बाँकेमा आगलागीको विकराल रुप
विनय दीक्षित
बाँकेमा भौतिक संरचना र सहरी करण ब्यवस्थित नहुँदा आगलागीबाट हुने क्षतिको विवरण बढ्ने गरेको अनुमान र प्रतिक्रियाका बिच पछिल्लो तीन वर्ष भित्र बाँकेमा २७६ घर आगलागीका कारण ध्वस्त भएको प्रहरी तथ्याँक छ ।
दुई साता अघि बाँके डुडुवा गाउँपालिका वडा नं.१ होलियाको कुडुवामा आगलागी हुँदा ३ जना बालबालिकाले ज्यान गुमाउनु पर्यो १२ वटा घर गोठ जलेर नष्ट भए । त्यसपछि तीन दिन अघि मात्रै होलियाको छिटाईपुर्वा गाउँमा आगलागी हुँदा ७० घर र लाखौंको सम्पत्ती जलेर खरानी भयो ।
एक महिना अघि फत्तेपुरको वडा नं.७ मा भएको आगलागीमा दर्जन बढि घर ध्वस्त भए । त्यसअघि र पछि बाँकेमा नेपालगन्ज सहरमा पनि आगलागीका आधा दर्जन घटनाहरु छन् । विच सहरमा आगलागीको तथ्याँकले विचलित बनाउँदै आएको छ । बाँकेमा एकतिर फूसको छानो अर्को तिर पक्की संरचना, तर आगलागी घटनाले पक्की र कच्ची भन्दा पनि तथ्याँक बृद्धि गर्दै आएको छ ।
त्यसैक्रममा बाँके मटेहियाको हुलापुर गाउँमा बुधवार भएको आगलागीमा २५ घर, ५ गोठ र एउटा घुम्ती पसल जलेर खरानी भयो । इलाका प्रहरी कार्यालय भगवानपुर, सशस्त्र प्रहरी गंगापुर लगायतको टोली पुगेर आगो नियन्त्रणमा लिने काम गर्यो ।
तीन वर्षको अवधिमा सरकारी भवन ५ वटा ध्यस्त भएका छन् । बाँकेमा आगलागी एउटा मुख्य समस्या चुनौतीको विषय हो बाँकेका प्रहरी प्रमुख एसपी टेक प्रसाद राईले दैनिक नेपालगन्ज संग भने, यो मानवीय त्रुटिका कारण हुने आपदा हो ।
तीन वर्षमा आगलागीको घटनामा परि ११ करोड १२ लाख ८८ हजार ४ सय ९ रुपैयाको भौतिक संरचना र सम्पत्ती क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको घटनामा ६ जनाको ज्यान गएको छ । जसमा तीन जना बालबालिका रहेको प्रहरी तथ्याँक छ । आगलागीबाट २१ वटा पशुचौपायाको मृत्यु भएको हो ।
प्रहरीले गरेको तथ्याँक विश्लेषणका अनुसार चैत्र, बैशाख र जेष्ठ महिनामा बाँकेमा आगलागीको घटना धेरै हुने गरेको पाइएको हो । तीन वर्षको अवधिमा बाँकेमा चैत्र महिनामा २९, बैशाखमा १९, जेष्ठमा ४ वटा घटना भएको पाइएको
हो ।
आगलागीको फरक फरक कारणहरुबारे तर्क र तथ्यहरु सार्वजनिक भइरहँदा प्रहरीले आगलागीको सूच्म कारण बारे अनुसन्धान अघि बढाएको छ । बाँकेमा हुने आगलागी कसरी र किन भइरहेको छ भन्ने विषयमा हामीले चासो राखेका छौं, एसपी राईले भने, आगलागीको घटनालाई सामान्य रुपमा लिनु हुँदैन ।
