेको एजेन्टहरु हेरिरहेका थिए । ‘ल एक एक जना गरेर आउनु,’ मुख्य निर्वाचन अधिकृत पौडेलको आवाज संगै लाइनमा बसेकाहरु मतदान गर्नका लागि मतपत्र लिन अगाडि बढे । र मतपत्र लिए । नङमा निलो मसी लगाए । मत संकेत गर्न कोठा भित्र गए । र मतपत्र राम्ररी पट्याएर मतपेटिका बाक्सामा मत खसाले ।
यो दृश्य हेर्दा स्थानीय निर्वाचनको जस्तै लाग्थ्यो । तर वास्तविकता थोरै फरक थियो ।

 
अरुणोदय बोर्डिग हाइस्कुल खजुराका विद्यार्थीहरुले आज यसरी निर्वाचनमा भाग लिए । विद्यालयमा जुनियर रेडक्रस सर्कलको निर्वाचन हुदै थियो, स्थानीय निर्वाचन मतदानको झझल्को आउने गरी ।

 
निर्वाचन एक प्रमुख, एक उपप्रमुख र ५ सदस्यको जुनियर रेडक्रस सर्कल गठनका लागि हुदै थियो । मुख्य निर्वाचन अधिकृत पौडेलका अनुसार, प्रमुखमा ५, उपप्रमुखमा ५ र सदस्यमा २० विद्यार्थीको उम्मेदवारी परेको थियो ।
विद्यालयको जुनियर रेडक्रस सर्कलको चुनावलाइ स्थानीय निर्वाचन कै फरम्याटमा गरिएको विद्यालयका प्रिन्सिपल ऋषिकेष जिसिले बताए । विद्यार्थी मार्फत मतदाता शिक्षा बढाउँदा प्रभावकारी हुन्छ भनेर यसो गरिएको हो, उनले
भने ।

 
कस्तो लाग्यो मतदान गर्दा ? ‘एकदम एक्साइटेड भए । साँच्चिकै मतदान गर्न लागिरहेको जस्तो महशुस भो । खुब मज्जा आयो । अब घरमा गएर बुवाआमालाई पनि मतदान कसरी गर्ने भनेर सिकाउँछु ।’ मतदान गरेर फर्किदै गरेकि कक्षा ८ मा अध्ययनरत प्रज्ञा खड्काले बताइन् ।

 
स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा यस्तो नमूना मतदान धेरै ठाउँहरुमा गर्नुपर्ने सरोकारवालाहरु बताउँछन् ।
पहिलो चरणको निर्वाचनमा धेरै मत बदर भएको समाचार सार्वजनिक भइरहेको सन्दर्भमा यस्ता नमूना मतदान कार्यक्रमले आम मतदाताहरुलाई सचेत बनाउन सहयोग पुग्नसक्दछ ।

मतपत्र लामो हुनु, सात ठाउँमा स्वस्तिक छाप लगाउनु पर्ने लगायतका झन्झटहरुले गर्दा मतदाता शिक्षालाई अझ बढि प्रभावकारी बनाउनु पर्ने अधिकारीहरु बताउँछन् ।

(तस्वीर : सतिश निरौला)

प्रतिक्रिया

प्रतिक्रिया