आजको बिहानी । नयाँ जोस, उत्साह र उमंगको बिहानी । करिब बिस वर्षको राजनीतिक उतारचढाव, संघर्ष र सहमतिपछि आज स्थानीय निकायको पहिलो चरणको निर्वाचन हुँदैछ ।
निर्वाचन आयोगले सम्पूर्ण चुनावी तयारी गरिसकेको छ भने जनता भोट हाल्न आतुर छन् ।
जनआन्दोलन २ को बलमा राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गरी देश संघीय गणतन्त्रात्मक व्यवस्थामा प्रवेश गरेपछिको स्थानीय तहको पहिलो निर्वाचन हो । यो निर्वाचनसँग नेपालको स्थायीत्व, विकास र लोकतन्त्रलाई संस्थागत गर्ने आशाहरु जोडिएका छन् ।
पहिलो चरणको निर्वाचन अन्र्तगत आज ३, ४ र ६ नं. प्रदेशका जनताले मतदान गर्दैछन् । यसलाई मतदान मात्र नभई जनताले आफ्ना प्रतिनिधि चुन्ने र लोकतन्त्रलाई मजबुत पार्ने जग हाल्नका लागि इँटा थप्ने दिनका रुपमा लिन सकिन्छ ।
आजको मतदानले संघीय संरचना अनुसार बनाइएको २ सय ७१ स्थानीय तहमा जनप्रतिनिधि चयन गर्नेछ । साथै आजको मतदानको परिणामले १५ वर्षपछि नेपालको ३८ प्रतिशत क्षेत्रका स्थानीय तहलाई जनप्रतिनिधि प्रदान गर्नेछ ।
देश संघीय संरचनामा गएको अनुभूति पनि यो निर्वाचनले दिनेछ ।
बाँकी रहेको प्रदेश नं. १, २, ५ र ७ को निर्वाचन सरकारले ठिक एक महिनापछि जेठ ३१ गते गर्ने तय गरेको छ । दोश्रो चरणमा हुने त्यस निर्वाचनको पनि यसले सुनिश्चितता पनि गराउँदछ ।
आज ३ वटा प्रदेशमा हुन थालेको निर्वाचनले आगामी ४ वटा प्रदेशमा हुने निर्वाचनको व्यवस्थापन, शान्ति सुरक्षालाई समेत प्रभावित पार्छ ।ढुक्क भएर मतदान गरौं । जय लोकतन्त्र ।