वैदेशिक रोजगारी पठाइ दिन्छु भन्दै दिएर ५० लाख बढी ठग्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रोजगारीका लागि कोरिया पठाइदिन्छु भन्दै प्रतिव्यक्ति ४ लाख देखि १२ लाखसम्म असुल गरेका धनुषा मिथिला नगरपालिकाका धनपति महतोलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएको हो ।
बाँके प्रहरीले अनुसन्धानको क्रममा महतोले रकम लिएर भारतको दिल्ली लगी त्यहाँबाट भिजिट भिसामा जर्जिया, रसिया र टर्की लगायतका देशमा पठाउने गरेको खुलेको बताएको छ । महतोबाट ठगिएको भन्दै पीडितहरुले जिल्ला प्रहरी कार्यालय बाकेमा उजुरी दर्ता गरेपछि प्रहरीले महतोलाई नियन्त्रणमा लिएको थियो । फुवा शेर्पा लगायतका ६ जनाले कारिया पठाइदिने भन्दै महतोले ५१ लाख ठगी गरेको उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
प्रहरीले महतोलाई थप अनुसन्धान र आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौं पठाएको जानकारी दिएको छ । ‘ठगीमा संलग्न महतोले भारत दिल्लीबाट कुमार सिन्हाको नाममा रासन कार्ड लिएको भेटिएको छ’, जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीमा उनले नेपालको धुनषा स्थित मिथिला नगरपालिका–६ बाट नेपाली नागरिकता लिएको उल्लेख छ ।
महतोले आफुलाई विश्व हेल्थ अर्गनाइजेशको डाक्टर भएको बताउदै सर्वसाधारणहरुलाई ठग्ने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जानकारी दिएको छ ।