बाँकेमा स्थानीय तहको निर्वाचनका लागि आवश्यक व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताएका छन् ।
पौडेलले मतदान सकिएको १८ घण्टा भित्रै सबै परिणाम घोषणा गर्ने गरि काम गरिरहेको बताए । ‘त्यसका लागि आवश्यक व्यवस्थापकीय क्षमता म मिलाउँछु, ढुक्क हुनस्,’ विहीवार नेपालगन्जमा आयोजित एक कार्यक्रममा मुख्य निर्वाचन अधिकृत पौडेलले भने,‘ त्यसका लागि राजनीतिक दलहरुले अनाहकका बखेडा झिकीदिनु भएन, सकारात्मक सहयोग गर्नुपर्छ ।’ पहिलो चरणको मतपरिणाममा भइरहेको ढिलाई बारे उठेको जिज्ञासामा पौडेलले बाँकेमा त्यसो नहुने दावी गरे ।
यूएनडिपीको सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता परियोजनाले हिंसामुक्त स्थानीय निर्वाचन प्रवद्र्धनका लागि सरोकारवाला बीच विहीवार नेपालगन्जमा आयोजना गरेको कार्यशालामा दोस्रो चरणको निर्वाचन हुने कुरामा शंका नगर्न जोड दिइयो । ‘हामीलाई विश्वास गर्नुस्, हाम्रो भूमिका स्वतन्त्र र निष्पक्ष हुने कुरामा प्रश्न उब्जने ठाउँ दिइने छैन,’ बाँकेका मुख्य निर्वाचन अधिकृत पौडेलले भने । आफु न्यायधिश भएकाले कानुन भन्दा बाहिर कुनै कुरा स्वीकार्य नहुने पौडेलको दृढता थियो ।
प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेकप्रसाद राई लगायतले सुरक्षाका दृष्टिले आवश्यक सबै तयारी भइसकेको बताए । ‘खुला सिमाना हाम्र्रा लागि सुरक्षा चुनौती हो,’ प्रजिअ पन्थले भारतीय समकक्षीसँग अनौपचारिक छलफल पनि भइरकेको जानकारी दिंदै भने । प्रजिअ पन्थले छिटै सिमावर्ती जिल्लाका भारतीय सुरक्षा अधिकारीसँगको सयुक्त सुरक्षा बैठक राखिने जनाउ दिए ।
स्थानीय तहको चुनावलाई भय रहित वातावरणमा सम्पन्न गर्न सबै लागि पर्नुपर्ने धारणा राख्दै प्रहरी उपरीक्षक राईले अबदेखि सुरक्षा चेकजाँच निर्वाचन केन्द्रीत र विशेष हुने जानकारी दिए । ‘समस्या भइसकेपछि भन्दा समस्या आउनै नदिन सुरक्षा चेकजाँच तिव्र पारिंदैछ,’ राइले भने, ‘कृपया पार्टी नेताज्युहरु कुनै पनि अवरोध नगरिदिनु होला ।’ उनले सुरक्षा जोखिम प्रति प्रहरी संवेदनशील भएको भन्दै व्यवहारमा कुनै समस्या देखिए आफुसँग सोझै कुरा गर्न आव्हान गरे ।
कार्यशालामा सहभागी राजीतिक दलका नेताहरुले शान्तिपूर्ण निर्वाचनका पक्षमा मत जाहेर गरेका थिए । ‘त्यसका लागि हामी सकारात्मक सहयोग गर्नेछौं,’ दलका नेताहरुको प्रतिबद्धता थियो । नेपाली काँग्रेसका जिल्ला सभापति किरण कोइराला, एमाले अध्यक्ष अशोक कोइराला, माओवादी केन्द्रका संयोजक आइपी खरेल लगायतले तोकिएकै मितिमा जेठ ३१ दोस्रो चरणको निर्वाचनमा बाधा पार्न नहुने बताए ।
राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष विजयकुमार गुप्ताले भने आफ्ना मागको सुनुवाई गरि सबैले निर्वाचनमा भाग लिने अवस्थाको सुनिश्चितता भए मात्र अवस्था सबैले चाहेजस्तो सहज हुने बताए । ‘हामी पनि निर्वाचन विरोधी होइनौं,’ उपाध्यक्ष गुप्ताले भने,‘संविधान संशोधन गरि हामीलाई पनि निर्वाचनमा जाने वातावरण मिलाइनुपर्छ ।’ उनले निर्वाचन आयोगमा दल दर्ता, निर्वाचन चिन्ह लगायतका समस्या पनि औल्याए ।
क्षेत्रीय निर्वाचन अधिकारी बसन्तराज अधिकारीले निर्वाचनका प्राविधिक पक्षहरु बारे जिल्लाको समग्र अवस्था प्रकाश पारेका थिए ।
पत्रकार उमिद वागचनले सहजीकरण गरेको कार्यक्रममा इन्सेकका क्षेत्रीय संयोजक भोला महत, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं मध्यपश्चिम क्षेत्रीय संयोजक झलक गैरे, पूर्व केन्द्रीय सदस्य जनक नेपाल, पूर्व शाखा अध्यक्ष रुद्र सुवेदी, पत्रकार सावित्री गिरी, द्वन्द्वपीडित अधिकारकर्मी चन्द्रकला उप्रेति लगायतले बोलेका थिए ।
युएनडिपीले स्थानीय निर्वाचनमा हुुन सक्ने सम्भावित हिंसाका जोखिमको पहिचान र समाधानका लागि सरोकारवालाहरु सँग कार्यशालाको आयोजना गरिएको परियोजना प्रमुख सतिश पाण्डेयले जानकारी दिए । यसअघि बर्दियामा यसखाले कार्यशाला गरेको युएनडिपीले आज शुक्रवार युवाहरुसँग स्थानीय निर्वाचन कसरी शान्तिपूर्वक गर्न सकिन्छ भन्ने बारे कार्यशाला गर्दैछ ।