गाउँ र वस्ती सखाप हुने घटना त्यति सजिलो र सहजै अनुमान गर्ने विषय होइन, राईले भने, यसमा विभिन्न कोण र सबूत प्रमाणको आधारमा अनुसन्धान अघि बढाएका छौं । नेपालगन्ज बाहेक स्थानमा दमकल उपलब्धता नहुँदा घटनाबाट हुने क्षति न्युनीकरण गर्न सकिएको छैन, उनले भने, गाउँमा पनि कुनै प्रकारको पूर्व तयारी राख्ने अवस्था फेला परेन ।
यस कारण हुन्छ आगलागी
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसन्धान अधिकारीहरुले बाँकेमा हुँदै गरेको आगलागीको घटनाको कारण बारे खुलासा गर्दै आश्चर्य चकित हुने खालको तथ्य बाहिर ल्याएका छन् ।
जिल्लामा रहेको अब्यस्थित बसोबास पनि मुख्य कारण भित्रै पर्ने गरेको प्रहरी ठम्याई छ । आगलागी प्राकृति आपदा रहेको तर्कहरु बाहिर आइरहँदा प्रहरीले आगलागी मानवीय त्रुटि र असावधानीका कारण हुने गरेको तथ्य बाहिर ल्याएको हो ।
– दिउँसो खाना पकाउने चलन
– आगो कायम राख्ने परम्परा
– दिउँसो दूध र खोवा पकाउने
– खाना पाक्न थालेको समयमा नुहाउन जाने
– घना र फूसको अब्यवस्थित वस्ती
– आगलागी नियन्त्रणको उपाय नहुने
– आगोका विषयमा लापरवाही गर्ने
– बच्चाको पहुँचमा प्रज्वलनशील पदार्थ राख्ने
– सतर्कता र सावधानीमा विचार नगर्ने
फोहोर आगलागीको मुख्य कारक
चैत्र बैशाख र जेष्ठ अत्यधिक हुरी आउने र सुख्खा मौसम हो । कृषिमा आधारित क्षेत्रमा यो समयमा गहुँ, मसुरो र अरहर जस्ता कृषि बाली घरमा भित्र्याउने र माड्ने काम चलिरहेको हुन्छ ।
गहुँको भूष हुरीका कारण उडेर जाने र गाउँको गल्ली तथा सडकमा छरिने भएकोले त्यहाँबाटै सुरु हुन्छ जोखिम, बाँकेका प्रहरी प्रमुख एसपी टेक प्रसाद राईले भने, सुख्खा मौसममा गाउँका सडक मात्रै सफा हुने हो भने, आगलागीका घटनाहरु कम हुन सक्छन् ।
हरेक समयमा सडकमा मानिस हिंड्ने र चुरोट बिडी खाएर फाल्ने सन्दर्भले कतिपय बेला दुर्घटना निम्त्याउने गरेको प्रहरी ठम्याई छ, दैनिक नेपालगन्ज संग एसपी राईले भने, गर्मीको मौसममा आगलागी नियन्त्रणका लागि सरसफाई उत्तिकै आवश्यक देखिएको हो ।
गाउँमा खाल्डोमा आपतकालिन स्थितका लागि पानी जम्मा गर्ने बानी बसालेमा आगो नियन्त्रणमा प्रभावकारी रुपमा काम गर्न सकिन्छ, उनले भने, प्रहरी पुग्ने स्थानमा कतिपय बेला धारा नै काम नलाग्ने भएको पाइएको हो ।
गाईगोरुको मल फाल्ने स्थानमा चुल्होको खरानी फाल्दा आगे छुट्न गई दुर्घटना हुने गरेको पाइयो, राईले भने, सामान्य लापरवाहीका कारण करोडौको क्षति हुने गरेको हो । बाँकेमा आगलागीका कारण उठीबास भएका बासिन्दाहरु विस्तारै पुनः घर निर्माण गर्ने र आफ्नो पुरानो जीवनशैली फर्काउने प्रयास गरिरहेको पाइएको छ ।